चुनाव जित्न रस्साकसी

चित्रांग थापा र भवानी भट्ट

महेन्द्रनगर — भीमदत्त नगरपालिकाको चुनाव जित्न प्रमुख दलहरूका बीचमा रस्साकस्सी जारी छ । परिणाम पक्षमा पार्न प्रमुख दलका नेताहरू यस क्षेत्रमा सक्रिय छन् । एमाले पार्टी उपाध्यक्ष भीम रावलले यतै ‘डेरा जमाएका’ छन् । कांग्रेस नेता रमेश लेखक र एनपी साउद जिल्ला पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा मतदान गर्न जाँदा कैलाली र कञ्चनपुर पस्दै छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम छ । एमाले अध्यक्ष केपी ओली पनि केहीदिनभित्र आइपुग्ने पार्टी स्रोतले जनाएको छ ।

Yamaha

चुनावी तातोले सबैलाई छोइसकेको छ । मतदाताले भने यसपटक विगतको भन्दा फरक ढंगले मतदान गर्ने संकेत देखाएका छन् । उम्मेदवारले व्यक्तिगत रूपमा भोट माग्दा ‘सदस्यमा मलाई भोट दिनुहोला, मेयरमा पार्टी उम्मेदवारलाई’ भन्दै प्रचार गरिरहेको मतदाताले बताए । यहाँको चुनावमा जातीयता र क्षेत्रीयता हावी हुने ट्रेन्ड छ ।

करिब ५६ हजार मतदाता रहेको भीमदत्त नगरपालिकामा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ आएकाहरूको बाहुल्य छ । विगतका निर्वाचनमा कञ्चनपुरमा एउटै पार्टीले निरन्तर जितेका उदाहरण छैनन् । पहिलो आम निर्वाचनमा कांग्रेस र मध्यावधिमा एमाले विजयी भयो । २०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा कांग्रेस र २०५४ को दोस्रो स्थानीय निर्वाचनमा एमाले विजयी भएको थियो । २०५६ को आम निर्वाचनमा कांग्रेसले जिल्लाका ३ वटै संसदीय सिट जित्यो । पहिलो संविधानसभामा माओवादी र दोस्रो संविधानसभामा फेरि कांग्रेसले चुनाव जितेको थियो ।

एमालेले वैशाख पहिलो साता नै उम्मेदवार तय गरेर अरू पार्टीभन्दा निकै अघि मतदातासमक्ष पुग्न सकेकोलाई जितको प्रमुख आधार मानेको छ । ‘दोहोर्‍याएर मतदाताको घरदैलो गरिसकेपछि अरू पार्टी बल्ल प्रचारमा जुटेका छन्,’ एमालेका एक नेताले भने, ‘यसको लाभ त हामीलाई मिल्छ नै ।’ उनले यसबाहेक विगतको जनाधार, पार्टीको नीति तथा कार्यक्रम र बलियो पार्टी संगठन र विकास निर्माणका ठोस योजनाहरू प्रस्तुत गरेकाले पार्टीको पक्षमा जित निस्कने बताए । कांग्रेसले देउवाको गृहक्षेत्र भएका कारणले पूरै सुदूरपश्चिममा आफ्नो जनाधार मजबुत भएको दाबी गर्दैआएको छ ।

मेयर पदमा कांग्रेसका पदम बोगटी, एमालेका सुरेन्द्र विष्ट, माओवादी केन्द्रका गोपाल रसायलीसँगै राप्रपाका गजेन्द्रबहादुर चन्द प्रतिस्पर्धामा छन् । उनीहरू चारै जनाको पुख्र्याैली घर सुदूरपश्चिमको पहाडी जिल्ला नै हो । पहाडी मतदाताको भोट चारै जनामा विभाजित हुने देखिन्छ ।

प्रकाशित : असार ९, २०७४ ०८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धनगढीमा जातीय मत हाबी

थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनले थारू र पहाडी समुदायका बीच कोरेको विभाजनको छाया चुनावमा
डीआर पन्त

धनगढी — प्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले ठूलो मतअन्तरले निर्वाचन जितेको यो उपमहानगर र सँगै जोडिएका अन्य ठाउँमा क्षेत्रीय र जातीय मतले ठूलो भूमिका खेल्ने देखिएको छ । माओवादी केन्द्रबाट महानगरमा ४४ प्रतिशत मतदाता रहेको राना थारू समुदायबाट उम्मेदवार दिइनु, व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिनु, कांग्रेस र एमालेमा थारू समुदायबाट प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी नदिनु जस्ता विविध कारणले परिणाम सोचेभन्दा फरक आउन सक्ने अनुमान गर्न थालिएको छ ।

