चुनावमा मारवाडी युवा

विराटनगर — पेसागत संगठनको आन्तरिक निर्वाचनमा मात्र सक्रिय हुँदै आएको यहाँको मारवाडी समुदाय पछिल्लो समय दलीय राजनीतिमा पनि सक्रिय हुन थालेको छ । अधिकांश अगुवा उद्योगी व्यवसायी कुनै न कुनै राजनीतिक दलसँग आबद्ध छन् ।

  • स्थानीय निकायमा १८ जना उम्मेदवार
  • संसद् र पार्टीको केन्द्रीय समितिमा पनि प्रतिनिधित्व
  • ‘औद्योगिक क्षेत्रलाई टेवा पुग्ने विश्वास’

महानगरपालिकामा मारवाडी समुदायको करिब २५ हजार जनसंख्या छ । करिब १० हजार मतदाता छन् । स्थानीय निर्वाचनमा मारवाडी समुदायको मत निर्णायक हुने अवस्था छ । यो समुदायका दिलीपकुमार बगडियाले रंगेली नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

विराटनगर महानगरका विभिन्न वडामा मनोज अग्रवाल, अशोक अटल, कमलेश अग्रवाल, चन्दु धाडेवा, प्रह्लाद शर्मा, महेश बायती, पवन सुराना र दिलीप सन्थलियालगायत १८ जना मारवाडी युवाले वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दिएका छन् ।

निजी क्षेत्रका समस्याको समाधान गर्न, औद्योगिक क्रान्ति, रोजगारीका अवसर सृजना, औद्योगिक दक्ष जनशक्ति उत्पादन गर्न, रोजगारीका लागि विदेश पलायन हुने क्रम रोक्न, भ्रष्टाचार नियन्त्रण र पारदर्शी ढंगले विकास निर्माणका काम गर्न मारवाडी समुदाय राजनीतिमा आकर्षित भएको अगुवाको भनाइ छ ।

मारवाडी युवा मञ्च, महिला मञ्च र मारवाडी सेवा समितिमा आबद्ध प्रतिनिधि पनि राजनीतिमा सक्रिय हुँदै आएका छन् । दलका उम्मेदवारलाई चुनावमा आर्थिक सहयोग गर्दै आएको यो समुदाय यसअघि नेपाल उद्योग वाणिज्य महासंघ र यहाँको मोरङ व्यापार संघ र उद्योग संगठनको निर्वाचनका समयमा मात्र सक्रिय हुँदै आएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा उद्योगी मोती दुगड सद्भावना पार्टीबाट समानुपातिक सभासद बनेका थिए । संविधानसभा दोस्रो निर्वाचनमा महेश जाजु कांग्रेस, मोरङ व्यापार संघ अध्यक्ष पवन सारडा र दीनबन्धु गोयल लोकतान्त्रिक फोरम, राजकुमार गोल्छा माओवादी केन्द्र र राज्यलक्ष्मी गोल्छा एमालेबाट समानुपातिक उम्मेदवार बनेका थिए । तीमध्ये लोकतान्त्रिक फोरमले सारडा र एमालेले राज्यलक्ष्मीलाई सभासद बनायो । आसन्न स्थानीय निर्वाचनमा पनि उनीहरू तिनै दलको झन्डा लिएर हिँडिरहेका छन् ।

दुगड सभासद भएलगत्तै सद्भावना पार्टी छाडेर आफैं अध्यक्षमा बस्दै नव नेपाल निर्माण पार्टी खोले । दोस्रो संविधानसभा निर्वाचनपछि उनले पार्टीलाई एमालेमा विलय गराए । अचेल स्थानीय निर्वाचनमा एमालेका उम्मेदवारलाई मत माग्दै हिँडिरहेका छन् ।

