३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेतृत्वमा चुनिए दलित

संसदीय होस् या स्थानीय निर्वाचन, प्रमुख पार्टीहरुमा अझै पनि दलित नेतालाई टिकट दिन कन्जुस्याइँ गर्ने प्रवृत्ति कायमै छ । ‘दलितलाई चुनाव जित्न गाह्रो हुन्छ’ भन्ने बुझाइ हाबी हुँदा थुपै्र योग्य नेता जनप्रतिनिधि चुनिनबाट वञ्चित हुन पुगेका छन् । तर, सुर्खेत, क
मध्यपश्चिम ब्युरो

नेपालगन्ज — सुर्खेतको लेकबेंसी नगरपालिकाको मेयरमा एमालेका गगनसिंह सुनार निर्वाचित भए । उनले कांग्रेसका उमेश पौडेललाई १ हजार ३ सय ५४ मत अन्तरले पराजित गरेका हुन् । गुर्भाकोट–९ बोटेचौरकी ३३ वर्षीया मैना विक पनि एमाले उम्मेदवारलाई फराकिलो अन्तरले पराजित गर्दै कांग्रेसतर्फबाट उपमेयर बन्न सफल भएकी छन् ।

नेतृत्वमा चुनिए दलित

गगनसिंह २०४३ को गाउँ पञ्चायतमा जनपक्षीय उम्मेदवारका रूपमा उपप्रधानमा विजयी भएका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका थिए । पार्टीको सचिवालय सदस्य, जिल्ला सचिव हुँदै उनी हाल लेकबेंसी नगर संगठन कमिटीको संयोजकको जिम्मेवारीमा छन् । पार्टीले ०४९ मा लेखफर्सा गाविस अध्यक्षको टिकट दिएको थियो । तर, जनमोर्चासँग तालमेल गर्नुपर्ने भएपछि उनले उपाध्यक्षमा चित्त बुझाउनुपर्‍यो । निर्वाचित पनि भए । ०५४ को स्थानीय निर्वाचनमा इलाका नम्बर ४ बाट जिविस सदस्य बने ।

एसएलसीसम्मको औपचारिक अध्ययन गरेका ५१ वर्षीय गगनसिंहले आफू दलित समुदायको भए पनि गैरदलित समुदायको समेत मन जितेको बताए । ‘जनताको पक्षमा काम गरेकै कारण यसपटक पनि चुनाव जित्न सफल भएँ,’ उनले भने, ‘शिक्षित वर्गले जातपात नभनी समाजलाई विभेद, उत्पीडनबाट मुक्त पार्नुपर्छ ।’ उनले आफूले दलित समुदायमा शिक्षाको विकासमा जोड दिने बताए । ‘पहिलो कुरा शिक्षा हो, दोस्रो आयआर्जन तथा गरिबी निवारण हो । दलित समुदायलाई स्वावलम्बी बनाउन सके आफंै विभेद उन्मूलन हुन्छ,’ उनले भने ।

गुर्भाकोटकी नवनिर्वाचित उपमेयर मैना शिक्षकबाट राजीनामा दिएर चुनाव लडेकी हुन् । उम्मेदवारी दिनुपूर्व उनी सरस्वती आधारभूत प्राविकी शिक्षिका थिइन् । महिला संघकी जिल्ला कोषाध्यक्षसमेत रहेकी उनले अब छुवाछूतमुक्त नगर बनाउने आफ्नो चुनावी संकल्पलाई पूरा गरेरै छाड्ने बताइन् । ‘दलित समुदायमा विभिन्न समस्या छन् । ती समस्यालाई सशक्तीकरणको पाटोबाट समाधान गर्दै लैजाने मेरो मुख्य काम हुनेछ,’ उनले भनिन् ।

पाँच वडाध्यक्ष दलित
सुर्खेतका विभिन्न तहबाट दलित समुदायका पाँच वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेबाट सिम्ता गाउँपालिका–१ का मानसिंह कामी, वीरेन्द्रनगर–१ का गंगाराम सुनार, कांग्रेसबाट भेरीगंगा–३ का जितबहादुर सुनार, ७ का कर्णबहादुर मिजार र गुर्भाकोट–७ बाट कांग्रेसकै बिर्ख सार्की निर्वाचित भएका छन् ।

