आचारसंहिता उल्लंघन गर्दै दलहरू

भक्तपुर — स्थानीय तह चुनावको प्रचारप्रसार बिहीबार मध्यरातिबाट गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख छ । तर, शुक्रबार पनि आफ्नो पक्षमा मतदानको आहवान गर्दै राजनीतिक दलहरूले प्रचार–प्रसारलाई निरन्तरता दिएका छन् ।

घरदैलो, सभा र्‍याली बाहिरी रूपमा रोके पनि दलहरूले मतदान केन्द्रवरिपरि राखिएका प्रचार सामग्री भने हटाएका छैनन् । निर्वाचन आयोगले मौन समयअगावै मतदान केन्द्रको ३ सय मिटरवरपर राखिएका प्रचार सामग्री हटाउन बिहीबारै निर्देशन दिइसकेको छ । राजनीतिक दलहरूले भने आचारसंहिताको बेवास्ता गरिरहेका छन् । 

आयोगले एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र चुनाव प्रचार गर्न नहुने भनेको छ । उम्मेदवार वा राजनीतिक दलको चुनाव चिहन अंकित पहिरन, स्टिकर, लोगो, झोला, टयाटुजस्ता सांकेतिक सामग्रीको प्रयोग, बिक्री वा प्रदर्शन गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
राजनीतिक दलहरूले सामाजिक सञ्जालमार्फत पनि चुनावी प्रचारप्रसार गरिरहेका छन् । कतिपयले यातायातका साधनमा पार्टीका झन्डा फहराउँदै हिँडेका छन् । 

सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनका विषयमा जानकारी नभएको बताउँदै भक्तपुरका निर्वाचन अधिकारी उमेशकुमार राईले भने, ‘सामाजिक सञ्जाल एकएक गरी छान्ने कुरा भएन ।’ बाहिरी प्रचारप्रसारमा भने टोलीले अनुगमन गरिरहेको उनले बताए । ‘आचारसंहिता उल्लंघन गरेको भेटिएको छैन,’ उनले भने, ‘आचारसंहिता उल्लंघन गरेको पाइए कारबाही गर्छौं ।’

प्रकाशित : वैशाख ३०, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?