निजी क्षेत्रको हकहित र समस्या समाधानका लागि पछिल्लो समय मारवाडी समुदाय राजनीतिमा छिरेको ढुगडको भनाइ छ । ‘उद्योग र व्यवसाय गर्ने समुदाय राजनीतिमा होमिनु चानचुने कुरा होइन,’ उनले भने, ‘अहिलेको राजनीतिक संयन्त्रले निजी क्षेत्रसँग सहमति गर्ने र कार्यान्वयन नगर्ने गरेकाले आफ्नो हकहितका लागि मारवाडी समुदाय राजनीतिमा प्रवेश गरेको हो ।’

उनी एमालेका केन्द्रीय सल्लाहकार पनि हुन् । राजनीतिमा मारवाडीको प्रवेशले आर्थिक पक्ष पारदर्शी हुने दुगडको दाबी छ ।

मोरङ व्यापार संघका अध्यक्ष सारडा लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य एवं राजनीतिक सल्लाहकार पनि हुन् ।

‘राजनीतिले मुलुक हाँक्छ,’ उनले भने, ‘मारवाडी समुदाय पनि मुलुक हाँक्ने राजनीतिमा प्रवेश गर्नु सकारात्मक मान्नुपर्छ ।’ अहिलेको राजनीतिमा उद्योग, कलकारखाना र व्यापारको समस्या बुझ्नेको संख्या निकै कम रहेको उनले बताए । अधिकांश उद्योग, कलकारखाना र व्यापार मारवाडी समुदायका भएको उल्लेख गर्दै सारडाले यी क्षेत्रमा रहेका समस्याको समाधान गर्न पनि राजनीतिमा छिरेको बताए ।

‘रोजगारीका लागि युवा बिदेसिँदा उद्योगका लागि दक्ष मजदुर पाइन छाड्यो,’ सभासद समेत रहेका सारडाले भने ‘मुलुकमा भष्ट्राचार व्याप्त छ, कुनै पनि विकास निर्माणको काम पारदर्शी ढंगले हुँदैनन् । यस्ता विकृति अन्त्य गर्न र राजनीतिक नेतृत्वलाई सुझाव दिन मारवाडी समुदाय उद्योगधन्दा चलाउँदै राजनीतिमा प्रवेश गरेका हौं ।’ पाँच–सात वर्ष अघिसम्म यो समुदाय राजनीतिबाट टाढा थियो ।

‘विगतका निर्वाचनमा मारवाडी समुदाय राजनीतिक दलका उम्मेदवारलाई चन्दा मात्रै दिँदै आएका थिए । अहिले आफैं उम्मेदवार बन्न थालेपछि केही मारवाडी अगुवालाई चन्दाको झन्झट हटेको छ,’ एक उद्योगीले भने, ‘दलका नेताहरूले निर्वाचनमा उद्योगीसँग धेरै चन्दा लिने र जितेपछि उद्योगीका समस्यालाई वास्ता नै नगर्ने गरेकाले कतिपय उद्योगी राजनीतिमा लागेका हुन् ।’

राजनीति र आर्थिक क्षेत्र सँगसँगै हिँड्नुपर्ने हो । तर अहिलेको राजनीतिले आर्थिकलाई सँगै हिँडाउन नसकेको नेपाल युवा उद्यमी संघका अध्यक्ष ओम शर्माले बताए । ‘राजनीतिक नेतृत्वलाई राजनीति र आर्थिक समानान्तर हुन् भन्ने बुझाउन पनि मारवाडीका अगुवा र युवा राजनीतिमा प्रवेश गरेका हुन्,’ उनले भने ।

मारवाडी युवा मञ्च, महिला मञ्च र मारवाडी सेवा समिति पनि राजनीतिमा सक्रिय हुँदै आएको उल्लेख गर्दै शर्माले राजनीतिले मारवाडी समुदायलाई स्थान नदिँदा आफ्नो हक र हितका लागि राजनीतिमा सक्रिय हुनु राम्रो भएको बताए ।

प्रकाशित : असार ९, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?