‘जनप्रतिनिधिले हाम्रो पीडा सुन्थे कि ?’

लक्ष्मी साह

बारा — कलैया उपमहानगरपालिका ४ मा २० घर रहेको सानो बस्ती छ । झुरुप्पै बसेका डोम समुदायको यो बस्तीमा झन्डै सय जना बस्छन् ।

‘जनप्रतिनिधिले हाम्रो पीडा सुन्थे कि ?’

५ कट्ठामा साना–साना फुसका झोपडीमा खाँदिएर बसेका उनीहरू पुख्र्यौली पेसाकै आम्दानीले हात–मुख जोर्छन् । बाँसका सामग्री बनाउने र सुँगुर पाल्ने परम्परागत सीपले र पेसाले उनीहरूको दैनिकी चलिरहेको छ । उनीहरूलाई हिँडडुल गर्ने बाटो, शौचालय, विद्युत्, विद्यालय, स्वच्छ पिउने पानीसमेत छैन । 

निकास नभएर जमेकै पानीमा गाडिएको कामचलाउ एउटै चापाकलले बस्तीको माग धानेको छ । अभावै–अभावमा रहेको यो समुदायले पोल र तारको अभावमा मुख्य सडक भएर जडान गरिएका विद्युत् लाइनबाट हुकिङ प्रयोग गरी चोरीको बिजुली उपभोग गर्छन् । विद्युत्बाट कडाइ गरिएपछि टुकीले अँध्यारो छिचोल्छन् । बस्तीमा १२ वर्षमुनिका विद्यालय जाने उमेरका झन्डै २५ देखि ३० बालबालिका गुच्चा खेलेर दिन बिताउँछन् । उनीहरूको खुट्टामा चप्पल देखिँदैन । यी आधारभूत कुराको अभावमा उकुसमुकुस भएर डोम बस्ती पिरोलिएको छ । जिल्लाको विकास गर्ने निकाय जिससकै छेउमा रहेको उक्त बस्तीमा कसैको आँखा परेको छैन । परे पनि नदेखेजस्तो गर्दै आएको बस्तीका बासिन्दा सुनाउँछन् । उनीहरू भन्छन्, ‘कर्मचारीले बनाइदिँदैनन्, जनप्रतिनिधि भएको भए हाम्रो समस्या त सुन्थे । कर्मचारीलाई भोटको जरुरी छैन । जनप्रतिनिधिलाई त भोट चाहिन्छ । अब जनप्रतिनिधिकै आसमा छौं ।’

बालबालिकाहरूको पढाइबारे जिज्ञासा राख्दा उनीहरूको आँखा रसाउँछ । बालबालिकाहरू भन्छन्, आमाबाबुले विद्यालयमा नाम लेखाइदिँदैनन्, अभिभावक भन्छन् विद्यालयले भर्ना लिँदैन, कसरी विद्यालय पठाऊँ ? ‘विद्यालय भर्ना अभियानबारे थाहै छैन,’ शान्तिदेवी मली भन्छिन् । 

‘नजिकैको नमुना निमाविमा पढ्न जाँदा शिक्षक र विद्याथीको हप्कीदप्की खाएर हाम्रा बच्चाहरू घर फर्किन्छन्,’ ईश्वरी मली डोम भन्छन्, ‘यस्ता घटना धेरै भएपछि पढ्नै पठाउन छाडयौं ।’ बालबालिका भर्ना अभियानबारे थाहा नभएको बताउँछन् अर्का अभिभावक नन्दकिशोर मली । उनले छुट्टै विद्यालय नभएकाले बालबालिकाहरू घरमै बस्ने गरेको बताए । भन्छन्, ‘अहिलेसम्म जनप्रतिनिधि भएको भए विद्युत्, पानी, विद्यालय, चर्पी र सडक भइसक्थ्यो । बस्ती बसेदेखि सडक छैन । अरूको गाली सुन्दै खेतको आलीबाट आउजाउ गर्नुपर्छ ।’ बर्खाका बेला त झनै समस्या झेल्दै आएको उनी सुनाउँछन् । १० वर्षअघि विभिन्न गाउँबाट सरेर आएका बेला नजिकैको भट्टामा इँटा ढुवानीका लागि बनाइएको अस्थायी सडक देखाएर झुक्याएको उनले बताए । भन्छन्, ‘भट्टा बन्द भएपछि सडक पनि बन्द भयो । हामी थुनिएर बसेझैं भएका छौं ।’

प्रकाशित : असार ९, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?