२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मर्चवारमा ‘उत्सव’

मर्चवार (रूपन्देही) — गाडीको हुटमा बाजागाजा राखेर कलाकारले भोजपुरी गीत गाउँदै घरघर आइपुगे भने ठान्नुहोस्, मर्चवारमा चुनाव आयो । त्यो पनि चारैतिर फर्काइएका माइकले गावैं गुन्जिने गरी । अनि, झन्डैझन्डाले सजिएका सवारी साधनहरूको ताँती लगाएर ।

मर्चवारमा ‘उत्सव’

मुस्लिम, दलित र अन्य जातिका गरिबहरूको थलो मर्चवार क्षेत्रलाई ‘मधेसको दु:ख’ भनिन्छ । अति गरिबीको अनुसन्धान गर्नेहरू यही ठाउँ रोज्छन् । त्यो दु:खभित्र हर्षोल्लास खोज्न चाहने हो भने, खुसीको कुरा, यही चुनावताका आइहाल्नुहोस् ।

रूपन्देहीको अति पिछडिएको दक्षिणी इलाका मर्चवारमा अहिले ठूलै उत्सव आएको छ । पहिलाका १८ गाविसबाट बनाइएका तीन गाउँपालिका मर्चवारी, सम्मरीमाई र कोटहीमाईले चर्चिएको ठूलो भूभागलाई मर्चवार भनिन्छ । यो इलाका राज्यको नजरबाट सधैं ओझेलमा परेको छ ।
‘अब हामी हाम्रो गाउँ आफैं बनाउँछौं,’ कोटहीमाही ७, नेपाल–भारत सिमानाको डिलैमा सानो किराना पसल बाहिर गफिइरहेका मिश्रीलाल चौहानले भने, ‘हामीलाई केन्द्रले दिएन । अब आफैं लिने, आफैं विकास गर्ने ।’

सरकारले स्वायत्ततासहितको स्थानीय तह बनाएको प्रति लक्षित उनको भनाइलाई नेपाल मल्लाहले टिप्पणी गरे, ‘५० वर्षदेखि हेरिरहेका छौं, उस्ताको उस्तै छ । अब फ्याट्टै के भइहाल्ला र ?’ त्यसको प्रत्युत्तर सम्मरीमाई १ का अजमत अलीले दिए, ‘२० वर्षदेखि त चुनाव पनि भएको छैन नि । अब चुनाव हुँदै छ अनि विकास हुन्छ ।’

त्यही आसन्न चुनावको रन्कोले मर्चवारका टोलटोललाई छोएको छ । एक होइन, दुई होइन, सबै दल अनि स्वतन्त्र उम्मेदवारसमेत सांगीतिक माहोलसहित घरदैलो गरिरहेका छन् । स्थानीय बासिन्दा सबैका कुरा ध्यान दिएर सुनिरहेका छन् ।
प्रचारको तरिका उही छ । उही चोकमा एकभन्दा बढी दलका सांगीतिक गाडी दुईतिर फर्काएर प्रचार गरिरहेका पनि भेटिए । तैपनि सद्भाव र सहनशीलताको नमुना भने देखाइरहेका थिए– कुनै उम्मेदवारले प्रचारका क्रममा अर्कालाई गाली र अवरोध सिर्जना गरेका छैनन् । एकपछि अर्का उम्मेदवारका सवारी साधनका लस्कर देउसीका टोलीजस्तै पालैपालो आँगनमा छिरिरहेका छन् । दलहरू पालो कुर्दै बाटामै रोकिने गरेका छन् ।

सबैले प्रचार शैलीमा संगीत जोडेका छन् । कांग्रेसले भारतबाट गायिका गीता त्यागीलाई ल्याएको छ, जसलाई गाडीमाथि उभिएर गाउन सघाइरहेका छन् भोजपुरी लोकप्रिय गायक हरिकेश यादवले । अन्य दलले पनि सकेसम्म लोकप्रिय गायक/गायिका प्रयोग गरिरहेका छन् ।

