तालमेल नगर्न चेतावनी

डीआर पन्त, मोहन बुढाऐर

धनगढी/डडेलधुरा — कैलालीका कांग्रेस नेता, कार्यकर्ताहरूले नेतृत्वलाई चुनावी तालमेल नगर्न चेतावनी दिएका छन् । प्रदेश नम्बर ७ मा कांग्रेस र माओवादी केन्द्रका बीचमा तालमेलको सम्भावना बढेपछि उनीहरूले चेतावनी दिएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका र प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीका लागि माओवादी केन्द्र र कांग्रेसबीच तालमेल हुने छलफल भइरहेको जानकारी पाएपछि दुवै नगरका नेता, कार्यकर्ताले नेतृत्वलाई यसले पूरै प्रदेशको निर्वाचनमा नराम्रो असर पर्ने भन्दै त्यसो नगर्न सचेत गराएका छन् ।
‘तालमेल गरे त्यो कांग्रेसका लागि दुर्भाग्यपूर्ण हुन्छ,’ गोदावरी नगरपालिकामा कांग्रेसका तर्फबाट मेयर पदका दाबेदार वीरेन्द्र भट्टले भने, ‘कैलालीमा हुने तालमेलले समग्र क्षेत्रमा नराम्रो असर पर्न सक्ने विषयमा पार्टीले सोच्नु आवश्यक छ ।’

उनले कार्यकर्ताको भावनाअनुरूप नेतृत्वले निर्णय गर्नुपर्ने बताए । ‘गोदावरी नगरपालिका र प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी कांग्रेसको गढ भएकाले यी क्षेत्रमा कुनै पनि हालतमा तालमेल गर्नु हुँदैन,’ उनले भने ।

गोदावरी नगरपालिकाका १२ वटै वडाका पार्टी सभापतिले प्रेस विज्ञप्ति जारी गरेर माओवादी केन्द्रसँग तालमेल नगर्न पार्टीलाई लिखित रूपमै चेतावनी दिएका छन् । पार्टीको जनाधार क्षेत्र कैलालीमा माओवादीसँग तालमेलको कुनै औचित्य नभएको सभापतिहरूले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरूले प्रदेशको पूरै राजनीति र कांग्रेस कार्यकर्तामा यस्तो निर्णयले निर्वाचनमा गम्भीर असर पर्ने बताएका छन् ।

गोदावरी नगरपालिकामा माओवादी नेता लेखराज भट्टका भाइ गोकर्ण भट्ट माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचन लडिरहेका छन् । नेतृत्व तहबाटै तालमेलका लागि माओवादीले प्रयास गरिरहेकाले कार्यकर्ताहरूले पूर्वचेतावनी दिएको बताएका छन् ।

धनगढी उपमहानगरपालिकामा पनि माओवादीसँग तालमेलको कुनै अर्थ नभएको भन्दै कांग्रेस कार्यकर्ताले आक्रोश पोखेका छन् । पार्टीभित्रै टिकट व्यवस्थापन गर्न कठिन भइरहेको समयमा तेस्रो र चौथो जनाधार भएको पार्टीसँग तालमेल हुनै नसक्ने भन्दै नेता, कार्यकर्ताले नेतृत्वको आलोचना गरेका छन् । ७ नं प्रदेशको केन्द्रमा रहेको गोदावरी नगरपालिका क्षेत्रमा गत निर्वाचनमा वन राज्यमन्त्री दीर्घराज भाटले माओवादी केन्द्रका नेता लेखराज भट्टलाई ६ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका थिए । प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी पनि संविधानसभा निर्वाचनमा सभापति शेरबहादुर देउवाले ठूलो मत अन्तरले जितेको क्षेत्र हो । धनगढी उपमहानगरपालिका क्षेत्रमा माओवादी केन्द्रले एमालेभन्दा पनि निकै कम मत ल्याएको थियो । देउवाले उक्त निर्वाचन क्षेत्र खाली गरेपछि भएको उप निर्वाचनमा पनि कांग्रेसका पुष्करनाथ ओझा ठूलो मत अन्तरले जितेका थिए ।

तातेन चुनावी माहोल
कांगेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको परशुराम नगरपालिकाबाहेक अन्य नगर तथा गाउँपालिकामा चुनावी माहोल तात्न सकेको छैन । जिल्ला सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकामा समेत चुनावी रौनक छाएको छैन ।

देउवाको गृहजिल्लामा कांग्रेसले उम्मेदवारी टुंगो लगाएपछि मात्रै चुनावी माहोल तात्ने गरेको छ । सदरमुकाम अमरगढी नगरपालिका र ५ गाउँपालिकाका मेयर/उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाका उम्मेदवारको समेत उम्मेदवारी टुंगो लगाउन सकेको छैन । जिल्लाको वडा कमिटीबाटै निर्विरोध सिफारिस भई आएका १ सय १९ जनालाई वडा सदस्य पदको टिकट दिएको जिल्ला पार्टी सचिव लक्ष्मीराज अवस्थीले बताए ।

उनका अनुसार जिल्लामा सहमति जुट्न नसक्दा ५ गाउँपालिका र अमरगढी नगरपालिकाको टिकटको छिनोफानो केन्द्रबाट हुँदै छ । ‘जिल्ला नेता तथा उम्मेदवारका दाबेदारहरू सबै टिकटका लागि केन्द्रमा पुगेका छन्,’ उनले भने, ‘गाउँघरमा कसरी चुनावी महोल तात्ने भयो त ?’ कांग्रेस नेताहरू टिकट लिएर गाउँ फर्केपछि चुनावी रौनक छाउने उनले बताए ।

‘डडेलधुरामा कांग्रेसले उम्मेदवार टुंगो नलगाएसम्म खासै चुनावी महोल तात्दैन,’ स्थानीय देवदत्त भट्टले भने, ‘एमाले र माओवादी केन्द्रको चुनावी अभियान गाउँघरमा सञ्चालन भए पनि कांग्रेसका उम्मेदवार टुंगो लागेपछि मात्र रौनक हुन्छ ।’ जनसंख्या र भूगोलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो भित्रीमधेसअन्तर्गत पर्ने परशुराम नगरपालिकामा भने प्रमुख तीन पार्टीले मेयर र उपमेयरलगायत सबै पदको उम्मेदवारी टुंगो लगाएका छन् । कांग्रेसले मेयरमा भीमबहादुर साउद, एमालेले तारीसिंह बोहरा र माओवादी केन्द्रले शेरसिंह माललाई मेयर पदका प्रत्याशी बनाएका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७४ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?