कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एउटै पदमा बाबु–छोरा

प्यूठान — सुरुमा एउटै पदमा बाबु–छोराले फरक–फरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नामावलीमा प्यूठान नगरपालिका–९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टाछुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबु–छोरा भोट माग्दा धेरैजना दंग छन् ।

सहमति गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु–छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेको बताउँछन् । दुवै जनाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै मतदातामाझ भोट माग्दै हिँडेका छन् । ‘बुबालाई उम्मेदवार मनोनयनपछि पनि नाम फिर्ता लिएर सहयोग गर्नुस् भनें,’ छोरा बाचुनले भने, ‘फिर्ता गर्नु त भएन भएन, मेरो धेरै विरोध बा नै गर्दै हिँड्नुहुन्छ ।’
बाचुन विद्यार्थी जीवनदेखि राजनीतिक क्षेत्रमा लागेका हुन् । उनलाई राप्रपाले सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाएको हो । ‘बुबा हाम्रो पार्टीबाट चुनाव लडेमा साथ दिन सकिन्थ्यो,’ बाचुनले भने, ‘कांग्रेसमै रहेकाले साथ दिने अवस्था रहेन ।’ बुबासँग चुनाव लड्न खल्लो महसुस भएको बाचुनले बताए ।

‘सायद यस्तो घटना बिरलै हुन्छ,’ बाचुनले भने, ‘घरपरिवार नै पक्ष–विपक्षमा छन् ।’ गाउँका धेरै साथीभाइको साथ पाएकाले उम्मेदवार बनेको उनले बताए । राप्रपाबाट बुबाको राजनीति यात्रा सुरु भएको स्मरण गर्दै ‘पुरानै घर’ फर्कन बुबालाई धेरैपटक आग्रह गरेको बताए ।

बाबु–छोराको उम्मेदवारीलाई गाउँका धेरैले रोचकसाथ हेरेका छन् । २०५२ सालदेखि कांग्रेस पार्टी प्रवेश गरेका भरतले बीपीको विचार र सिद्धान्त मन परेर पार्टीमा लागेको बताए । उनले छोरा बाबुको लाइनमा आउनुपर्ने बताए । कांग्रेसले आफूलाई सर्वसम्मत वडाध्यक्षको उम्मेदवार बनाएको उनले बताए । गाउँका ७०/८० प्रतिशत मतदाताले उनको पक्षमा भोट हाल्ने उनको दाबी छ ।
२०४३ सालको पञ्चायतकालमा समेत तत्कालीन मरन्ठाना गाविसको राप्रपाबाट उपप्रधानपञ्चमा विजयी भएको उनले इतिहास सुनाए । ०४९ सालको स्थानीय निकाय निर्वाचनमा राप्रपाबाट गाविस अध्यक्ष उठा ५० मत अन्तरले राजमोबाट पराजय हुनुपरेको उनले सुनाए । ‘राजनीति एउटा नशा हो,’ भरतले भने, ‘एउटै पदमा बाबु–­छोरा लड्नुपर्ने भयो ।’

एकाघरकै दुई पुस्ता फरक पार्टीबाट
ओखलढुंगा– खिजीदेम्बा गाउँपालिकामा बाबु–छोरा उम्मेदवार बनेका छन् । फरक–फरक पार्टीबाट उनीहरू उम्मेदवार बनेका हुन् । एमालेका जिल्ला सदस्य कमल न्यौपाने खिजीदेम्बा गाउँपालिका वडा–४ बाट वडा ध्यक्ष र उनका बाबु रेखनाथ न्यौपाने राप्रपाबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार बनेका हुन् ।

कमल न्यौपानेले समेत पार्टीमा गाउँपालिका प्रमुखको उम्मेदवार दाबी गरेका थिए । तर पार्टीले टिकट नदिएपछि उनले वडाध्यक्षको उम्मेदारमा चित्त बुझाएका हुन् । कमलका बाबु रेखनाथ न्यौपाने राप्रपाका जिल्ला नेता हुन् । खिजीदेम्बामा माओवादी र स्वतन्त्र दुई गरी अन्य प्रतिस्पर्धी पनि चुनावी मैदानमा छन् ।

प्रकाशित : असार ९, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?