१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

पूर्वछापामार उपमेयर

गोरखा — माओवादी सशस्त्र विद्रोहमा सहभागी गोरखा पालुङटार नगरपालिका–१ खोप्लाङ बेलबासकी २९ वर्षीया पम्फा बसेल उपमेयर बनेकी छन् । कांग्रेस उम्मेदवारलाई २ सय ९८ मतले हराउँदै उनी बिहीबार पालुङटार नगरपालिकाको उपमेयर पदमा विजयी भएकी हुन् । ‘जित्दा खुसी लागेको छ तर चुनौतीपूर्ण अवसरका रूपमा लिएको छु,’ उनले भनिन् ।

पूर्वछापामार उपमेयर

उनले ४ हजार ४ सय ९४ मत पाएकी हुन् । स्कुल पढ्दापढ्दै १४ वर्षको उमेरमा भूमिगत भएकी बसेलले पार्टी शान्ति प्रक्रियामा आएपछि पढाइलाई पुन: निरन्तरता दिइन् । खुला विद्यालयबाट एसएलसी पास गरेर उनले अहिले प्लसटु पास गरिसकेकी छन् । पढाइलाई अझै निरन्तरता दिने उनको धोको छ । ‘गाउँमा पूरै माओवादी माहोल थियो,’ उनले भनिन्, ‘राज्यले दलितहरूमाथि गरेको दमन देखेर पनि भूमिगत हुन बाध्य भइयो ।’

माओवादी जनयुद्धको नेतृत्वकर्तामध्येका डा. बाबुराम भट्टराई पनि उनकै वडावासी छिमेकी थिए । ‘बाबुराम भट्टराई जस्तो पढेको मान्छे त लागेको ठाउँमा हामीले पनि लाग्न हुन्छ भनेर भूमिगत भएँ,’ उनले भनिन् । बसेल भूमिगत हुँदाताका उनका बुवा भट्टराईकै खेतबारीमा अँधियाको काम गर्थे । घरको कमजोर आर्थिक अवस्था, भट्टराईको प्रभाव र गाउँको माओवादीमय वातावरणले पनि उनलाई युद्धमा डोर्‍याएको थियो ।

उनी जसको आदर्शमा माओवादीमा लागेकी थिइन्, चुनाव लड्ने बेलाचाहिँ उनकै साथ पाइनन् । भट्टराई नेतृत्वकै नयाँ शक्तिका उम्मेदवारसँग आफ्नै वडामा उनको कडा टक्कर पर्‍यो । नयाँ शक्तिकी उम्मेदवारलाई उनले ५ सय ९० मतले उछिनिन् । तर पम्फाकै वडामा भट्टराई नेतृत्वको नयाँ शक्तिका उम्मेदवारले चुनाव जिते । २०५९ मा माओवादीनिकट विद्यार्थी संगठनमा काम गर्दै उनी भूमिगत भएकी थिइन् ।

प्रहरी प्रशासनको तारो बनेपछि घर छाडेर हिंडनुपरेको उनले बताइन् । २०६० सालमा पार्टीले जनमुक्ति सेनामा काम गर्नु पर्‍यो भनेपछि उनी हतियार चलाउन तालिम लिएर छापामार बनिन् । ‘दुई वर्ष जनमुक्ति सेना भएर युद्ध लडें,’ उनले भनिन्, ‘बेनी, कृष्णभीरको लडाइँ लडेको अनुभव छ ।’

पार्टी शान्ति प्रक्रियामा आएपछि राजनीतिलाई निरन्तरता दिंदै पढाइ पनि अघि बढाएको उनले सुनाइन् । ‘पछि आएर पढ्नु पनि पर्दोरहेछ भन्ने लाग्यो,’ उनले भनिन् । बसेललाई माओवादीले गोरखा क्षेत्र नम्बर ३ को इलाकामा सेक्रेटरी र इन्चार्ज बनाएर खटाएको थियो । उनको कार्यक्षेत्र रहेको सुलिकोट क्षेत्रमा समेत माओवादीकै उम्मेदवारले गाउँपालिकाको चुनाव जितेपछि उनलाई जस थपिएको छ । एक वर्ष उनले जिल्ला विकास समितिको परामर्श समिति सदस्य भएर काम गरेको अनुभव पनि बटुलिएकी छन् । ‘अबका दिनमा मलाई भोट दिने र पालुङटारवासीको चाहनाअनुसार काम गर्ने कोसिस गर्छु,’ उनले भनिन्, ‘विकास निर्माण नै मेरो प्राथमिकता हुनेछ ।’

दलित परिवारमा जन्मे, हुर्केकी र माओवादी युद्धमा होमिएकी पम्फाको कार्यशैली सरल रहेको पूर्वसांसद परशुराम रम्तेलले बताए । ‘उनको जनशैली राम्रो छ, राम्रो संगठक हुन्,’ रम्तेलले भने, ‘उपमेयर भइसकेपछि उमेर अलि कम भएकाले जुनियर भनेर हेप्ने सम्भावना बढी हुन्छ ।’ बौद्धिक र राजनीतिक रूपमा सचेत पालुङटार क्षेत्रमा बसेललाई आफ्नो कार्यकाल पूरा गर्नु चुनौतीपूर्ण हुन सक्ने उनले अनुमान गरे । ‘पालुङटार वामपन्थीमय बस्ती हो, जनताको माया पाएपछि जनप्रतिनिधिले काम गर्नु सक्छन्, सफल हुन्छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?