३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नाम नभेटिएपछि निराश

घनश्याम खड्का

पर्वत/म्याग्दी — मतदाता नामावलीमा नाम नभेटिएपछि पर्वत, फलेबास–३ की बालकुमारी घर्तीथापा शुक्रबार मतदान केन्द्रबाट निराश भएर घर फिरिन् । गत माघमा पतिसँगै मतदाता नामावलीका लागि फोटो खिचाए पनि अहिले नाम नभेटिएको उनी बताउँछिन् ।

 नाम नभेटिएपछि निराश

शंकरपोखरीकी शान्ति तिवारीले गत असोजमा बहिनीसँगै आएर फोटो खिचाएकी थिइन् । तर, उनले पनि अहिले आफ्नो परिचयपत्र पाइनन् । बहिनीको भने परिचयपत्र बनेको छ । ‘अहिलेसम्म भोट हालेकी छैन,’ उनले भनिन्, ‘यसपालि पाइएला भनेर खुसी लागेको थियो तर त्यत्तिकै बस्नुपर्ने भयो ।’

उनीहरूजस्ता धेरै जना शुक्रबार परिचयपत्र वितरणस्थलबाट निराश भएर घर फर्के । कतिपय गाउँमा आधाजसो मतदाताको नाम छुटेको छ । नागरिकता बोकेर आएका मतदाताकै परिचयपत्र नै छुटेपछि कर्मचारी पनि अन्योलमा छन् । ‘कतिपयको नाम लिस्टमा भएर पनि परिचयपत्र भेटिएन,’ महादेव आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी सहायक कर्मचारी अजिता शर्माले भनिन्, ‘परिचयपत्र नभेटिए पनि लिस्टमा नाम भए नागरिकताका आधारमा भोट दिन पाउने व्यवस्था छ ।’ फोटो खिचाएर पनि लिस्टमा समेत नाम नभएकालाई भने भोट दिन पाउने अधिकार नभएको मतदान अधिकृत देवेन्द्र गुरुङले बताए ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार दुई वा त्यसभन्दा बढी पटक फोटो खिचाएर नाम लेखाएकालाई सूचीबाट हटाइएको छ । ‘जिल्लाभरबाट यस्ता धेरै गुनासा आएपछि हामीले छानबिन गर्‍यौं,’ उनले भने, ‘दुई पटक फोटो खिचाएकाहरूको नाम सफ्टवेयरले नै हटाएको पाइयो ।’ लिस्टमा नाम भएर परिचयपत्र नआउनु प्राविधिक समस्या भएकाले त्यस्ता मतदातालाई मताधिकारबाट वञ्चित नगरिएको उनले बताए ।

कुश्मा–९ कटुवाचौपारीस्थित एकैघरका ३ जनाको नाम मतदाता नामावलीमा छुटेको छ । गंगा, जमुना र कमल तिवारीको नाम छुटेपछि उनीहरू मताधिकारबाट वञ्चित भएका छन् । ‘नाम लेखाएर पनि परिचयपत्र पाइएन,’ कमलले भने, ‘एकैपटक नाम लेखाएका कसैले पाउने, कसैले नपाउने भएको छ ।’ धेरैजसो मतदाताले तस्बिर खिचाएर पनि परिचयपत्र नपाएपछि नागरिकताका आधारमा भोट दिन पाउनुपर्ने माग राखेका छन् । कतिपय मतदाता मतदान केन्द्रमा परिचयपत्र नपाएपछि आक्रोशित हुँदै फर्किएका थिए । ‘जिल्लाभरबाट यस्ता धेरै समस्या आएका छन्, लिस्टमा नाम नभएकाहरूको हकमा तत्काल कुनै उपाय निकाल्न सकिन्न,’ जिल्ला निर्वाचन अधिकारी शर्माले भने ।

आयोगकै त्रुटि
निर्वाचन आयोगले त्रुटि गर्दा म्याग्दीका कतिपय मतदाताले प्रिन्टेड नामावलीमा नाम भए पनि मतदाता परिचयपत्र पाएका छैनन् । घण्टौं लाइन बसेका उनीहरू परिचयपत्र नपाउँदा निराश भएर फर्किए । कसैको नाम नै दोहोरिएको पाइएको छ भने केहीको परिचयपत्र नै केन्द्र आइपुगेको छैन ।
‘मतदाता सूचीमा नाम छ तर परिचयपत्र आएको छैन । मतदाताको पहिचान खुल्ने तर क्रमसंख्याजस्ता सानातिना त्रुटि भेटिएका छन्,’ मंगला गाउँपालिकाका निर्वाचन अधिकृत मुरारी वस्तीले भने, ‘निर्वाचन आयोगको त्रुटि मतदान अधिकृतलाई थेग्न मुस्किल छ ।’

