१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भोट हाल्ने दिन कुर्दै वृद्धवृद्धा

विद्या राई

भोजपुर — स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति पटक पटक सरे पनि मतदातामा भने कुनै निराशा छाएको भेटिँदैन । बरु, उनीहरु २० वर्षपछि बल्ल हुन लागेको निर्वाचनमा आफैंले आफ्ना प्रतिनिधि छान्न मतदानको दिनको पखाईमा छन् ।

भोट हाल्ने दिन कुर्दै वृद्धवृद्धा

यसअघि थुप्रैपटक निर्वाचनमा भोट हाल्न पाएका उनीहरु यसपटक संघीय संरचनाअन्तर्गतको समावेशी, सुरक्षित, व्यवस्थित तथा मैत्रीपुर्ण निर्वाचन हुन लागेको भन्दै बढी उत्साहित देखिन्छन् । दोस्रो चरणको निर्वाचन हुने मिति सरे पनि आफ्नो मताधिकार प्रयोग गर्ने दिन कुरेरै बसिरहेको दक्षिणी हतुवागढी गाउँपालिका २ रानीवासका ८४ वर्षीय सेतुमान कार्कीले भने । कार्कीले पञ्चायतकालदेखि बहुदलीय हुँदै गणतन्त्रात्मक शासन पद्धतिसम्म आइपुग्दा ५ पटक बढी चुनावमा भोट लगाइसकेको बताए । यसपटकको निर्वाचन अघिल्ला निर्वाचनको तुलनामा फरक र नयाँ पद्धति भएकाले धेरै पटक भोट हालिसकेको भए पनि थाकेका छैनन् । बरु भोट हाल्ने दिन कहिले आउँछ र आफूले छानेको प्रतिनिधिलाई भोट हालौंला भन्ने सुरमा छन् । ‘अहिलेसम्म निक्कै पल्ट भोट लगाइयो, धेरै नेतालाई जिताइयो, अब त उमेरले पनि बूढो भइयो, यसपछि भोट हाल्न पाइएला, नपाइएला, बाँचुन्जेल भेटेको भोट लाउनैपर्‍यो नि !’ उनले भने, ‘यो पल्ट त आफ्नै गाउँ बनाउन उठेका नेतालाई भोट हाल्नुपर्नेछ, कहिले भोट हाल्ने दिन आउँछ अनि हाल्दिऊ भाको छ ।’

उत्तरी षडानन्द नगरापालिका मुलपानीकी ८५ वर्षीया फूलमाया तामाङलाई पनि भोट हाल्ने ठुलो रहर छ । चित्रा बारेर, खरले छाएको सानो छाप्रोमा एक्लै बस्दै आएकी तामाङका घरमा भोट माग्ने नेता र कार्यकर्ता दिनैपिच्छे पुग्छन् । भोट माग्छन्, कसरी हाल्नेबारे पनि सिकाएर जान्छन् । उनलाई भोट हाल्ने तरिका पहिले हाल्दै आएको भन्दा फरक लागेको छ । उनी नयाँ पद्धतिको चुनावमा भोट हाल्न र प्रतिनिधि चुन्न आतुर भइसकेकी छन् । उनी भन्छिन्, ‘चुनाव हुने दिन लठ्ठी टेक्दै – टेक्दै भए पनि गएर भोट हालेर आउने हो, यसपालाको चुनाव पहिलेको भन्दा फाल्टैखालको लागेको छ ।’उमेरले पाका तथा दमको बिरामी भएकाले अशक्त भए पनि उनमा भोट हाल्ने जोस पहिलोपल्ट भोट लगाउने युवाको भन्दा कम छैन ।

उनका छिमेकी ८३ वर्षीय पजन श्रेष्ठलाई पनि भोट हाल्ने जाँगार चलेको छ । उहिलेका चुनावभन्दा पछिल्लो समयका चुनावहरु सुरक्षा व्यवस्था कडाई गरिँदै आएकाले पनि सुरक्षित भएर भोट हाल्न पाइने उनको तर्क छ । त्यसो त, सुरक्षा घेराभित्र रहेर स्वतन्त्र रुपमा आफूले चाहेको प्रतिनिधि चुन्न पाइने हुनाले पनि यसपटकको स्थानीय तह निर्वाचनमा भोट हाल्न उत्साहित भएका हुन् । ‘पहिले त चुनावताका मारपिट, झगडा चल्थ्यो, बूढाबूढीलाई भोट हालेर आउनजान गाह्रो हुन्थ्यो, अहिले त म्यादी, प्रहरी, सेना खटाइराखेका छन्, मनले खाएको उम्मेदवारलाई ढुक्कले भोट हाल्न त पाइन्छ,’उनले भने ।

अघिल्ला चुनावहरुभन्दा पछिल्ला चुनावहरु सुरक्षा संयन्त्रका हिसाबले व्यवस्थित बन्दै गइरहेका छन् । महिला, अपांग, वृद्धवृद्धामैत्री बन्दै गएकाले पनि निर्वाचनमा भोट हाल्नेहरु उत्साहित भएका जिल्ला निर्वाचन कार्यालयले बताएको छ । मतदाताले स्वातन्त्रतापूर्वक मतदान अधिकार सदुपयोग गर्न पाउने कारणले पनि भोट हाल्ने उत्साह बढेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?