रुकुममा १० निर्वाचित
रुकुमका ६ स्थानीय तहका १० कार्यकारी पदमा दलित नेता निर्वाचित भएका छन् । दुई नगरपालिकामा उपप्रमुख तथा ८ वडाका वडाध्यक्षमा दलित निर्वाचित भएका हुन् ।

मुसिकोट नगरपालिकामा माओवादी केन्द्रका प्रेमकुमारी सुनार र आठबिसकोट नगरपालिकामा गीता नेपाली उपप्रमुख निर्वाचित भएका छन् । सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका ६ वडा, चौरजहारीको १ र बाँफिकोट गाउँपालिकामा १ जना दलित वडाध्यक्षमा निर्वाचत भएका छन् ।

आठबिसकोटको ३, ५, ६, ८, १० र ११ वडा, चौरजहारीको ९ नम्बर वडा र बाँफिकोटको ४ नम्बर वडामा दलित अध्यक्ष निर्वाचित भएका छन् । ८ वडाध्यक्ष र २ उपप्रमुखले आफ्नै समुदायको नभई अर्को समुदायका जनजाति, क्षत्रीलगायत समुदायका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए । मुसिकोट नगरपालिकाको उपप्रमुखमा विजयी प्रेमकुमारीले बालकुमारी गिरी र केशरी गौतमसँग प्रतिस्पर्धा गरेकी थिइन् । आठबिसकोट नगरपालिका उपप्रमुखमा विजयी गीताले अनिता बुढा र अमृता शाहसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रेमकुमारीलाई ३ सय ७७ जनप्रतिनिधि चुनिँदा कार्यकारी भूमिकामा १० जनाभन्दा बढी दलित प्रतिनिधि आउनुपर्नेजस्तो लाग्छ । ‘हाम्रो समुदायको संख्या र निर्वाचित प्रतिनिधिलाई हेर्दा यो कमै हो,’ उनले भनिन्, ‘तर यसलाई उपयोग गरेर अधिकार दिलाउन प्रयत्नरत रहिरहनेछौं ।’ ६ वटा स्थानीय तहका प्रमुखमा कोही दलित आउन नसक्नुलाई पनि उनले दलित राजनीतिक दलको बेवास्तामा परेको बताइन् । ‘जिल्लामा भएका कुनै पनि पार्टीले प्रमुख वा अध्यक्षमा एक जना दलितलाई उम्मेदवार बनाउने आँट गरेनन् यो विडम्बना हो,’ उनले भनिन् ।

संविधानले बाध्यकारी बनाएको दलित महिला सदस्यबाहेक अन्य पदमा दलित प्राथमिकतामा नपरेको बताउँछिन्, गीता नेपाली । ‘विभिन्न आन्दोलन र पार्टीका कामकाजमा दलित नभई नहुने भए पनि अवसर आउँदा दलितलाई त्यसबाट पन्छाइने चलन कायमै छ,’ उनले भनिन्, ‘अब यसलाई हटाउन हामी निर्वाचित प्रतिनिधिको पनि भूमिका रहनेछ ।’ राजनीतिक दलले दलितलाई उम्मेदवार बनाउनमै कञ्जुस्याइँ गरेको उनको आरोप छ ।

कालीकोटकी कान्छी उपमेयर
दलित समुदायको सार्की परिवारमा जन्मिएकी हुन्, फोइमहादेवकी दन्ता नेपाली (दर्शना) । विद्यार्थी राजनीति क्रममा उनी फागुनमा स्ववियु चुनावमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अखिल क्रान्तिकारीबाट सभापतिमा चुनाव लडेकी थिइन् ।

त्यतिबेला चुनावी अनुभवको कमी र संगठन पनि मजबुत नहुँदा जित्न सकिनन् । तर, २६ वर्षीया तिनै दन्ता दुई महिनापछि स्थानीय तहको चुनावमा सबैभन्दा कान्छी उपमेयरका रूपमा कालीकोटको तिलागुफा नगरपालिकामा चुनावी प्रतिस्पर्धामा होमिइन् । सबै युवा, दलित महिलाको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रले उनलाई चुनावमा उतारेको थियो ।

