कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

स्थानीय तहको दोस्रो चरणको चुनाव- गजबको तालमेल

विराटनगर — दोस्रो चरणको चुनावमा पनि दलहरूले मुख्य पदका लागि एकअर्कालाई सघाउने गरी विभिन्न स्थानमा तालमेल गरेका छन् । एक्लाएक्लै लड्दा परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना कम भएपछि दलहरू चुनावी तालमेल गर्न अग्रसर भएका हुन् ।

स्थानीय तहको दोस्रो चरणको चुनाव- गजबको तालमेल

विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल भएको छ । विराटनगरको मेयरमा एमालेका जिल्ला अध्यक्ष विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएका छन् । कांग्रेसले आफ्नो आधार क्षेत्र रहेको मोरङमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । विराटनगरमा कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई उम्मेदवार बनाएको छ । मोरङमा कांग्रेस, संघीय समाजवादी र माओवादी केन्द्र गठबन्धन, एमाले र लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

मोरङमा आफ्नो जितका लागि भन्दै संघीय समाजवादी फोरम र माओवादी केन्द्रले पनि तालमेल गरेका छन् । संघीय समाजवादी फोरम र माओवादी केन्द्रले आइतबार पत्रकार 
सम्मेलन गरी जिल्लास्थित विराटनगर महानगर, रतुवामाई नगरपालिका, धनपालथान र कटहरी गाउँपालिकामा चुनावी गठबन्धन भएको र बाँकी ठाउँको गठबन्धनका लागि छलफल भइरहेको जानकारी दिए । 

फोरम केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जयराम यादवले चुनावी गठबन्धनअनुसार विराटनगर महानगरमा फोरमबाट मेयरमा पूर्वजिल्ला अध्यक्ष उमेश यादव र माओवादी केन्द्रबाट उपमेयरमा नमिता न्यौपाने पोख्रेलको टुंगो लागेको बताए । 

जिल्लामै सबभन्दा पहिले विराटनगर महनगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेका माओवादी केन्द्रका भोगेन्द्र यादव तालमेलपछि उठेनन् ।
रतुमाई नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल र संघीय समाजवादीबाट उपमेयरमा नारायण ताजपुरिया, धनपालथान गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा विक्रम पासमान र संघीय समाजवादीबाट उपाध्यक्षमा इन्दिरामणिदेवी मण्डल र कटहरी गाउँपालिकामा संघीय समाजवादीबाट अध्यक्षमा श्याम मण्डल र माओवादी केन्द्रले उपाध्यक्षको उम्मेदवार दिने टुंगो लागेको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोपी अछामीले बताए । 

माओवादीले यसअघि उम्मेदवार घोषणा गरेको कटहरी गाउँपालिकाका अध्यक्ष योगेन्द्र यादव, रतुवामाई नगरपालिकाको उपमेयर लीलामाया तामाङ, धनपालथानका उपाध्यक्षका उम्मेदवार चाँदनी कुमारी मण्डलले उम्मेदवारी दिएनन् । जिल्ला इञ्चार्ज अछामीले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवबीचको सहमतिअनुसार आफूहरूले जिल्लामा चुनावी गठबन्धन गरेको बताए ।

माओवादी केन्द्रका इञ्चार्ज अछामीले थप ४ ठाउँमा संघीय फोरमसँग गठबन्धनका लागि छलफल भइरहेको बताए । अन्य ठाउँमा पनि जित सुनिश्चित गर्न अरू दलसँग छलफल भइरहेको उनले जनाए । मोरङमा १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा गरी मुलुककै सबभन्दा बढी ५ लाख ६३ हजार ८ सय ७० मतदाता छन् ।

उम्मेदवारकै नाम भेटिएन 
संघीय लोकतान्त्रिक लिम्बुवान मञ्चबाट इटहरी उपमहानगरपालिका २ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गर्न आएका हर्कजंग लिम्बुले उम्मेदवारी दर्ता गर्न पाएनन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेको पर्ची लिएर अबिर र मालासहित निर्वाचन कार्यालय आएका लिम्बु त्यत्तिकै फर्किए । धरान ११ को महिला सदस्यमा उम्मेदवारी दर्ता गर्न गएकी मञ्चकै उम्मेदवार कविता लिम्बुले पनि उम्मेदवारी दर्ता गर्न पाइनन् । उनको समस्या पनि लिम्बुको जस्तै थियो ।

