कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भोट माग्दै खेतमा

कपिलवस्तु/नवलपरासी — प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रका स्थानीय तहका उम्मेदवारलाई घरदैलो भ्याइनभ्याई छ । प्रचार–प्रसारका लागि समय कम भएकाले नगर तथा गाउँपालिकाका सबै वडामा प्रमुख पदका उम्मेदवारलाई पुग्न हम्मे पर्ने देखिन्छ । सबैको दैलोमा नपुगे मतदाता रुष्ट हुने चिन्ता यहाँ देखिन्छ । मतदाता रिझाउनकै लागि मध्यदिनको चर्को गर्मीमा समेत घरदैलो कार्यक्रममा नेता/कार्यकर्ता व्यस्त देखिन्छन् ।

भोट माग्दै खेतमा

सर्वसाधारण मतदाता चुनावभन्दा पानी परेपछि रोपाइँका लागि खेतमा आली/कान्ला मिलाउन व्यस्त छन् । रामग्राम नगरपालिकामा माओवादीका मेयर उम्मेदवार इजहार मियाँलगायत वडाका उम्मेदवार घरदैलो गर्दै बुधबार दिउँसो १३ नम्बर वडाको कुनवार टोलमा पुगे । तामझामसहित जनवादी गीत बजाउँदै टोली पुग्दा अधिकांश घरका ढोका बन्द थिए । बालबच्चा विद्यालय पठाएर घरका सबै सदस्य कोही अरूको मेलामा त कोही आफ्नै बारीमा व्यस्त थिए । मतदाता घरमा नभेटेपछि मियाँको टोलीले खेतमा पुगेर भोट माग्यो । साथै भोट खसाल्ने तरिका सिकाए । भने आफ्ना प्रतिबद्धता जाहेर गरे । ‘वर्षातको समय छ, गरिब विपन्न सबै मेलापातमा व्यस्त भएपछि खेतमा गएर भोट माग्नुपरेको छ,’ मियाँले भने, ‘कति स्थानमा त हामीले वरपरका रोपारे बोलाएर खेतैमा आफ्ना कुरा राख्ने र मतदाताको समस्या सुन्ने गरेका छौं ।’ मियाँ मात्र होइन सबै दलका उम्मेदवार किसान रिझाउन खेतैमा पुग्ने गरेका छन् ।

धानको बीउ उखेल्दै गर्दा उम्मेदवार खेतमा आएपछि स्थानीय आशा चौधरीले सबैभन्दा पहिले शुद्ध पिउने पानीको व्यवस्था गर्न माग गरिन् । कुनवार गाउँ जिल्लामा नै सबैभन्दा बढी आर्सेनिक युक्त पानी भएको गाउँ हो । ‘वर्षौं भयो विषाक्त पानी पिएको कसैले ध्यान दिने होइनन् भोट मात्र माग्न आउँछन्,’ चौधरीले भनिन्,‘पिउने पानी र खेतमा सिँचाइ मिलाउनेलाई टोलका सबै सदस्यले भोट दिने सल्लाह भएको छ ।’ पहिले भेट हुँदासमेत बोल्न हिचकिचाउने दलका नेता कार्यकर्ता खोज्दै खेतमा आउँदा मतदातासमेत दंग परेका छन् । समस्या खुलेर बताउन पाएपछि स्थानीयले रासायनिक मलको अभावदेखि बाटो, बिजुली र अस्पतालको माग गर्ने गरेका छन् ।