‘सहरमा के चुनाव लागेको होला र, जति यहाँ लागेको छ,’ कोटहीमाई ७ की संगीता चौहानले भनिन्, ‘एकपछि अर्को आउँछन् । सबैका कुरा सुन्छौं, मन लागेकालाई भोट दिन्छौं ।’

‘चुनाव त चाहिन्छ’
मर्चवार क्षेत्र राजपा आन्दोलनले प्रभावित हुने अनुमान थियो । तर, त्यस्तो देखिएन । राजपा नेता सर्वेन्द्रनाथ शुक्ल स्वयं ढुक्कै यही इलाकामा छन् । उनले कान्तिपुरसँग भने, ‘पार्टी आन्दोलनमा छ, साथीहरू चुनाव लडेका छन् । म उनीहरूलाई नै समय दिइरहेको छु ।’

मर्चवारी गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका १२ उम्मेदवारमध्ये ७ जना स्वतन्त्र छन् । तीमध्ये अधिकांश राजपा एकीकरण हुनुभन्दा अघिका विभिन्न दलसम्बद्ध व्यक्ति छन् । स्वतन्त्र भए पनि आफू राजपाकै भनेर उनीहरूले प्रचार गरिरहेका छन् र प्रतिस्पर्धामा पनि अग्रपंक्तिमा देखिएका छन् ।

दलगततर्फ कांग्रेस, एमाले, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम र राप्रपाका छन् । माओवादीले वडाध्यक्ष तहमा मात्र उठाएको छ । कुनै दलबीच घोषित तालमेल देखिएको छैन ।
मर्चवारका सबै मतदाता दुई कुरामा भने एकमत देखिए–
१. स्थानीय जनप्रतिनिधि नभएकाले आफ्नो ठाउँ पछि परेको पर्‍यै गर्‍यो,
२. निर्वाचन बहिष्कार आफ्नै खुट्टामा बन्चरो हान्नु हो, त्यो लहडमा लागिँदैन ।

मर्चवारी १ को रूखको सयलमा चार वृद्ध रामचन्द्र जैसवाल, आनिका अहिर, रामसमुझ अहिर र पुरुषोत्तम अहिर भलाकुसारी गरिरहेका थिए । उनीहरूको भनाइ थियो, ‘जनप्रतिनिधि नहुँदा गाविस सचिवले लुटेका थिए । अबचाहिँ केही हुन्छ कि ?’

त्यसो त पहिला स्थानीय निकाय हुँदा सरकारले दिने अनुदान अत्यन्त कम थियो । १८ गाविसलाई १० लाखका दरले दिँदा जम्मा १ करोड ८० लाख हुन्थ्यो । अहिले ती गाविस मिलेर बनेका तीन गाउँपालिकालाई नयाँ बजेटमा छुट्याइएको रकम जोडदा ७८ करोड ५७ लाख रुपैयाँ पुग्छ ।
‘यो बजेट मात्र होइन, यसमा स्वायत्ततासमेत छ,’ उम्मेदवारहरू प्रचारका क्रममा भन्छन्, ‘गाउँ बनाउने समय बल्ल आएको छ । केन्द्रले मधेसी समुदायलाई सधैं कर्के नजरले हेथ्र्यो । पैसा दिँदैन थियो । दिए पनि डाडुपन्यू आफ्नै हातमा राख्थ्यो । अब आफ्नो आवश्यकता आफैं पहिचान गरेर त्यहीअनुसार खर्च गर्न सक्ने अधिकार गाउँले नै पाएका छन् ।’

दु:खको जड
केन्द्रले नदेखेको र नसोचेको दु:ख मर्चवारमा छ । पेसा कृषि भए पनि वर्षभरि खान पुग्ने किसानको संख्या अत्यन्त कम छ । जीवनशैली अति न्यून स्तरको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, चेतना सबै पक्षमा यहाँका बासिन्दा औसत नेपालीभन्दा निकै तल छन् । दुई जना मुस्किलले अट्ने पराले झुपडी अधिकांशको बास हो ।

