नेतृत्व कसरतमा पूर्वकमलरी

बर्दिया — राजापुर नगरपालिका ४, संघर्षनगरकी कृष्णीकुमारी थारू पूर्वकमलरी हुन् । उनी ६ वर्षकै उमेरमा कमलरी बसेकी थिइन् ।

नेतृत्व कसरतमा पूर्वकमलरी

कमलरी छँदै १६ वर्षमा बिहे भयो, कमैया परिवारमै । पति कृष्ण थारू कमैया बसेकै घरमा उनी पनि कमलरी बसिन् । सरकारले कमैया र कमलरी मुक्तिको घोषणा गरेपछि दिन फेरियो । पेट पाल्नैका लागि गरिएको संघर्षले उनलाई अगुवा बनायो ।

असार १४ मा हुने स्थानीय तह चुनावमा एमालेका तर्फबाट राजापुर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी छन्, कृष्णीले । ‘कमलरी बस्दा पनि विद्रोही स्वभावकी थिएँ । कमलरी आन्दोलनमा पनि सरिक भएँ । 

आन्दोलनमा बोल्न सिकियो,’ दुई छोराछोरीकी आमा ४० वर्षीया उनले भनिन्, ‘मेरो संघर्षले यो स्थानसम्म पुगेको छु । उपमेयरमा लडेकी छु । जित्ने विश्वास पनि छ ।’

राजापुर नगरपालिका २ चैनपुरकी वसन्ती चौधरी पनि पूर्वकमलरी हुन् । उनले माओवादी केन्द्रका तर्फबाट महिला सदस्यको उम्मेदवारी दर्ता गरेकी छन् । उनीसँग करिब डेढ दशक कमलरी बसेको नमिठो अनुभव छ । उनी कमलरी मुक्तिको अभियानमा लागिन् । कमैया महिला जागरण समाजले गठन गरेको समूहको अध्यक्ष भएपछि नेतृत्व विकास झनै माझियो ।

आफ्ना अधिकार र हकका कुरा गर्दागर्दै उनी नेता भइन् । ‘मुक्तिपछि गाउँमा रहेका समूहमा बसियो । त्यसले पनि बोल्न सिकायो,’ उनी भन्छिन्, ‘यति धेरै दु:ख नपाएको भए नेता बन्ने थिइनँ ।

माओवादीले पत्याएर महिला सदस्यमा उम्मेदवारी दिएको छु ।’ यसअघि उनी माओवादी सेनामा थिइन् । त्यहाँ छँदा १५ पटक नेपाली सेनासँगको भिडन्तमा सहभागी भएको उनले बताइन् ।

राजापुर नगरपालिका २ सोहरियाकी बन्दना थारूले एमालेका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । उनी पनि कमैया परिवारकी हुन् । ८ वर्षकै हुँदा कमलरी बस्न काठमाडौं गइन् । तलब वार्षिक १ क्विन्टल गहुँ थियो । कमलरी बसेको २ वर्षपछि घर आउन बिदा पाएको उनी सम्झिन्छिन् । ०५७ मा ३ महिने प्रौढ कक्षामा भाग लिएपछि अगुवा बन्ने बाटो खुल्यो । 

कमैया महिला जागरण समाजले पनि क्षमता विकासमा सहयोग गरेको उनले बताइन् । 
‘अरूलाई कति भोट हाल्नु ? अहिले आफैं उम्मेदवार भएकी छु,’ उनले भनिन्, ‘म उम्मेदवार हुनुको अर्को कारण भनेको पूर्वकमलरीको आवाज उठाउनु हो ।’ राजापुर ४, संघर्षनगरकी सुरतिया थारूले माओवादी केन्द्रबाट महिला सदस्यको उम्मेदवारी दिएकी छन् । उनी पनि पूर्वकमलरी हुन् । राजापुर ६ जोगीपुरकी संगीता थारूले एमालेका तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । राजापुर ४, अनन्तपुरकी लक्ष्मी थारूले कांग्रेसबाट महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । 

बढैयाताल गाउँपालिका ४, रामनगरकी ठुन्नी थारू पनि कमलरी हुन् । असार १४ मा हुने स्थानीय तह चुनावमा महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । पूर्वकमलरीहरूको संघर्षले यो स्थानमा पुर्‍याएको छ । तर, उनीहरूको संघर्षमा भने पीडा लुकेको छ । ‘सरकारले कमैया मुक्तिको घोषणा गरेपछि जमिनदारले हामीलाई घरबाट निकाला गरिदिए । बस्ने र खाने केही भएन । छोराछोरी लिएर बाटोमै छाप्रो बनाएर बस्यौं । त्यहीँको अर्को जमिनदारको जग्गा अधियाँ/बटैया गरी गुजारा चलायौं,’ ठुन्नी भन्छिन्, ‘बितेका कुरा नगरौं । यतिबेला चुनावमा होमिएको छु । यो ठाउँमा पुग्न निकै पसिना बगाउनुपर्‍यो ।’

प्रकाशित : असार ९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?