२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जनप्रतिनिधि चुनिएपछि उल्लास

भरतपुर ब्युरो

भरतपुर — नवलपरासीको पाल्हीनन्दन गाउँपालिका कुस्मास्थित सिद्धार्थ माविको मूलगेटमा केही युवा माला, रंग र ब्यान्डबाजा लिएर तम्तयार थिए ।

जनप्रतिनिधि चुनिएपछि उल्लास

उनिहरू आफ्नो वडाको मतपरिणाम पर्खिंदै थिए । एकैछिनमा उक्त गाउँपालिका १ मा नयाँ शक्ति र संघीय समाजवादी फोरम गठबन्धनका वडाध्यक्षका उम्मेदवार लल्लन यादव विजयी भएर निस्केलगत्तै अबिरजात्रा सुरु भयो । मतपरिणाम आउन थालेसँगै मधेसमा उत्साह बढेको छ । यहाँ बिहीबार साँझ वडा–वडामा विजयी उम्मेदवारलाई बाजागाजासहित गाउँ/नगर परिक्रमा गराइएको छ । गणनास्थल बाहिर युवाले ब्यान्डबाजा बजाउन थालेपछि नाचगान सुरु भयो । चुनाव बहिष्कारमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) को प्रभाव रहेको दाबी गरिएका क्षेत्रमा विजयोत्सव मनाइयो । गणनास्थलमा भेटिएका पाल्हीनन्दन १ का नन्दु चमार लामो समयपछि वडाध्यक्ष प्राप्त गरेपछि हर्षित देखिए । यहाँका अधिकांश सीमावर्ती बासिन्दाको जीवनस्तर कष्टकर छ । उनीहरू मजदुरीमा निर्भर छन् । यहाँका गाउँमा विकास निर्माण शून्य छ । सामाजिकरूपमा समेत पिछडिएकाले नयाँ जनप्रतिनिधिले आफ्नो भावना बुझ्ने आशा स्थानीय बासिन्दामा छ । 
यहाँ बिहीबार विजयी कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत अन्य दलका उम्मेदवारलाई समेत स्थानीयले अबिरजात्रा गरेर बस्ती घुमाए । ‘अहिले मधेसमा पर्व आएको छ, सबै मतदाताले उत्साही भएर जनप्रतिनिधि चुने,’ जितेन्द्र चौधरीले भने । प्रमुख तीन दलबाहेक संघीय समाजवादी फोरम, नयाँ शक्ति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संयुक्त गठबन्धन बनाएर जिल्लाका गाउँपालिका र नगरपालिकामा चुनावी मैदानमा उत्रिएका छन् ।

परिणाम सुन्न आतुर
दुई दशकपछि स्थानीय निर्वाचनमार्फत जनप्रतिनिधि छान्न पाउँदा रूपन्देहीको सिद्धार्थनगरका बासिन्दा खुसी देखिएका छन् । गर्मीको परवाह नगरी गणनास्थल आसपास झुम्मिएका उनीहरू व्यवस्थित रूपमा सूचना नपाउँदा भने दु:खी थिए । ‘तपाईं भित्रबाट निस्किनुभएको हो ? लौ न कसले के कति मत ल्याएका छन् ? बताइदिनुस् न,’ गणनास्थलबाट निस्किने जोकसैलाई उनीहरू सोधिरहेका थिए ।
‘मतगणना सुरु भएदेखि नै बाहिर रहेका सर्वसाधारणलाई समयसमयमा ताजा जानकारी गराउनुपर्छ भन्ने सोच सम्बन्धित निकायमा देखिएन,’ घामले असिनपसिन भएका एक सर्वसधारणले भने । मतगणनाको परिणाम अति ढिलो र पुरानो तथ्यांक दिने गरिएको, मत परिणामको सूचना माइकिङबाट दिइए पनि त्यसको समय निश्चित नरहेको, परिणाम सुनाइँदा कति मत गनिएको हो भन्ने नखुलाइने गरेको उनको गुनासो छ । मतगणनास्थलमा आउने सर्वसाधारणलाई बस्ने स्थान, सवारी पार्किङ, खानेपानीको समेत अभाव छ । मुख्य निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठ भने वडा–वडाको मत परिणाम आएपछि मात्रै सूचना सार्वजनिक गर्न निर्देशन रहे पनि सर्वसाधारणको बढदो उत्सुकतालाई देखेर मतपरिणाम छिटोछिटो सार्वजनिक गरिने बताउँछन् । ‘अब २/२ सय मत गणना भएपछि माइकिङ गराउने पक्षमा छु,’ उनले भने ।



