मनोनयन उत्साहजनक

मोरङका मधेसी बहुल कटहरी, जहदा, रंगेलीलगायतका ठाउँमा मनोनयन दर्तामा निकै उत्साह देखिन्थ्यो । उम्मेदवार, कार्यकर्ता र तिनका समर्थकहरू उत्साहपूर्ण र उल्लासमय वातावरणमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालय पुगेका थिए

विराटनगर — विभिन्न राजनीतिक दलहरूले स्थानीय तह चुनावका लागि प्रदेश नम्बर १ मा आइतबार उत्साहजनक ढंगले मनोनयन दर्ता गराएका छन् । पूर्वका १४ जिल्लाका महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालगायत १ सय ३७ स्थानीय तहका लागि मनोनयन दर्ता गरिएको हो ।

मनोनयन उत्साहजनक

कतिपय दलहरूले ठूलो संख्यामा कार्यकर्ता र समर्थकको सहभागितामा बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराए । उम्मेदवारसँग आएका बालकदेखि वृद्धसम्मले राष्ट्रिय र आ–आफ्ना दलका झन्डा बोकेका थिए । आफ्नै जातिगत पोसाकमा चिटिक्क सजिएर आउनेहरू पनि ब्रगेल्ती देखिए । 
झन्डै २० वर्षपछि भइरहेको स्थानीय तह चुनावले यहाँका मतदाताहरूमा ठूलो उत्साह छ । मनोनयन दर्तामा पनि त्यो उत्साह झल्किन्थ्यो । उम्मेदवार र तिनका समर्थकलगायतलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । विराटनगरका स्थानीय राजनारायण यादवले आफू कुनै दलको कार्यकर्ता नभएको बताए । ‘धेरै वर्षपछि भइरहेको निर्वाचनको रौनक हेर्न आएको छु,’ उनले भने, ‘यसपालि कस्ता–कस्ता उम्मेदवार उठ्दै छन् ? त्यो पनि हेर्न मन छ । अब नेताको मुख हेरेर होइन । चरित्र र कार्यशैली हेरेर भोट दिन्छु ।’

रामसखी पासमानले पनि आफ्ना नानीलाई विद्यालय पठाएर मनोनयन दर्ताको रमिता हेर्न आएको बताइन् । ‘पहिलो पटक मतदान गर्ने भएकाले उम्मेदवारी दर्ता कस्तो हुन्छ भनेर हेर्न आएकी छु,’ उनले भनिन्, ‘दलितका छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्न सक्ने, रोजगारीको ग्यारेन्टी, व्यवस्थित बसाइँ, शौचालय निर्माण र सडक, बाटोघाटो बनाउन सक्ने सक्षम नेतालाई भोट दिन्छु ।’ आफ्ना सासूससुराले यसअघिका चुनावमा रक्सी र मासु खुवाउनेलाई भोट दिँदै आएकाले आफ्नो परिवारमा कुनै परिवर्तन नआएको उनको बुझाइ छ । उनले अब नेताहरूको प्रलोभनमा नपरेर इमान्दार र विकासप्रेमी उम्मेदवारलाई मतदान गर्ने बताइन् । 
२० वर्षीय रामकुमार श्रेष्ठ पनि पहिलो पटक मतदान गर्दैछन् । ‘रोजगारी र प्रविधिमा युवाको पहुँच पुर्‍याउने नेतालाई भोट दिन्छु,’ उनले भने, ‘साथीहरूको पनि त्यही सोच छ ।’ यहाँका मधेसी बहुल कटहरी, जहदा, रंगेलीलगायतका ठाउँमा पनि मनोनयन दर्तामा निकै उत्साह देखिन्थ्यो । उम्मेदवार, कार्यकर्ता र तिनका समर्थकहरू उत्साहपूर्ण र उल्लासमय वातावरणमा मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयका पुगेका थिए । 

ओखलढुंगामा शान्तिपूर्ण
जिल्लामा शान्तिपूर्ण र उत्साहजनक ढंगले मनोनयन दर्ता भएको छ । सबै तहका कुनै पनि वडा नछुट्ने गरेर प्रमुख दलहरूको उम्मेदवारी दर्ता भएको प्रमुख जिल्ला अधिकारी फडीन्द्र दाहालले बताए । मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयसम्म आउने उम्मेदवार र तिनका दलहरूका बीचमा शक्ति प्रदर्शनको होडबाजी नै चलेको थियो । 

