कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीबस्तीबाट जुलुस

विराटनगर — प्रदेश नम्बर १ को प्रमुख केन्द्र विराटनगर महानगरपालिकाको सडक अरू बेला बिहानको डुलाइमा निस्केकाले भरिभराउ हुन्छ । आइतबार बिहानको दृश्य भने फेरियो । गल्ली, टोल, चोक, बजार र सहरमा दलका एवं राष्ट्रिय झन्डा बोकेका समूह बढी देखिए ।

बस्तीबस्तीबाट जुलुस

हात जोड्दै अगाडि हिँडिरहेका उम्मेदवारको वरिपरि कार्यकर्ता, समर्थक र सहयोगी थिए । केही उम्मेदवार र कार्यकर्ताले महानगरमा प्रशस्तै उपलब्ध विद्युतीय रिक्सालाई दलको झन्डाले सिँगारेर र्‍याली गरेका थिए ।

चुनावी माहोल उत्कर्षमा पुगेको स्थानीयले महसुस गरिरहेका छन् । ‘बल्ल चुनाव आएजस्तो लाग्यो,’ किराना व्यवसायी सीता निरौलाले भनिन् । यहाँको हस्पिटल चोकमै पसल भएकी उनी चुनावी जुलुस आएको थाहा पाएपछि बाहिर निस्केर हेर्थिन् ।

‘कति पछि आएको यो ऐतिहासिक क्षण हो, सधैंसधैं कहाँ हेर्न पाइन्छ र,’ उनले भनिन् । सीताजस्तै अन्यले पनि नाराबाजी गर्दै अघि बढिरहेको समूहलाई उत्सुकतापूर्वक नियालिरहेका थिए । ‘हेर्नुस् त जनतामा कति उत्साह छ,’ स्थानीय आनन्द सारडाले भने, ‘सबै दलले भाग लिएको भए मतदाता झनै खुसी हुन्थे ।’ झन्डै दुई दशकपछि आएको यो अवसरलाई सरोकारवाला सबैले उत्सवकै रूपमा लिएका छन् ।

महानगरको कुनाकुनाबाट निस्केको जुलुसको गन्तव्य वीरेन्द्र सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय थियो । यहाँ आइतबार दिनभरि भीडभाड भइरह्यो । उम्मेदवारी दर्ताका लागि निर्धारण गरिएको समयभन्दा अघि नै आ–आफ्ना उम्मेदवारसहित समर्थक एवं टोलवासी ओइरिन थालेका थिए ।

प्रचण्ड गर्मीमा समेत सभागृह अघिल्तिर सुन्दर जनसागर देखिन्थ्यो । नामांकनका लागि उम्मेदवारभित्र जानेबित्तिकै सँगै आएका समर्थकले सभागृह बाहिर छहारीमा ओत लागेर नाराबाजी र नाचगान गर्थे । आफ्ना उम्मेदवार कतिखेर बाहिर आउलान् र खुसियाली मनाउँ भन्ने हतारोमा उनीहरू देखिन्थे ।

निर्वाचन अधिकृतको कार्यालय अगाडि पहाडी र मधेसी मूलका बरोबर देखिन्थे । मधेसीमा पनि महिला बढी थिए । कोही आफैं उम्मेदवारी दिन र कोही उम्मेदवार बनेका आफन्तको समर्थनमा उभिएका थिए ।


पूर्वमा ३३३५ मतदान केन्द्र

विराटनगर– असार १४ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर १ का १४ जिल्लामा ३ हजार ३ सय ३५ मतदान केन्द्र तोकिएको छ । यहाँ एक महानगरपालिका, ४८ नगरपालिका र ८८ गाउँपालिका छन् । तिनमा २६ लाख ७४ हजार ५ सय ५७ मतदाता छन् । महिलाको संख्या १३ लाख ४६ हजार ९ सय ४२ महिला छ ।

सबै तहका गरी १ हजार २ सय १२ प्रतिनिधिका लागि आइतबार उम्मेदवार मनोनयनपत्र दाखिला हुनेछ । सबैभन्दा बढी मतदान केन्द्र मोरङमा छ । एक महानगर, ८ नगर र ८ गाउँपालिका भएको मोरङमा ६ सय ६९ मतदान केन्द्र तोकिएको छ । मोरङमा ५ लाख ७४ हजार ५ सय मतदाता छन् ।

झापामा ६ सय ३७ मतदान केन्द्र तोकिएको छ । ८ नगरपालिका र ७ गाउँपालिका भएको झापामा ५ लाख १० हजार २ सय १६ मतदाता छन् । ४ लाख १२ हजार १ सय ५९ मतदाता भएको सुनसरीमा ४ सय ८५ मतदान केन्द्र कायम गरिएको छ । त्यहाँ ६ नगरपालिका र ६ गाउँपालिका छन् । ४ नगरपालिका र त्यत्ति नै गाउँपालिका भएको उदयपुरमा २ सय २२ मतदान केन्द्र तोकिएको छ ।

ओखलढुंगामा १ सय २७ केन्द्र तोकिएको छ । एक नगरपालिका र ७ गाउँपालिका भएको यस जिल्लामा ९१ हजार ५ सय ८ मतदाता छन् । २ नगर र ८ गाउँपालिका भएको खोटाङमा १ लाख ६५ हजार मतदाताका लागि १ सय ९५ केन्द्र कायम गरिएको छ । भोजपुरका १ लाख ५ हजार ५ सय ५४ मतदाताका लागि १ सय ४१ मतदान केन्द्र तोकिएको छ । त्यहाँ २ नगरपालिका र ७ गाउँपालिका छन् । ३ नगरपालिका र ४ गाउँपालिका भएको धनकुटाका ९५ हजार ३ सय ६७ मतदाताका लागि १ सय ४३ केन्द्र तोकिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

२ नगर र ४ गाउँपालिका रहेको तेह्रथुमका ६० हजार ७ सय ७ मतदाताका लागि ८५ मतदान केन्द्र छन् । संखुवासभामा १ सय ४७ मतदान केन्द्र, नगरपालिका र ५ गाउँपालिका छन् । ४ नगर र ६ गाउँपालिका रहेको इलामका १ लाख ८९ हजार २ सय ७४ मतदाताका लागि २ सय ४९ मतदान केन्द्र तोकिएको छ ।
पाँचथरका एक नगारपालिका र ७ गाउँपालिकामा १ लाख १६ हजार ६ सय २८ मतदाता छन् । एक नगरपालिका र ८ गाउँपालिकाका ७० हजार ७ सय ७८ मतदाताका लागि ताप्लेजुङमा १ सय ५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : असार ५, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?