मैदानमा द्वन्द्वपीडित अगुवा

जनक नेपाल

नेपालगन्ज — बाँके खजुरा गाउँपालिकामा एमालेबाट उपाध्यक्ष उम्मेदवार एकमाया विकलाई चुनावी प्रचारप्रसारले अचेल भ्याइनभ्याइ छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी घरदैलो गर्छिन् । हरेक दिन दुई/तीन कोणसभालाई सम्बोधन गर्छिन् । गाउँघरमा उनको भाषणको प्रशंसा हुन थालेको छ ।

एकमाया सजिलै नेता भएकी भने हैनन् । सशस्त्र द्वन्द्वका क्रममा उनका प्रहरी पति भिडन्तमा मारिए । खजुरा गाउँवरपर राज्य र विद्रोही माओवादीबाट पीडित महिलाहरू प्रशस्तै देखेपछि उनले संगठित गरिन् । आयआर्जनका उपाय खोजिन् । ‘धेरै संघर्ष गरेर यहाँसम्म आएका छौं,’ उनले भनिन्, ‘मैले जित्दा गाउँपालिकामा द्वन्द्वपीडित एकल महिलाको पनि प्रतिनिधित्व हुनेछ ।’

एकमाया मात्र होइन, बाँकेका नगर र गाउँपालिकामा आधा दर्जनभन्दा धेरै द्वन्द्वपीडित महिला उम्मेदवार बनेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० मा कांग्रेसबाट वसन्ता जोशी र एमालेबाट शोभा बीसी सदस्य उठेका छन् । जोशीका प्रहरी र बीसीका सैनिक पति द्वन्द्वमा मारिएका थिए । त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १५ मा माओवादी केन्द्रबाट लक्षमनिया थारूले महिला सदस्यमा उम्मेदवारी दिएकी छन् ।

सशस्त्र द्वन्द्वमा उनका पति सुरक्षाकर्मीबाट मारिएका थिए । कोहलपुर नगरपालिकामा माओवादी केन्द्रबाट उपमेयर उम्मेदवार देवी थारू द्वन्द्वपीडितका समस्या समाधान गर्न पनि स्थानीय तहमा नेतृत्वको खाँचो रहेको बताउँछिन् । द्वन्द्वमा बेपत्ता बहिनी धनकुमारी चौधरीको खोजीमा वर्षौं बिताएको उल्लेख गर्दै उनले भनिन्, ‘काम गर्ने अवसर पाए पीडितहरूको मुद्दालाई सम्बोधन गर्न सकिन्छ कि भनेर लागेका छौं ।’

१० वर्षे सशस्त्र द्वन्द्वका थुप्रै पीडितले धेरैसम्म आफ्ना दु:ख–व्यथा लुकाएर बसे । त्यो बेला पीडितले न्यायका लागि आवाज उठाउनु पनि ठूलै आँट मानिन्थ्यो । ‘रुँदै कराउँदै संगठित भएर अहिलेको स्थितिसम्म आएका छौं,’ सदस्य उम्मेदवार बीसीले भनिन्, ‘यत्तिले मात्र पनि द्वन्द्व प्रभावित समुदायको मनोबल बढाएको छ ।’ उनले बाँकेमा पहिलोपल्ट राज्य र विद्रोही माओवादीबाट पीडित एकल महिलालाई एकै ठाउँ ल्याउने अभियान सुरु गरेकी थिइन् ।

न्यायका लागि द्वन्द्वपीडित समाजकी बाँके अध्यक्ष चन्द्रकला उप्रेती राजनीतिमा द्वन्द्वपीडित महिलाको सहभागिता बढ्नुलाई सुखद बताउँछिन् । ‘म अत्यन्त खुसी छु । चुनावमा जुनसुकै पार्टीले जित्ने र क्षमतावान् उम्मेदवार रोज्छ,’ उनले भनिन्, ‘पार्टीको रोजाइमा द्वन्द्वपीडित महिलाहरू पर्नु नै एउटा सफलता हो ।’सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाकर्मीबाट पति बेपत्ता पारिएपछि द्वन्द्वपीडित एकल महिलाको अधिकारका लागि सक्रिय उप्रेतीलाई पनि माओवादी केन्द्रले उम्मेदवार बनाउन चाहेको थियो । तर, आफ्नो आर्थिक र अन्य स्थितिले अहिले नमिल्ने जवाफ दिएको उनी बताउँछिन् ।

‘मलाई पनि उम्मेदवार हुन प्रस्ताव आएको थियो,’ द्वन्द्वपीडितकी नेत्री उप्रेतीले भनिन्, ‘पहिलो कुरा राजनीतिप्रति मेरो त्यति रुचि छैन । अर्को कुरा घरव्यवहार र संस्थाको नेतृत्वको जिम्मेवारीले पनि नभ्याएर हो । उनले द्वन्द्वपीडित र एकल महिलालाई चुनावमा सघाएर स्थानीय तहको नेतृत्वमा पुर्‍याउन आग्रह पनि गरिन् ।

प्रकाशित : असार ९, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?