थारू मतदाता निर्णायक
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुका तीन नगरपालिकामा थारू मतदातालाई रिझाउने होड चलेको छ । निर्णायक हुने देखिएपछि उनीहरूलाई मनाउन उम्मेदवार लागेका छन् । दलले उनीहरू सामु आफ्ना योजना र रणनीति सुनाउने गरेका छन् । जिल्लाको उत्तरी भेगका वाणगंगा, बुद्धभूमि र शिवराज नगरपालिकामा थारू समुदायको उल्लेख्य बसोबास छ । ती नगरपालिकामा उक्त समुदायको मन जित्ने उम्मेदवार विजयी हुने अनुमान छ । वाणगंगा नगरपालिकामा कुल ४१ हजार ७ सय ३१ मध्ये १५ हजारभन्दा बढी थारू मतदाता छन् । कांग्रेसले त्यहाँ मत आकर्षित गर्न थारू समुदायका अगुवा मंगलप्रसाद थारूलाई मेयरको उम्मेदवार बनाएको छ । उनी यसअघि कांग्रेस वाणगंगा नगर समिति अध्यक्ष थिए । ‘कांग्रेसको प्रतिबद्ध मत छँदैछ,’ अर्का अगुवा रामशंकर चौधरीले भने, ‘थारू र तटस्थ रहेकाको मत पायौं भने विजय निश्चित छ ।’
पार्टीले नगरपालिकाका ५ र ७ का वडाध्यक्षमा शालिकराम थारू र ठागे थारूलाई उम्मेदवार बनाएको छ । १० नम्बर वडाध्यक्षमा रामविहानी चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमालेले उक्त समुदायको मत तान्न सभासद विश्रामप्रसाद चौधरीलाई परिचालन गरेको छ । एमालेले ३ र ६ नम्बर वडाध्यक्षमा सन्तराम रौतार थारू र सुकदेव थारूलाई र ११ नम्बर वडाध्यक्षमा शम्भुप्रसाद चौधरीलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले पनि मत तान्न मेयरमा कांग्रेस उम्मेदवार मंगलप्रसाद थारूलाई समर्थन गरेको छ । यहाँ कांग्रेस–माओवादीबीच तालमेल छ । त्यसैले उपमेयरमा माओवादीले टोपनारायण बेल्बासेलाई उम्मेदवार बनाएको छ । साबिकका हथौसा, कोपवा र गजेहडा गाविस थारू बहुल क्षेत्र हुन् । ‘हरेक निर्वाचनमा यहाँ थारू मतदाता निर्णायक मानिन्छन्,’ नागरिक अगुवा दोलखबहादुर पछाईले भने, ‘०४९ र ५४ को स्थानीय निर्वाचनमा मात्र नभई दुवै संविधानसभा निर्वाचनमा तिनै मतदाता निर्णायक भएको देखिन्छ ।’
त्यस्तै बुद्धभूमि नगरपालिकामा पनि यही समुदायका मतदाता पक्षमा पार्न मुख्य तीन ठूला दल कस्सिएका छन् । कांग्रेसले मीरा थारू र एमालेले मञ्जु थारूलाई उपमेयरमा उम्मेदवार बनाएको छ । राप्रपाले विष्णुकुमार चौधरी र लोकतान्त्रिक फोरमले जलेश्वर थारूलाई मेयरका उम्मेदवार बनाएको छ । कांग्रेस र माओवादी केन्द्रले ३ वटा वडामा थारू उम्मेदवारलाई अध्यक्षमा उठाएका छन् । एमालेले वडा सदस्यमा थारूलाई बढी टिकट दिएको छ । ३ वटा दलका उम्मेदवारले थारू बस्तीको विकासलाई प्राथमिता दिने प्रतिबद्धता गरेका छन् । उनीहरूले शिक्षा र रोजगारीलाई प्राथमिकता दिने भन्दै मत मागिरहेका छन् । बुद्धभूमि नगरपालिकामा ३५ हजार मतदातामध्ये १० हजारभन्दा बढी थारू मतदाता छन् ।

शिवराज नगरपालिकामा पनि उम्मेदवारले थारू मतलाई आँखा लगाएका छन् । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र चन्द्रौटा रहेकाले नगरलाई आफ्नो हातमा पार्न तीनै दल कस्सिएका छन् । पहाडी, मधेसी, मुस्लिम र थारू समुदायको समान मत रहेको नगरपालिकामा थारू मत जसलाई जान्छ उसकै जित हुने स्थानीय बताउँछन् । एमालेले २४ वर्षीय शिवकुमारी थारूलाई उपमेयरमा उठाएर थारू मत तान्ने कोसिसमा छ । राप्रपाले पनि उपमेयरमा थारू समुदायबाट सविता चौधरीलाई उम्मेदवार बनाएको छ । दुवै पार्टीले थारू युवतीलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित : असार ९, २०७४ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?