घरदैलोमा बिहीबार भेटिएका मर्चवारीका अध्यक्ष प्रत्याशीहरू कांग्रेसका ज्ञानप्रसाद मिश्र, एमालेका रामकिसुन बराही र संघीय समाजवादीका केशव बनियाँ तथा सम्मरीमाईका फोरम लोकतान्त्रिकका बब्लु शुक्ला सबैको उस्तै आशय थियो, ‘हमन के मर्चवार के उपर पहुँचाउल जाई ।’ अर्थात्, हामी मर्चवारलाई माथि पुर्‍याउनेछौं ।

चुनावी प्रतिबद्धता पूरा गर्न त्यति सजिलो भने छैन । पहिला–पहिला भारतीय डाँका र लुटेराले हैरान पारेको यस थलोमा विकासको जग विद्यालयको माध्यमिक तह गाउँमा छैन । निकै टाढा जानुपर्छ । उपचार गर्न भैरहवा पुग्नुपर्छ । गाउँमा एम्बुलेन्ससम्म छैन । ‘सिकिस्त बिरामीको त लाने साधन खोज्दाखोज्दै मृत्यु हुन्छ,’ मर्चवारी ५ की गीता प्रजापतिले भनिन्, ‘चेतनाकै अभावका कारण घरेलु हिंसा अत्यधिक छ । आफू रक्सीले टिल्ल भएर आउने र श्रीमतीलाई कुटपिट गर्ने पुरुष धेरै छन् ।’
बोक्सी, दाइजोजस्ता कुप्रथाबाट यहाँका बासिन्दा मुक्त हुन सकेका छैनन् । मूल कारण चेतनाको अभाव र गरिबी नै हो ।

मर्चवार क्षेत्रबाटै प्रतिनिधित्व गर्ने सांसद शुक्लले राज्यको विभेदका कारण यो क्षेत्र पछि परेको बताए । सरकारले केन्द्र र स्थानीयस्तरबाट विनियोजन गर्ने बजेट एवं योजनामा यस क्षेत्रलाई पक्षपात गर्ने गरेको उनले आरोप लगाए । ‘मर्चवारको अहिलेको चुनौती अधिकार र विकासका लागि एकसाथ लड्नु परिरहेको छ । जति उत्तरी क्षेत्रलाई महत्त्व दिइन्छ, त्यति दक्षिणीलाई दिइएको छैन,’ उनले भने, ‘शिक्षा र चेतनाको अभावका कारण पनि यो क्षेत्र पछि परेको हो । अहिले विकास चाहिन्छ भन्ने चेतना जाग्रित हुन थालेको छ ।’

रूपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले जनचेतना र विकास निर्माणमा जनसहभागिताको अभावका कारण उक्त क्षेत्र पछि परेको बताए । जमिन धेरै भए पनि सीमित व्यक्तिका नाममा हुनु र पिछडिएका वर्गभित्रै पनि जातीय भेदभाव रहनुलाई उनले अर्को कारण देखाए । मर्चवार कृषिमा उर्वर ठाउँ हो । त्यसको व्यावसायिक उपयोग हुन सकेको छैन । कृषकले उत्पादन गर्ने दूध बिक्री नभएर भारततिर लगी अति सस्तोमा बेच्न बाध्य छन् । यहाँ भारतीय रुपैयाँमा हिसाब–किताब चल्छ । कुनै सामान किन्दा जति मूल्य भनिन्छ, त्यसलाई भारुका रूपमा बुझ्नुपर्छ । पैसा कमाइ भए यहाँका बासिन्दा अझै भारतको बैंकमा राख्छन् ।

पैसाको चलखेल
गरिब बस्ती भएकाले उम्मेदवारले पैसाको चलखेल गर्ने गरेको विगत छ यहाँ । ‘दिउँसो बाँड्दैनन् । राति बाँड्छन् । त्यो पनि चुनावभन्दा एक–दुई रातअघि,’ मिश्रीलालले भने, ‘तर, जेसे भीलिएलजाई, मन खाइल के दिएलजाई ।’ अर्थात्, जसले दिन्छ, लिने हो, मन लागेकालाई (भोट) दिने हो ।
उनको कुराले अबधु अहिर घत मानेर हाँसे ।

प्रकाशित : असार ९, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?