मर्चवारमा कांग्रेस अगाडि
राजपाको पकड क्षेत्र मानिएको मर्चवार क्षेत्रमा बिहीबार राति पौने ९ बजेसम्मको मतपरिणामले कांग्रेस अग्रस्थानमा देखिएको छ । समरीमाई, मायादेवी, मर्चवारी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । समरीमाई–१ को वडाध्यक्षमा कांग्रेसका विनोद श्रीवास्तवसहित प्यानलै विजयी भएको छ । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार तेस्रोमा रहे । मर्चवार क्षेत्रमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम दोस्रोमा छ । राजपाका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले पार्टीले निर्वाचनमा भाग लिने/नलिने भन्ने अन्योल रहेको र भाग नलिने निश्चित भएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्यकर्ताले मात्र प्रचार प्रसारको अवधि पाएको बताए । ‘उनीहरूलाई प्रचारप्रसार गर्ने अवधि निकै कम भयो भने एउटै चुनाव चिह्न नपाउनुले पनि समस्या पार्‍यो,’ उनले भने, ‘तैपनि केही स्थानमा विजय प्राप्त हुनेमा आशावादी छौं ।’ पार्टीले आन्दोलन भन्दै चुनावको तयारी नगरे पनि राजपाका कार्यकर्ता सहभागी हुनु ठूलो कुरा भएको शुक्लको भनाइ छ । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने राजपाका तर्फबाट मेयरमा स्वतन्त्र उमेदवारी दिएका मनमोहन चौधरी अगाडि देखिएका छन् ।

मतपरिणाम धमाधम 
प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रका तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना जारी छ । बिहीबार साँझ ८ बजेसम्म कांग्रेसले तीनवटा वडामा अध्यक्ष जितेको छ । एमालेले ५, संघीय फोरमको गठबन्धनले ३, राप्रपा १ र माओवादी केन्द्रले एउटा वडामा जित हासिल गरेका छन् । रामग्राम नगरपालिका २ र ३ मा कांग्रेसका चण्डिका यादव र हरि उपाध्याय विजयी भए । 
रामग्रामकै १ नम्बर वडामा राप्रपाका रुद्रप्रकाश उपाध्यायले जित हासिल गरेका छन् । राप्रपाका केन्द्रीय महामन्त्री ध्रुवबहादुर प्रधानको वडामा राप्रपाले खाता खोलेको हो । एमाले सुनवल नगरपालिका १, २, बर्दघाट नगरपालिका १, ३ र प्रतापपुर गाउँपालिका २ मा विजयी भयो । संघीय फोरमको गठबन्धनले पाल्हीनन्दन १, सरावल १ र माओवादीले प्रतापपुर गाउँपालिका ३ मा खाता खोलेको हो । २ देखि तीन स्थानमा गणना गरिएकाले आइतबारसम्ममा ७ स्थानीय तहको नतिजा आउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उच्च सुरक्षाका बीच मतगणना कार्य जारी छ । 

गणना शान्तिपूर्ण
कपिलवस्तुमा बिहीबार बिहान मत गणना सुरु भएको छ । विहान ८ बजेबाट गणना थालिएको शिवराज नगरपालिकामा साँझ अबेरसम्म १ हजार ५ सय मत गनिएको थियो । जिल्लामा गणना ढिलो भइरहेको गुनासो छ । एक स्थानीय निकायको चार–चार ठाउँमा गणना गर्ने भनिए पनि कार्यान्वयन त्यस्तो देखिँदैन । शुक्रबारबाट सबैतिर चार–चार ठाउँ मतगणना गरिने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरेले बताए । सर्वदलीय सहमति जुटाउने क्रममा केही स्थानमा बिहान १० बजे र कतै दिउँसो गणना सुरु भएको थियो । कपिलवस्तु नगरपालिका, शुद्धोदन र मायादेवी गाउँपालिकाको गणना दिउँसो २ बजेबाट सुरु भयो । साँझ साढे ८ बजेसम्म जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानमा कांग्रेस अग्रस्थानमा थियो । त्यस्तै एमाले २, माओवादी केन्द्र १, संघीय समाजवादी फोरम १, राप्रपा १ र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता हासिल गरेका थिए । वाणगंगा र कपिलवस्तु नगरपालिका मेयरमा कांग्रेस अग्रस्थानमा छ । 

पुनर्गणना
कपिलवस्तु नगरपालिकामा २ मत पुनर्गणना गरिएको छ । खुला वडा सदस्य पदमा कुनै दुई ठाउँमा स्वस्तिक चिह्न लगाउनुपर्नेमा प्रमुख निर्वाचन अधिकृतले एकै लाइनमा दुई ठाउँमा चिह्न लगाएकालाई मात्र सदर भनेपछि विवाद भएको थियो । सबै दलका प्रतिनिधिले जुनसुकै दुई ठाउँमा स्वस्तिक चिह्न लगाएको भए पनि सदर गर्नुपर्ने माग राखेका थिए । पछि दलका प्रतिनिधिले भनेअनुसार गर्ने सहमतिमा पुन: गणना भएको थियो । 

(नवीन पौडेल/नवलपरासी, माधव ढुंगाना/रूपन्देही, मनोज पौडेल/कपिलवस्तु)

प्रकाशित : असार १६, २०७४ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?