‘अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलनको प्रभाव पनि यो निर्वाचनमा पर्न सक्छ,’ प्राध्यापक डा. टीएन जोशी भन्छन्, ‘जातीय रूपमा मतदान भयो भने परिणाम सबैले सोचेभन्दा फरक पनि हुन सक्छ । अहिलेसम्मका निर्वाचनको ट्रेन्ड भने त्यस्तो देखिएको छैन ।’ भेगीय प्रभावले पनि निर्वाचन परिणामलाई प्रभावित पार्न सक्ने उनले बताए । ७ वटा पहाडी जिल्ला, कर्णालीपारि र पूर्वी नेपालबाट बसाइँ सरी आएका अधिकांश बासिन्दा मतदाता भएकाले यसको असर हरेक निर्वाचनमा झैं यस पटक पनि पर्न सक्छ । जोशीका अनुसार थारू मतदाताको रुझान कता हुन्छ ? त्यसले हारजित प्रभावित हुने निश्चित जस्तै हो । उपमहानगरमा ४४ प्रतिशत थारू, १७ प्रतिशत क्षत्री, १३ प्रतिशत ब्राह्मण, साढे ७ प्रतिशत दलित, ३ प्रतिशत ठकुरी र साढे १३ प्रतिशत अन्य मतदाता रहेका छन् ।

०४९ को पहिलो स्थानीय निकायको निर्वाचनमा कांग्रेसले बहुमतका साथ निर्वाचन जितेको धनगढीमा ०५४ मा एमालेले कब्जा गरेको थियो । ०५१ को मध्यावधिमा नगर क्षेत्रका निर्णायक मतका कारण एमाले नेता महेश्वर पाठकले निर्वाचन जिते । ०५६ मा कांग्रेसले विजय हात पार्‍यो । ०६४ को संविधानसभामा भने माओवादीकी लीला भण्डारीले नगर क्षेत्रमा राम्रो मत प्राप्त गरेर जित हासिल गरिन् ।

दोस्रो संविधानसभामा फेरि मतदाता परिवर्तन भए । कांग्रेसले झन्डै दोब्बर मत अन्तरले विजय आत्मसात् गरेको थियो । ‘हरेक निर्वाचनमा परिवर्तन हुने मतदाताको मनोविज्ञानले यसपटक पनि सोचेभन्दा फरक परिणाम आउन सक्छ,’ नागरिक अगुवा रविन पन्तले भने, ‘मतदाता परिवर्तन चाहन्छन् । त्यो परिवर्तन कसको पक्षमा हुन सक्छ, केही दिन अझै पर्खिनुपर्छ ।’ थरुहट र अखण्ड सुदूरपश्चिम आन्दोलनले थारू र पहाडी समुदायका बीचमा कोरेको विभाजनको छाया चुनावमा देखिने सम्भावनालाई नकार्न नसकिने उनले बताए । कांग्रेस र एमालेभित्र देखिएको असन्तुष्टि र विभाजनले पनि निर्वाचन परिणामलाई प्रभावित पार्न सक्छ । दुवै दलका असन्तुष्ट नेता प्रचारमा देखिए पनि अन्तरघातको सम्भावना पनि जीवन्त रहेको विश्लेषण गर्न थालिएको छ ।


स्वतन्त्र उम्मेदवार चुनौती

धनगढी उपमहानगरमा विकासका एजेन्डासहित गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जातीय र भेगीय रूपमा मतदाता बाँडिएका प्रदेश नं ७ को एक मात्र उपमहानगरमा उनको उम्मेदवारी प्रमुख दल कांग्रेस र एमालेका लागि बढी चुनौती बनेको छ । हमालले विकासका स्पष्ट एजेन्डासहित मतदाता आर्कषित गर्न थालेका छन् ।

टोलटोलमा स्वतन्त्र उम्मेदवारलाई मत माग्न कार्यालय स्थापना भएका छन् । कांग्रेस, एमाले र राप्रपाका समर्थक नै उनको प्रचारमा लागेकाले पनि अन्य दलका उम्मेदवार झस्किएका हुन् । हमालले धनगढी विमानस्थल कालोपत्रे गर्न, ब्लड बैंकको स्थापना, मेडिकल कलेज स्थापनाको पहल र औद्योगिक क्षेत्र स्थापनाका लागि भूमिका निर्वाह गरेको बताए ।

अन्य दलका उम्मेदवारको पनि आआफ्नै दाबी छ । ‘सबै राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । विकास युगको नेतृत्व पनि कांग्रेसले नै गर्ने भएकाले जित्नबाट कसैले रोक्न सक्दैन,’ कांग्रेस उम्मेदवार नृप वडले भने । शान्ति र विकासका लागि कांग्रेस आवश्यक छ भन्ने कुरा जनताले बुझेको उनले बताए ।
एमाले उम्मेदवार दुर्गा जोशीले पनि आफ्नो दलले जनताका हरेक विकासका इच्छालाई सम्बोधन गर्दै आएको दाबी गरे । उनले भने, ‘समाजको तल्लो वर्ग, गरिब, निमुखा जनताका लागि एमालेले आफ्नो शासनकालमा सुरु गरेका काम जनताले बिर्सेका छैनन् ।’ माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले अहिलेको परिवर्तन माओवादीका कारण सम्भव भएको बताए ।

प्रकाशित : असार ९, २०७४ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT