कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रमुख पदमा महिलालाई मौका

हरि गौतम

रुकुम — एमालेकी जिल्ला कमिटी सचिवालय सदस्य आशा स्वर्णकारले असार १४ मा हुने स्थानीय तह चुनावमा भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी छन् । उक्त गाउँपालिका अध्यक्षमा उनले ४ पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

कांग्रेस जिल्ला उपसभापति गञ्जसिंह बुढा, माओवादी केन्द्रका राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य रामसुर बुढा, राष्ट्रिय जनमोर्चाका अनाराम पुन र स्वतन्त्र रतन बुढा स्वर्णकारका प्रतिस्पर्धी हुन् । 

माओवादी केन्द्रकी कुमारी बराल गौतमले पनि सिस्ने गाउँपालिकाको अध्यक्षमा ६ पुरुषसँग प्रतिस्पर्धा गर्दै छिन् । 

एमालेका ६ नम्बर प्रदेश कमिटी सदस्य नन्दलाल शर्मा, राप्रपाका जिल्ला सचिव सुधीर शाह, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य शिवप्रसाद शाही, नेमकिपाका जिल्ला अध्यक्ष कालो खडका, नेकपा मालेका जिल्ला सदस्य ठानबहादुर खड्का र नयाँ शक्तिका उपेन्द्रलाल कामी उनका स्पर्धी हुन् ।

दोस्रो चरणमा ५ नम्बर प्रदेशमा परेका जिल्लाका ३ स्थानीय तहको चुनावमा मुख्य पदमा २ पार्टीले मात्रै महिलालाई उम्मेदवार बनाएका छन् । एमालेले भूमेमा आशा र माओवादीले सिस्नेमा कुमारीलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ । कांग्रेस र माओवादीले सिस्ने तथा एमालेले भूमे गाउँपालिका अध्यक्षमा महिलाकै उम्मेदवारी दिएका थिए । पछि कांग्रेसका तर्फबाट सिस्नेको अध्यक्षमा उम्मेदवारी दिएकी सरिता बीसीले उम्मेदवारी फिर्ता लिएपछि आशा र कुमारीको मात्रै उम्मेदवारी कायम रहेको हो ।

मुख्य पदमा उम्मेदवारी दिएका महिलाहरूले भने आफूहरू पुरुषहरूसँग चुनाव लड्न नडराएको बताएका छन् । एमाले उम्मेदवार आशाले पार्टीको नीति, सिद्धान्तका आधारमा लडिने भएकाले पुरुष स्पर्धीसँग चुनाव लड्न अप्ठ्यारो नमानेको बताइन् । माओवादीका तर्फबाट सिस्नेमा उम्मेदवारी दिएकी कुमारीले पनि महिला भएकै कारण पुरुषसँग चुनावमा स्पर्धा गर्दा नडराएको बताइन् । ‘म पार्टीको उद्देश्य, नारा, एजेन्डा र प्रतिबद्धताका साथ जनतामाझ गएकी छु,’ उनले भनिन्, ‘मेरो भर भनेका मतदाता हुनुहुन्छ त्यसैले मैले पुरुष स्पर्धीसँग भन्दा पनि मतदातातर्फ ध्यान केन्द्रित गरेकी छु ।’

राजनीतिक दलले पनि सजिलै मुख्य पदमा महिलालाई अघि सार्न कन्जुस्याइँ गर्ने दुवैले स्विकारे । कांग्रेसका तर्फबाट सिस्ने गाउँपालिका अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएकी सरिताले पार्टीको निर्णयअनुसार उम्मेदवारी दिए पनि पार्टीकै सल्लाहमा फिर्ता लिएको बताइन् । ‘पहिले उत्साहित भएर उम्मेदवारी दिएकी थिएँ,’ उनले भनिन्, ‘पछि पार्टीको निर्णय भएपछि फिर्ता लिनैपर्‍यो, उम्मेदवारी दिने निर्णय भयो दिएँ, लिने निर्णय भयो लिएँ ।’ राजनीतिक दलहरूले महिलाको पक्षमा उदार भएर निर्णय नगर्ने उनको पनि अनुभव छ ।

प्रकाशित : असार ९, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?