२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नाच्दै भोट माग्दै

मोहन शाही

डोटी — सधैं भाषण गरेका मात्र भेटिने सांसद भरतबहादुर खडकालाई बुधबार भने शिखर नगरपालिकावासीले छमछमी नाचेको देख्न पाए । महिला, वृद्धवृद्धा सांसद नाचेको देखेर दंग परेका छन् । सांसद खडालाई साथ दिन अर्की सांसद कल्पना सोपले पनि कम्मर मर्काइन् । महिला सांसद नाचेको देखेर महिला पनि तालमा ताल मिलाउँदै उफ्रिए ।

नाच्दै भोट माग्दै

कांग्रेसले शिखर नगरपालिकामा गरेको चुनावी सभा एकाएक सांस्कृतिक कार्यक्रमजस्तो भएको छ । आमसभाका उद्घोषक केशव बलायरले सांसदहरूसँग नाच्दै गरेका उम्मेदवारलाई देखाउँदै मतदातासँग भने, ‘जसरी नाच्दै गरेका उम्मेदवारसँग हातमा हात मिलायर नाच्नु भयो त्यसरी नै आसन्न असार १४ को निर्वाचनमा पनि मत दिनु हुनेछ भन्ने आशा कांग्रेसले गरेको छ ।’ सभा सांस्कृतिक कार्यक्रममा परिणत भएको अवसर छोपी उद्घोषकले घुमाउरो पारामा राखेको भोटको मागलाई मतदाताले सहर्ष स्विकारे । पछिल्लो समय कांग्रेसमात्र होइन, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायतले सांस्कृतिक कार्यक्रमलाई प्राथमिकतासाथ अघि सारेर मत माग्ने रणनीति बनाएका छन् । ‘सांस्कृतिक प्रस्तुति भयो भने मतदाताको उपस्थिति बाक्लो हुने रहेछ,’ एमाले बोगटान गाउँपालिकाका उम्मेदवार टेकबहादुर बमले भने, ‘त्यसैले चर्चित कलाकारहरू नै झिकाएर नाच्दै गाउँदै भोट मागिरहेका छौं ।’
एमालेले डोटीका चर्चित देउडा गायक सुरही बिरही साउदको समूहलाई सँगै लिएर हिँडेको छ । कांग्रेसले देउडा स्वर सम्राटको उपाधि पाएका गायक भुवन दाहाल, सुरत रावल ‘डोटेली कान्छा’ को समूह साथमा लिएर भोट माग्न थालेको छ । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले पनि पार्टी आबद्ध स्थानीय कलाकारलाई सभामा उपस्थित गराएका छन् ।

नेपाल सांस्कृतिक संघका केन्द्रिय सदस्य तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुदूरपश्चिम संयोजक सुरत रावतले भने, ‘मतदाताको मन रिझाउन भाषणमात्र पर्याप्त छैन, उनीहरूसँगै रमाउँदै नाच्नु पनि पर्छ ।’ उनी सभामा भाषणलाई मात्र प्राथमिकता दिँदा मतदातालाई पट्यार लाग्ने भएकाले सबै दलले सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिएको बताउँछन् । पूर्वी चौकी गाउँपालिकामा अध्यक्षका उम्मेदवार रामप्रसाद उपाध्याय आफूहरूले पनि मतदाताको मन रिझाउन विभिन्न उपाय अपनाइरहेको बताए । ‘घरदैलो तीन चरणमा सकिसक्यौं,’ उपाध्यायले भने, ‘आफ्ना चुनावी एजेन्डा, घोषणपत्रबारे जानकारी भाषणमार्फत भन्दा नाच्दै गाउँदै गर्दा प्रभावकारी हुने रहेछ ।’

विभिन्न दलहरूले आफ्ना छुट्टाछुट्टै गीतसमेत तयार गरेका छन् । मतदाताको मन जित्न स्थानीय डोटेली भाषामा समेत तयार गरिएका गीत बजायर कार्यकर्ता नाच्दै गाउँदै घरदैलो, र्‍याली, सभामा सहभागी भएका छन् । ‘पार्टीका गीत प्राय: युवापुस्ताले माग गरेका छन्,’ माओवादी केन्द्रबाट दिपायल सिलगडी नगरपालिका २ का वडाअध्यक्ष उम्मेदवार गोपाल सुचीकारले भने, ‘दोहोर्‍याइ–तेहर्‍याइ आवश्यकताअनुसार पनि बजाउन सकिने भएकाले रेकर्डेट चुनावी गीत गाउँघरमा गुन्जिएका छन् ।’

चुनावभरि मदिरा निषेध
अछाम– सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा स्थानीय तहको निर्वाचनभर मदिरा किनबेचमा स्थानीय प्रशासनले रोक लगाएको छ । चार वर्षदेखि खुला रूपमा बेचबिखन हुँदै आए पनि चुनावको बेला जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिराजन्य पदार्थ बेचबिक्रीमा रोक लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजनीतिक दल, स्थानीय प्रशासन, नागरिक समाज, सामाजिक संघसंस्थाबीचको समझदारीअनुसार निर्वाचनलाई असर पुर्‍याउने गतिविधि नियन्त्रण गर्न लागिएको हो । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा गराउन सरोकारवालाको प्रतिबद्धताअनुसार मदिरा निषेध गरिएको जिल्ला प्रहरी प्रमुख निरञ्जनदत्त भट्टले बताए ।

प्रहरीले सदरमुकामका होटलहरूमा असार ४ देखि मदिरा बिक्री नगर्न निर्देशन दिएको छ । शंका लागेका होटलमा जुनसुकै समय अनुगमन गर्न सक्ने पनि स्पष्ट पारेको छ । अछाममा ४७ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । १२९ मतदानस्थल र १८५ केन्द्र रहेको अछाममा ६६ मतदानस्थल संवेदनशील र १६ सामान्य रहेको जनाइएको छ । निर्वाचन लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

प्रकाशित : असार ९, २०७४ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?