गाउँगाउँबाट गाडी रिजर्भ गरेर नारा जुलुस गर्दै मनोनयन स्थलसम्म शक्ति देखाउने होडबाजीजस्तै चलेको हो । तर, कतै पनि विवाद नभई मनोनयन दर्ता भएको निर्वाचन अधिकृतहरूले जनाएका छन् । जिल्लाको एक मात्र सिद्धिचरण नगरपालिकामा कांग्रेसका डिल्लीराम खनाल, एमालेका मोहनकुमार श्रेष्ठ र माओवादी केन्द्रका रूपेश शाक्यले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । 

दुई जना पक्राउ
‘उम्मेदवार हुँ’ भन्दै मदिरा सेवन गरेर मनोनयन दर्ता स्थलमा प्रवेश गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–२ का भक्तबहादुर केसी र श्यामकुमार कटवाललाई मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पक्राउ गरिएको हो । उनीहरू नयाँ शक्ति र राप्रपाका उम्मेदवार बताउँदै भित्र प्रवेश गरेका थिए । अन्य दलका उम्मेदवारलाई दुव्र्यवहार गर्न थालेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक टीका कार्कीले बताए । मदिराले मातेर जथाभावी गर्न थालेपछि पक्राउ गरिएको उनले बताए । 

स्वतन्त्र उम्मेदवारी
संखुवासभाको खाँदबारी नगरपालिकाका लागि जीवनाथ खनालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । समर्थक र प्रस्तावकलाई लिएर बिहान ८ बजे नै मुख्य निर्वाचन कार्यालय पुगेका खनालले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

५८ वर्षीय खनालले सञ्चय कोषको जागिरबाट अवकाश पाएपछि खाँदबारी नगरको मेयर पदमा उम्मेदवारी दिएका हुन् । भ्रष्टाचाररहित समाज निर्माणका लागि उम्मेदवारी दिएको उनले बताए । उनले स्थानीय तहमा दलीय राजनीतिले सेवा प्रवाह दूषित बनाएको आरोप लगाए । ‘त्यसैले स्वतन्त्रबाट चुनावमा होमिएको छु,’ उनले भने ।

ताप्लेजुङमा तालमेल
ताप्लेजुङको फुङलिङ नगरपालिकामा एमालेले मात्रै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएको छ । कांग्रेस र माओवादी केन्द्रले मेयर र उपमेयरमा तालमेल गरेका छन् । कांग्रेसका केशवप्रसाद दाहाल मेयर र माओवादी केन्द्रका बमबहादुर भट्टराई (तारा) उपमेयर उठेका हुन् । राप्रपाले मेयरमा उम्मेदवारी नदिएर उपमेयर मात्रै उठाएको छ । 
याङवरक गाउँपालिकामा पनि तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका तर्फबाट रामबहादुर कंलिवा र उपाध्यक्षमा माओवादीका नेत्र न्यौपानेले उम्मेदवारी दिएका हुन् । यहाँ एमालेले केशर मेन्याङबो र रनमाया गुरुङलाई उम्मेदवार बनाएको छ । 

मेरिङदेनमा कांग्रेसले गणेश लिम्बू र माओवादी केन्द्रले भीम केदेमलाई उठाएका छन् । एमालेले अध्यक्षमा मंगलसिंह केदेमलाई उठाएको छ । सिदिङबा गाउँपालिकामा कांग्रेसका नरबहादुर कडरिया र माओवादी केन्द्रका जीवन ताम्ली अध्यक्ष र उपाध्यक्षमा उठेका छन् । एमालेका मानबहादुर राई र लिम्बूवानका डीबी खुदाङले अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । 

सिरिजंगामा तालमेलमा माओवादी केन्द्रका तेज भट्टराई अध्यक्ष र लिम्बूवानका भूपेन्द्र मावो उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । कांग्रेसका टीकाराम गुरुङ र ज्ञानमाया चौहान तथा एमालेका अनन्त साँवा र लीलामाया दाहाल क्रमश: अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । आठराई त्रिवेणी, मिक्वाखोला र मैवाखोला गाउँपालिकामा सबै दल एकल प्रतिस्पर्धामा उत्रिएका छन् । 

मेयर र उपमेयरमा दलित
फुङलिङ नगरपालिकाको मेयर र उपमेयरमा दलित उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । खगेन्द्र पोर्तेल विश्वकर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टीमा आबद्ध छन् । पार्टीको चुनाव चिह्न नभएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए । उपमेयरमा चारवटा पार्टीले गठबन्धन गरेर दलित उम्मेदवार खडा गरेका छन् । नयाँ शक्ति पार्टीका कृष्ण शंकरलाई प्रतिस्पर्धामा उतारिएको हो । उनलाई संघीय समाजवादी फोरम, संघीय लिम्बूवान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीको संयुक्त गठन्धनले सहयोग गर्ने भएको छ । 

प्रकाशित : असार ५, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?