२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चेपाङद्वारा स्थानीय तहबारे तालिम माग

विमल खतिवडा

चितवन — स्थानीय तह चुनावमा विभिन्न नगर र गाउँपालिकाका वडामा चेपाङ समुदायबाट चुनिएका प्रतिनिधिले तालिमको माग गरेका छन् । ‘आफूले के–के अधिकार पाउने हो त्यो थाहा छैन,’ चेपाङ अगुवा एवं पूर्वसांसद गोविन्दराम चेपाङले भने, ‘निर्वाचित जनप्रतिनिधिलाई के सिफारिस गर्ने/नगर्ने बारे थाहा छैन ।’

उनले नगरपालिका र गाउँपालिकाको जनप्रतिनिधि भएकाले जग्गाको कारोबार बढी हुने र त्यस्तो कार्यमा प्रतिनिधिहरूलाई फसाउन सक्ने खतरा बढी हुने बताए । ‘स्थानीय संरचना र काम कारबाहीबारे प्रतिनिधि जानकार छैनन्,’ उनले भने, ‘हाम्रो जात सोझो हो, सोझोपनको फाइदा टाठाबाठाले उठाउन सक्छन् ।’

उनले प्रतिनिधिलाई कानुन व्यवसायी समेतको उपस्थितिमा तालिम अनिवार्य रहेको बताए । पुराना पाका प्रतिनिधिले भने स्थानीय तहबारे थोरबहुत थाहा पाएको बताए । अधिकांश जानकार छैनन् ।

‘पहिले जस्तो अहिलेको स्थानीय तह छैन,’ उनले भने, ‘सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने काम जनप्रतिनिधिले गर्ने हो, त्यही भएर आफ्नो अधिकार, आफूले गर्ने कामबारे उनीहरूलाई थाहा हुनुपर्छ, सहज रूपमा जनप्रतिधिको काम गर्न सक्ने बनाउनुपर्छ ।’ उनका अनुसार नेपाल चेपाङ संघ कार्यकारिणी समिति काठमाडौंले तालिम दिने तयारी गरिरहेको छ । स्थानीय तहबारे जानकार व्यक्तिको उपस्थितिमा निर्वाचित प्रतिनिधिलाई तालिम दिइनेछ । ४ जिल्लाका नगरपालिका र गाउँपालिकामा विभिन्न पार्टीबाट ११ चेपाङ वडा अध्यक्षमा निर्वाचित भएका छन् । ११ मध्ये ४ वडामा कांग्रेस, ५ मा एमाले र २ मा माओवादी केन्द्रका प्रतिनिधि विजयी भएका हुन् । जसमा चितवनको राप्तीमा २, इच्छाकामना गाउँपालिकामा २, कालिकामा १, गोरखाको लखन थापा गाउँपालिका र धादिङको गजुरी गाउँपालिकामा १/१ जना छन् ।

प्रकाशित : असार ९, २०७४ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?