‘युवा पलायन रोक्ने प्रयास गर्नेछु’
लामो समयपछि जनताले स्थानीय जनप्रतिनिधि पाए । म आफू पनि जनप्रनितिधिको रूपमा निर्वाचित हुने मौका पाएँ ।
सामान्य कामका लागि फाइल बोकेर जिल्ला सदरमुकाम या राजधानी काठमाडौं पुग्नुपथ्र्यो । अब ती कामहरू नगरपालिकाबाट आफैंले गर्दै हुनुहुन्छ ? कस्तो अनुभूति भइरहेको छ ?
त्यसका लागि नेपाल सरकार, राजनीतिक दल, मलाई नगर प्रमुखको जिम्मेवारीमा पुर्याउने मतदाताहरूप्रति हार्दिक आभार व्यक्त गर्छु । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको क्रममा बलिदानी दिने सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्छु । संघीय संरचना बमोजिमका स्थानीय तह स्थापना भएका छन् । मैले तिनैमध्येको एक नगरपालिकाको नेतृत्व गर्दैछु । एकदम खुसी लागेको छ । उत्साह, जोस–जाँगर बढेको छ । हामी सामान्य जनप्रतिनिधि मात्र नभई स्थानीय सरकारका प्रमुखसमेत हौं । अत्यन्त संवेदनशील, जिम्मेवारीबोधका साथ संविधान, ऐन, कानुनले दिएको अधिकारको समुचित प्रयोग गरी स्थानीय शासन सञ्चालनको नेतृत्व गर्न सक्षम हुने विश्वास लिएको छु ।
मेयर निर्वाचित हुनु भो अब तपाईंका प्राथमिकताहरू के हुन् ?
हामी पहिलोपटक संघीयताको प्रयोग गर्दैछौं । काम गर्दै, सिक्दै जाने हो । स्थानीय तह सञ्चालन निर्देशिका आइपुगेको छैन । संविधान, ऐन/कानुन पल्टाएर हेर्न बाँकी नै छ । संविधानमा उल्लेखित हाम्रा अधिकार, कर्तव्य के–के हुन् ? कसरी सम्पादन गर्ने अध्ययन गर्नुपर्ने हुन्छ । किनकि, हामी नगरका मेयर, गाउँपालिका अध्यक्षहरू स्थानीय सरकारका प्रमुख हौं । स्थानीय सरकार नै सबभन्दा बढी जनतासँग नजिक हुने हुँदा काम गर्दा थुपै्र कठिनाइ आउन सक्छन् । नगरभित्र विकास, समृद्धि र सुशासन कायम गराउन अहोरात्र खटिनेछु । संविधान, ऐन/कानुनले दिएको अधिकारको सही प्रयोग गरी स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच समन्वय गर्नेछु ।
लेकबेंसी नगरपालिकाको समस्या के हुन्, ती सबै थाहा छ । अब ती समस्या समाधान गरेर समृद्ध नगर बनाउने बेला आएको छ । शिक्षा, स्वास्थ्यका संरचनाहरू अव्यवस्थित छन् । सरकारी विद्यालयले गुणस्तरीय शिक्षा दिलाउन नसक्दा अभिभावकहरू महँगो शुल्क तिरेर सहरबजारका निजी स्कुलमा पढाउन बाध्य छन । पहिलो काम सरकारी शिक्षाको गुणस्तर सुधार गर्नु हुनेछ । दोस्रो, युवा पलायन रोक्नलाई स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्नेछु । लेकबेंसी कृषि, पशुपालनको राम्रो सम्भावना बोकेको नगर हो । बजारको पहुँच छ । यद्यपि उत्पादन छैन । अब युवालाई विदेश जानबाट रोकेर गाउँमै उद्यम गर्न सक्ने वातावरण बनाइनेछ । यो नगरपालिकामा अवसर जति छन् त्यति नै चुनौती पनि छन् । झुप्राखोला, भेरीजस्ता नदीलाई सिंचाइर विद्युत उत्पादनका लागि उपयोग गर्न सकिन्छ ।
स्थानीय सरकारको उच्च कार्यकारी पदमा पुगेको तपाईं दलित समुदायको व्यक्ति हुनुहुन्छ । तपाईंको नगरमा पनि वर्षौंदेखि दलित समुदायले अभाव, उत्पीडिन र विभेद झेल्दै आएका छन् ? उनीहरूको उत्थानका लागि तपाईंको योजना के हो ?
पक्कै पनि दलितहरू अन्य समुदायभन्दा बढी उत्पीडनमा छन् । अभाव, विभेद झेलिरहेका छन् । त्यसका लागि पहिलो कुरा उनीहरूको शिक्षामा पहुँच बढाउन आवश्यक देखेको छु । दोस्रो, आयआर्जनमा जोड्न जरुरी छ । शैक्षिक स्तरवृद्धि र आर्थिक रूपले दलित परिवार सम्पन्न भयो भने कसैले विभेद गर्ने आँट गर्दैन । दलित स्वयं अपमानित हुनुपर्दैन । विभेद उन्मूलन गर्न दलित–गैरदलित दुवै वर्गको समन्वय र सहकार्य जरुरी छ । दुवैको समान दृष्टिकोण बन्नुपर्छ । लेकबेंसी नगरलाई छुवाछुतमुक्त नगर बनाउने घोषणापत्र जनतामाझ लिएर गएको हुँ । ती घोषणापत्रमा लेखेका कुरा क्रमश: कार्यान्वयन गर्दै जानेछु । दलितहरूको शिक्षा, जीविकोपार्जन सुधार गरी सामाजिक/राजनीतिक संरचनामा पहुँच पुर्याउन योजनाबद्ध रूपले लाग्नेछु ।