उनी स्थानीय तहमा उपमेयर जित्ने सम्भवत: कान्छी दलित महिला हुन् । ४ भाइबहिनीमध्ये माहिली छोरीका रूपमा जन्मिएकी दन्ताले सशस्त्र द्वन्द्वमा भूमिगत हुँदा उपनाम दर्शना राखिन् । उनी फोइस्थित महादेव उमाविमा पढ्ने बेलादेखि माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा सक्रिय थिइन् । उनलाई पार्टीका नेता–कार्यकर्ता र समुदायले दर्शना भनेर चिन्छन् । उनी फोइमहादेवका खम्मिलालकी माहिली छोरी हुन् । उनका बुबाले ज्याला मजदुरी गरी काठमाडौं पद्मकन्या कलेजमा पढाइरहेको दाजु गोरख नेपालीले बताए । उनी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् ।

उनको प्रतिस्पर्धा पनि २५ वर्षदेखि राजनीति गरिरहेका र ०४९ र ०५४ मा फोइमहादेव गाविस अध्यक्ष निर्वाचित भइसकेका पाका नेता ऐनबहादुर शाही र पुरानो पार्टी कांग्रेसकी नेत्री लक्ष्मी शाहीलगायतसँग भयो । दुवैजनालाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् । दन्ताले १ हजार ८ सय ४३ मत पाइन् । कांग्रेसकी लक्ष्मीले १ हजार २ सय ६० मत ल्याइन् । दुई पटक उनकै गाविस अध्यक्ष बनेका नेमकिपाका ऐनबहादुरले एमालेसँग मिलेर पनि ९ सय ५८ मात्र मत पाए । तिलागुफा नगरपालिकाको प्रमुखमा पनि पूर्वलडाकु रतनबहादुर शाही (आशुतोष) विजयी बनेका छन् । उनले कांग्रेसका शंकर उपाध्यायलाई १ सय ६७ मतले पछि पारे । घरदैलो र चुनावी सभामा दन्ताले पुराना विचार, सामन्ती सोच, विकास योजनामा हुने अनियमितताविरुद्ध आफ्नो उम्मेदवारी भएको बताउने गरेकी थिइन् । ‘सबै युवा, दलित, महिला र विपन्नको साझा उम्मेदवार बने,’ उनले गत वैशाख २६ गते जुविथाको गाल्जेमा आयोजित चुनावी सभामा भनेकी थिइन्, ‘कपाल फुलेर हुँदैन, काम गर्ने नयाँ सोच, योजना र प्रतिबद्धता चाहिन्छ, त्यो मसँग छ ।’

९ दलित वडाध्यक्ष
कुल जनसंख्याको ३० प्रतिशत दलित समुदाय रहेको कालीकोटमा पहिलो पटक नयाँ संरचनामा ९ जना दलित वडाध्यक्ष निर्वाचित भएका छन् । ३ नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा ७ वडाको मत गणना सकिँदा ९ जनाले वडाध्यक्षमा चुनाव जितेका हुन् । माओवादी केन्द्रबाट ५, एमालेबाट ३ र कांग्रेसबाट एक जनाले वडाध्यक्ष जितेको दलित अधिकारकर्मी बाले विश्वकर्माले बताए । उनले नयाँ संरचनामा सबै वडामा दलित महिला सदस्य अनिवार्यताको प्रावधानले स्थानीय तहको नीति निर्माण तहमा दलित समुदायको सहभागिता बढ्ने सुनाए ।

यहाँको खाडाचक्र नगरपालिकाको वडा नं २ बाट माओवादी केन्द्रका बिर्खसिंह विश्वकर्मा, ४ बाट एमालेका धनसिंगे कामी, सान्नी त्रिवेणीमा भरत विश्वकर्मा, पचालझरनामा माओवादीका करवीरे कामी, पलाता गाउँपालिकामा माओवादी केन्द्रका बुद्धि कामीलगायतले चुनाव जितेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?