कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तिलोत्तमावासीको माग - ‘सरकारी मेडिकल कलेज’

बिरामी भएर थलिँदा आफ्नो नगरमा उपचार गर्ने सरकारी अस्पताल नहुँदा निकै दु:ख र खर्च बेहोर्नुपरेको कमला थापाले गुनासो गरिन्
अमृता अनमोल

बुटवल — मौसमी रूघाखोकी र ज्वरोले थलिएकी तिलोत्तमा २ शंकरनगरकी कमला थापा गत मंगलबार बिहान छिमेकीसहित उपचारका लागि बुटवल जाने तरखरमा थिइन् । त्यसैबेला मेयर पदका उम्मेदवार वासुदेव घिमिरे र उपमेयरकी जागेश्वरी चौधरीसहितको टोली भोट माग्दै घरमा आइपुग्यो ।

कमलाले भोट माग्नेलाई ठाडै जवाफ दिइन्, ‘अबको भोट त मेडिकल कलेज बनाउनेलाई मात्रै दिने हो ।’ बिरामी भएर थलिँदा आफ्नो नगरमा उपचार गर्ने सरकारी अस्पताल नहुँदा निकै दु:ख र खर्च बेहोर्नुपरेको उनले गुनासो गरिन् ।

‘पोहोर साल मेडिकल कलेज बन्छ बन्छ भनेर पनि बनेन,’ कमलाले शंका गरिन् ‘यसपालि पनि वाचा गरेकाले नजिते बन्दैन भन्ने डर छ ।’ उम्मेदवार घिमिरेले आफूले जितेमा सबैभन्दा पहिले त्यही गर्ने भन्दै भोट दिन आग्रह गरे । घोषणापत्रकै बुँदामा लेखेको छु भन्दै उनले कमलालाई पर्चासमेत थमाए । कमलाजस्तै रूपन्देहीको तिलोत्तमाबासी धेरैले घरदैलोमा भोट माग्न जाने उम्मेदवारसित जसरी पनि सरकारीे मेडिकल कलेज बनाइदिन माग गरेका छन् ।

गत वर्ष प्रदेश नम्बर ५ स्तरीय मेडिकल कलेज बनाउने प्रस्ताव भए पनि प्रक्रिया अघि नबढेपछि चिन्तित स्थानीयले माग पूरा गर्नेलाई मात्रै भोट हाल्ने सल्लाह गरेका छन् । ‘गएको वर्ष मेडिकल कलेज बन्ने खुब हल्ला चल्यो । स्थानीय खुसी भयौं । तर के भयो बनेन ।’ तिलोत्तमा २ शंकरनगरका जगदिश भट्टराईले भने, ‘त्यसैले यो चुनावमा जसरी पनि बनाइदिनुपर्ने माग राखेका हौं ।’ टोल छिमेकमा पनि मेडिकल कलेज खोल्ने प्रक्रिया थाल्ने उम्मेदवारलाई मात्रै भोट दिने सल्लाह गरेको उनले सुनाए । रूपन्देहीको बीच भागमा रहेका आनन्दवन, शंकरनगर, मक्रहर, करहिया, गंगोलीया, टिकुलीगढ र मधौलिया गाविस मिलेर तिलोत्तमा नगरपालिका विस २०७१ मा स्थापना भएको हो ।
१७ वडा रहेको तिलोत्तमामा ६० हजार ४ सय ४० मतदाता छन् । पूर्वाधार विकास र शिक्षामा अगाडि रहे पनि स्वास्थ्यको पहुँचमा यो नगरपालिका पछाडि छ । नगरमा एउटा निजी अस्पताल र ७ वटा हेल्थपोस्ट छन् ।

सरकारी तथा सामुदायिक स्तरको अस्पताल एउटा पनि छैन । यसले नागरिक उपचारका लागि बुटवल वा भैरहवा नै जानुपर्ने वाध्यता छ । केहीले निजीबाट महँगो शुल्क तिरेर उपचार गराउनुपरेको छ । ‘यसको मारबाट बच्न पनि मतदाताले मेडिकल कलेजको माग साझा माग बनाएका छौं ।’ तिलोत्तमा मणिग्रामकी सीता ज्ञवालीले भनिन्, ‘यो दल त्यो दलभन्दा पनि माग पूरा गर्ने नेतालाई भोट दिने हो ।’

मेडिकल कलेजले तिलोत्तमामा उपचारमा सहजता मात्रै होइन शिक्षा, स्वास्थ्य र रोजगारीको ढोका खोल्ने स्थानीयको बुझाइ छ । यसैले पनि उनीहरू कतै समूह, कतै टोल विकास सस्था त कतै सामुदायिक संघसंस्थामार्फत मेडिकल कलेजको माग उम्मेदवारसामु तेर्साएका छन् । नेताहरूले बोलेको कुरा बिर्सेलान् भनेर कतिले त लिखित प्रतिबद्धता नै गराउन थालेका छन् ।
तिलोत्तमा ८ करहीयाकी गंगा बीसीले मेडिकल कलेज कुनै दल र व्यक्ति विशेषको मात्र नभई सबैको चासोको विषय भएकाले यसो गरेको बताइन् ।

‘अहिलेसम्म एमाले उम्मेदवारले लिखित प्रतिबद्धता जनाएका छन् ।’ उनले भनिन्, ‘अरू दलका उम्मेदवारले पनि मागबारे छलफल गर्ने बताएका छन् ।’ नगरमा एमाले एक्लै चुनावमा उत्रेको छ भने कांग्रेसले राष्ट्रिय जनमुक्तिसित मोर्चाबन्दी गरेको छ । प्रत्येक प्रदेशमा एक मेडिकल कलेज खोल्ने प्रावधानअनुसार गत वर्ष केपी ओली नेतृत्वको सरका तिलोत्तमा नगरपालिकाको एक र आठमा पर्ने शंकरनगर र करहिया सामुदायिक वन क्षेत्रमा दुई सय बिघा जग्गा दिने निर्णय गरेको थियो ।
गौतमबुद्ध मेडिकल कलेज नामकरण गरी वरिष्ठ चिकित्सक डा. सरोज वझाको संयोजकत्वमा प्रारम्भिक अध्ययन भएको थियो । अध्ययनले सरकारी स्तरको मेडिकल कलेजका लागि प्रस्ताव गरिएको जग्गा कलेज स्थापनाका लागि उपयुक्त रहेको ठहर गर्दै गत असोजमै शिक्षा मन्त्रालयमा प्रतिवेदनसमेत बुझाइसकेको छ । उक्त सरकार ढलेसँगै मेडिकल कलेजको प्रक्रिया भने रोकिएको छ । यसबाट चिन्तित यहाँका उद्योगी व्यवसायीहरूले समेत अबका जनप्रतिनिधिले यो काम पूरा गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : असार ९, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?