निर्वाचन कार्यालयले गत पुसमा सञ्चालन गरेको मतदाता नामावली संकलन क्रममा फोटोसहितको मतदाता नामावलीका लागि विवरण भरेका कतिपयको नाम भेटिएको छैन । २०७० को मतदाता नामावलीमा नाम भएकाहरूको परिचयपत्र पनि छ तर यसपटक हटेको छ ।

‘मैले पुस १९ गते फोटोसहितको मतदाता नामावली तथा व्यक्तिगत विवरण भरेको हुँ तर अहिले नाम छैन भनेर परिचयपत्र दिएनन्,’ मंगला गाउँपालिका–५ दुखुबाट चार घण्टा हिँडेर मंगला मावि मतदान केन्द्र आएका सार्के घर्तीले भने, ‘विवरण भरेका गाउँका अरूको पनि नामावलीमा नाम छुटेको रहेछ ।’
मंगला गाउँपालिकामा मात्र होइन जिल्लाका अधिकांश केन्द्रमा मतदाता नामावलीमा नाम उल्लेख भए पनि परिचयपत्र नहुने, क्रमसंख्या उल्टो भएको र नाम नै फरक परेकाजस्ता समस्या देखिएको छ ।
यसैबीच दुर्गमका मतदाताले शनिबारसम्म मात्रै परिचयपत्र लिन पाउने भन्ने व्यवस्था न्यायोचित नभएको गुनासो गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिका र मुदीबगरका मतदातालाई परिचयपत्र लिन र मतदान गर्न नजिकको केन्द्र पुग्न कम्तीमा ६ घन्टा लाग्छ । आउजाउमा १२ घण्टा लाग्ने भएकाले मतदानका दिन पनि परिचयपत्र पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । यो बस्तीका मतदातालाई निर्वाचन कार्यालयले पहिलोपटक घुम्ती शिविर लगेर गत वर्ष फोटोसहितको नामावलीमा समावेश गरेको हो । यसअघिको निर्वाचनमा बगरा र सिमकोसवासी मतदानबाट वञ्चित थिए । बगरा धौलागिरि पदमार्गमा पर्ने अन्तिम बस्ती हो ।

गुनासो बोकेर निर्वाचन कार्यालयमा
कास्कीका कतिपय मतदाताले बेलैमा फोटो खिचाए पनि अहिले परिचयपत्र नपाएको गुनासो गरेका छन् । शुक्रबार नागरिकता बोकेर मतदानस्थल पुगेका उनीहरू सूचीमा नामै नरहेको भन्दै परिचयपत्र नदिइँदा निराश छन् । कतिपय मतदाता गुनासो लिएर क्षेत्रीय निर्वाचन कार्यालय धाइरहेका छन् ।

माछापुच्छ्रे गाउँपालिका धम्पुसका पूर्णबहादुर अधिकारीले २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा मतदान गरेका थिए । ‘यसपल्ट त लिस्टमा नामै छैन भन्छ,’ उनले भने, ‘नाम देखाइदिन निर्वाचनको अफिस आएको ।’ त्यही गाउँका नन्दिका गुरुङ, पोखराको नदीपुरकी धनकुमारी सुनार र बसपार्कका लालबहादुर गुरुङलगायत पनि परिचयपत्र नपाएपछि शुक्रबार क्षेत्रीय निर्वाचन कार्यालयमा भेटिए । ‘धेरै वर्षपछि हुन लागेको चुनावमा पनि परिचयपत्र नभएकाले भोट दिन नपाउने हो कि भन्ने डर छ,’ सुनारले भनिन्, ‘हाम्रो गल्ती होइन तर हामीले दु:ख पायौं ।’

फोटो खिचेका मतदाता सबैको परिचयपत्र बनेको निर्वाचन कार्यालयका शाखा अधिकृत महेन्द्रराज सुवेदीले बताए । ‘कसैको छुटेको र कसैको नाम ठेगाना बिग्रेका गुनासा आएका छन्’, उनले भने, ‘हामी यहाँ नभएको काम आयोगलाई लेखिपठाउँछौं ।’

प्रकाशित : वैशाख ३०, २०७४ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?