वडा अध्यक्षमा भिड्दै बाबु–छोरा

प्यूठान — सुरुमा एउटै पदमा बाबु-छोराले फरकफरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो अन्तिम नामावलीमा प्यूठान नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टा छुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबुछोरी भोट माग्दा धेरै जना दंग छन् ।

वडा अध्यक्षमा भिड्दै बाबु–छोरा

सहमति गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु-छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेको बताउँछन् । दुवै जनाले आफ्नो जित सुनिश्चत भएको दाबी गर्दै मतदातामाझ भोट माग्दै हिँडेका छन् । ‘बुबालाई उम्मेदवार मनोनयनपछि पनि फिर्ता लिएर सहयोग गर्नुस् भनें,’ छोरा बाचुनले भने, ‘फिर्ता गर्नु त भएन भएन मेरो धेरै विरोध बाले नै गर्दै हिँड्नुहुन्छ ।’

बाचुन विद्यार्थी जीवनदेखि राजनीतिक क्षेत्रमा लागेका हुन् । उनलाई राप्रपाले सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनाएको हो । ‘बुबा हाम्रो पार्टीबाट चुनाव लडेमा साथ दिन सकिन्थ्यो,’ बाचुनले भने, ‘कांग्रेसमै रहेकाले साथ दिने अवस्था रहेन ।’ बुबासँग चुनाव लड्न खल्लो महसुस भएको बाचुनले बताए ।

‘सायद यस्तो घटना विरलै हुन्छ’, बाचुनले भने, ‘घरपरिवार नै पक्ष-विपक्षमा छन् ।’ गाउँका धेरै साथीभाइको साथ पाएकाले उम्मेदवार बनेको उनले बताए । राप्रपाबाट बुबाको राजनीति यात्रा सुरु भएको स्मरण गर्दै ‘पुरानै घर’ फर्कन बुबालाई धेरै पटक आग्रह गरेको बताए । 

बाबु-छोराको उम्मेदवारीलाई गाउँका धेरैले रोचकका साथ हेरेका छन् । २०५२ सालदेखि कांग्रेस पार्टी प्रवेश गरेका भरत बीपीको विचार र सिद्धान्त मन परेर कांग्रेसमा लागेको बताए । उनले छोरा बाबुको लाइनमा आउनुपर्ने बताए । कांग्रेसले आफूलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाएको उनले बताए । गाउँका ७०/८० प्रतिशत मतदाताले उनको पक्षमा भोट हाल्ने उनको दाबी छ ।

२०४३ सालको पञ्चायतकालमा समेत तत्कालीन मरन्ठाना गाविसको राप्रपाबाट उपप्रधान पञ्चमा विजयी भएको उनले इतिहास सुनाए । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा राप्रपाबाट गाविस अध्यक्ष उठदा ५० मत अन्तरले राजमोबाट पराजय हुनुपरेको उनले सुनाए । ‘राजनीति एउटा नशा हो,’ भरतले भने, ‘एउटै पदमा बाबु-छोरा लड्नुपर्ने भयो ।’ 

 

प्रकाशित : असार ९, २०७४ ००:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?