कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

चुनाव जित्न रस्साकसी

महेन्द्रनगर — भीमदत्त नगरपालिकाको चुनाव जित्न प्रमुख दलहरूका बीचमा रस्साकस्सी जारी छ । परिणाम पक्षमा पार्न प्रमुख दलका नेताहरू यस क्षेत्रमा सक्रिय छन् । एमाले पार्टी उपाध्यक्ष भीम रावलले यतै ‘डेरा जमाएका’ छन् । कांग्रेस नेता रमेश लेखक र एनपी साउद जिल्ला पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा मतदान गर्न जाँदा कैलाली र कञ्चनपुर पस्दै छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम छ । एमाले अध्यक्ष केपी ओली पनि केही दिनभित्र आइपुग्ने पार्टी स्रोतले जनाएको छ ।

चुनावी तातोले सबैलाई छोइसकेको छ । मतदाताले भने यसपटक विगतको भन्दा फरक ढंगले मतदान गर्ने संकेत देखाएका छन् । उम्मेदवारले व्यक्तिगत रूपमा भोट माग्दा ‘सदस्यमा मलाई भोट दिनुहोला, मेयरमा पार्टी उम्मेदवारलाई’ भन्दै प्रचार गरिरहेको मतदाताले बताए । यहाँको चुनावमा जातीयता र क्षेत्रीयता हावी हुने ट्रेन्ड छ ।

करिब ५६ हजार मतदाता रहेको भीमदत्त नगरपालिकामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ आएकाहरूको बाहुल्य छ । विगतका निर्वाचनमा कञ्चनपुरमा एउटै पार्टीले निरन्तर जितेका उदाहरण छैनन् । पहिलो आम निर्वाचनमा कांग्रेस र मध्यावधिमा एमाले विजयी भयो । २०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा कांग्रेस र २०५४ को दोस्रो स्थानीय निर्वाचनमा एमाले विजयी भएको थियो । २०५६ को आम निर्वाचनमा कांग्रेसले जिल्लाका ३ वटै संसदीय सिट जित्यो । पहिलो संविधानसभामा माओवादी र दोस्रो संविधानसभामा फेरि कांग्रेसले चुनाव जितेको थियो ।

एमालेले वैशाख पहिलो साता नै उम्मेदवार तय गरेर अरू पार्टीभन्दा निकै अघि मतदातासमक्ष पुग्न सकेकोलाई जितको प्रमुख आधार मानेको छ । ‘दोहोर्‍याएर मतदाताको घरदैलो गरिसकेपछि अरू पार्टी बल्ल प्रचारमा जुटेका छन्,’ एमालेका एक नेताले भने, ‘यसको लाभ त हामीलाई मिल्छ नै ।’ उनले यसबाहेक विगतको जनाधार, पार्टीको नीति तथा कार्यक्रम र बलियो पार्टी संगठन र विकास निर्माणका ठोस योजनाहरू प्रस्तुत गरेकाले पार्टीको पक्षमा जित निस्कने बताए । कांग्रेसले देउवाको गृहक्षेत्र भएका कारणले पूरै सुदूरपश्चिममा आफ्नो जनाधार मजबुत भएको दाबी गर्दै आएको छ ।

मेयर पदमा कांग्रेसका पदम बोगटी, एमालेका सुरेन्द्र विष्ट, माओवादी केन्द्रका गोपाल रसायलीसँगै राप्रपाका गजेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् । उनीहरू चारै जनाको पुख्र्याैली घर सुदूरपश्चिमको पहाडी जिल्ला नै हो । पहाडी मतदाताको भोट चारै जनामा विभाजित हुने देखिन्छ ।

प्रकाशित : असार ९, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?