दल बदलेर उम्मेदवारी
दुहबी नगरपालिका मेयर पदका आकांक्षी कुमार थापाले लोकतान्त्रिक फोरम परित्याग गरी संघीय समाजवादीसँग मिलेर मेयर पदमै स्वतन्त्र उम्मेदवारी दिए । चुनाव चिह्न नभएकाले आफू संघीय समाजवादी प्रवेश गरेको उनले बताए । 

पार्टीले आफूलाई मेयरको उम्मेदवार बनाउने आश्वासन दिएर अन्तिम समयमा धोका दिएको उनको आरोप छ । लोकतान्त्रिक फोरमबाटै देवानगन्ज गाउँपालिकाको अध्यक्ष उम्मेदवारका रूपमा भोट मागेका सन्तोष भगत पार्टीले टिकट निश्चित नगरेपछि एमाले प्रवेश गरे । 

उनले एमालेबाटै अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । देवानगन्ज गाउँपालिकामा बलियो उम्मेदवारको खोजीमा रहेको एमालेले उनलाई सहजै अध्यक्षको टिकट दिएको हो । एमाले सचिव तथा १ नम्बर प्रदेश संयोजक भीम आचार्यले संगठन अलि कमजोर भएका स्थानमा तालमेल गरेर जाने नीतिअनुरूप उनलाई पार्टी प्रवेश गराएर टिकट दिइएको बताए ।

कोसी गाउँपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरी अध्यक्ष पदमा बाजुद्दिन अन्सारीले मनोनयन दर्ता गराएका छन् । कोसी बाढीपीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका उनले पार्टीले आफूलाई सही ढंगले मूल्यांकन नगरेकाले विद्रोह गरी प्यानल नै स्वतन्त्र उठाएको बताए । कांग्रेसबाटै विद्रोह गरी इनरुवा नगरपालिकाको मेयरमा महेश्वरी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । उनले पनि प्यानल नै खडा गरी उम्मेदवारी दर्ता गराइन् । 

वडामा सबै महिला
माओवादी केन्द्रले विराटनगर महानगरपालिका वडा नं ३ को अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार उठाएको छ । वडाध्यक्षमा सुशीला भट्टराई, सदस्यमा कल्पना पोखरेल, दलित सदस्यमा लक्ष्मी विश्वकर्मा, खुला सदस्यमा अप्सरा निरौला र हिरा घिमिरेलाई उम्मेदवार बनाइएको छ । 

आफूहरूले जिते नमुना वडा बनाउने सदस्य प्रत्याशी निरौलाले बताइन् । ९ हजार २ सय मतदाता रहेको उक्त वडाका वृद्ध, अपांग, दलित, विपन्न र सुकुम्बासीलाई नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने, हरेक घरको चार कुनामा एक/एक बिरुवा रोप्ने र आफ्नो वडाबाट प्रकाशित हुने सञ्चार माध्यमलाई विशेष प्राथामिकता दिने निरौलाको एजेन्डा छ । 

७ पत्रकार उम्मेदवार
मोरङमा ७ पत्रकारले स्थानीय तह चुनावमा आइतबार विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका छन् । पत्रकार महासंघ, मोरङका निवर्तमान सचिव नवराज कट्टेलले माओवादी केन्द्रका तर्फबाट इलामको रोङ गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी, निवर्तमान जिल्ला अध्यक्ष महेन्द्र विष्टले पथरी शनिश्चरे नगरपालिका ५ को अध्यक्ष पदमा एमालेबाट उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी, महासंघका पूर्वसचिव गोकुल पराजुलीले माओवादी केन्द्रबाट महानगपालिकाकै ४ नं वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । 

महासंघका सदस्यहरू भक्तशेर लिम्बु र किसन शाहीले माओवादी केन्द्रबाट केराबारी गाउँपालिकाको क्रमश: वडा ९ र १० को अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रकै अप्सरा निरौलाले महानगरपालिका ३ को महिला सदस्य र महासंघका सदस्य दिनेश गिरीले कांग्रेसबाट बेलबारी नगरपालिका १ मा वडा सदस्यमा उम्मेदवारी दिएका छन् ।

अन्यत्र पनि 
बुटवल उपमहानगरमा कांग्रेस, माओवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल भएको छ । कांग्रेसले मेयर, माओवादीले उपमेयर र राष्ट्रिय जनमुक्तिले वडामा मिलेर संयुक्त उम्मेदवारी दिएका छन् । रूपन्देहीकै तिलोत्तमामा कांग्रेस र जनमुक्ति, देवदहमा कांग्रेस र माओवादीबीच तालमेल भएको छ । ताप्लेजुङ, अर्घाखाँचीमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

प्रकाशित : असार ५, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?