२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोरङको मतगणनाको रोचक पक्ष

जितेन्द्र साह

विराटनगर — मोरङको सदरमुकाम विराटनगरलगायत विभिन्न नगर एवं गाउँपालिकामा सुरुवाती चरणमा मत गणना सुस्त देखिए पनि दलबीच किचलो भने भएन । आदर्श माध्यमिक विद्यालय परिसरमा अन्तिम गणना चलिरहेकै बेला प्रतिस्पर्धी दलका उम्मेदवारले सहर्ष हार स्वीकारेर एक अर्कालाई बधाई दिइरहेको देखिन्थ्यो । गुट-गुटमा बसेर उम्मेदवारहरुले हारको कारण र भावी रणनीतिबारे छलफल गरिरहेका भेटिन्थे ।

मोरङको मतगणनाको रोचक पक्ष

यहाँ १५ असार बेलुकी साढे चार बजेबाट मत गन्न सुरु गरिएको थियो । प्रमुख पदहरुमा भारी मतान्तरले कांग्रेसले जिते पनि १९ वडामध्ये ७ मा मात्र कांग्रेस, ६ वटामा संघीय समाजवादी फोरम, ३ वटामा एमाले, एक वटामा माओवादी र २ वटामा स्वतन्त्र उम्मेदवारले जित्यो । १९ नम्बर वडामा कांग्रेसका बागी उम्मेदवारको प्यानलै जित्यो । यहाँ कांग्रेसले वडाध्यक्षमा अरुलाई उठाएपछि सदस्य पदका ४ आधिकरिक उम्मेदवारले पनि दलको टिकट परित्याग गरी वडाध्यक्षमा उठेका बागी उम्मेदवारको पक्षमा उभिएका थिए ।

१० नम्बरको वडाध्यक्षमा एमालेको बागी उम्मेदवार र चार सदस्य पदमा कांग्रेस विजयी भयो । यहाँ एमालेले वडा समितिबाट सिफारिस भएकालाई उपेक्षा गर्दै अन्यलाई टिकट दिएपछि बागी उम्मेदवार उठेका थिए । कांग्रेसबाट दलित महिला सदस्य पदमा उठाइएकी २१ वर्षीया पिंकी पासवानले विराटनगर ९ मा सबैभन्दा बढी ९ सय ७ मत प्राप्त गरेर जितिन् । उनले विजयी वडाध्यक्ष भन्दा १ सय ८४ मत बढी पाएकी छन् । श्रमिककी छोरी पासवान बालअधिकार अभियानमा सक्रिय छिन् । भर्खरै माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेकी उनी पढाइबाट बचेको समयमा स्थानीय गुद्री हाटमा तरकारी बेच्छिन् ।

हिन्दु बहुल मोरङको धनपालथान गाउँपालिकाको उपाध्यक्षमा मुस्लिम समुदायकी नसिमा बानो विजयी भएकी छन् । कांग्रेसबाट टिकट पाएकी उनले हिन्दु समुदायको समेत मायाका कारणले उठेको हुनाले जितप्रति पहिलेदेखि ढुक्क रहेको बताएकी छन् । यहाँ मुस्लिमको पनि राम्रै बसोबास छ । पहिलाको दादरबैरिया, सोराभाग, अमाहिवरियाती, नोचा र कदमाहा गाविस समावेश गरेर यो गाउँपालिका निर्माण भएको हो ।

मोरङको बेलबारी नगरपालिकामा एमाले नेतृ, शिक्षक एवं चर्चित युवाकवि ढाका (तारा) कुमारी पराजुली उपप्रमुखमा विजयी भएकी छन् । स्वच्छ छविकी पराजुली जनस्तरमै सर्वाधिक लोकप्रिय अनुहार पनि हुन् ।

रंगेली नगरपालिकाबाट उपप्रमुखमा विजयी माओवादी केन्द्रकी केशवकुमारी खराल स्वास्थ्य स्वयंसेविका एवं सामाजिक कार्यकर्ता हुन् । मधेसी बहुल रंगेलीमा स्थानीय निकायमा उच्च पदमा पुग्ने पहाडी मुलकी उनी पहिलो महिला भएकी छन् । उल्लेखनीय के छ भने माओवादी केन्द्रले मोरङको यही एकमात्र नगरपालिकामा प्रमुख एवं प्रमुख हात पारेको छ ।

विराटनगर १२ को महिला वडा सदस्यमा जित्ने झुमा पोखरेल पाठक र झापाको मेची नगरपालिकाको उपप्रमुखमा विजयी मीना पोखरेल उप्रेती सहोदर दिदी बहिनी हुन् । दुवै एमालेबाट उठेका थिए । संवैधानिक प्रावधानका कारण मोरङमा पनि उल्लेखीय संख्यामा महिला र दलित जनप्रतिनिधिको रुपमा चुनिए । ‘बाजेको पालादेखि कांग्रेस पार्टीमा आवद्ध छु तर टिकट पाएर चुनाव जितेको पहिलो पटक हो,’ विराटनगर ८ बाट विजयी दलित सदस्य सेवकीदेवी पासवानले भनिन्, ‘प्रमुख दायित्व वडाको विकास हो ।’ उनी दलित महिला सदस्य पदका पाँच उम्मेदवारलाई उछिनेर जितिन् ।

मोरङमा उपप्रमुख पदमा १० जना जनजाति, दलित, आदिवासी र मुस्लिम महिला विजयी भएका छन् । उनीहरु स्वास्थ्य स्वयंसेविका, राजनीतिक, सामाजिक कार्यकर्ता र गृहिणी हुन् । अतिपिछडिएको जाती मानिने बाँतर समुदायकी सामान्य गृहिणी मञ्जिता सरदार मोरङको कटहरी गाउँपालिकाको उपाध्यक्ष बनेकी छन् । कांग्रेसबाट टिकट पाएकी उनी स्थानीय तहको चुनावमा पूर्वको तीनवटै जिल्ला मोरङ, सुनसरी र झापामा दलित समुदायबाट यति ठूलो पदमा पुग्ने पहिलो महिला हुन् । उनीहरु सबैले स्थानीय विकाससँगै महिला सम्बद्ध मुद्दामा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

मतगणनास्थल पनि यहाँ सुरुदेखि रोचक गतिविधिसँगै चर्चामा रह्यो । राजधानीस्थित निर्वाचन आयोग कार्यालयबाट गत सोमबार बेलुकीसम्म अधिकृतस्तरका कर्मचारीहरु नआउन्जेल विराटनगरको मतगणना सुस्त रहेको थियो । निद्रा लाग्यो भन्दै भोट गन्न छाडेर कर्मचारी र उम्मेदवारका प्रतिनिधि मुख्य निर्वाचन अधिकृतलाई खबरै नगरी हिँड्थे । अनि नित्यकर्मका लागि बिहान ५ बजे निस्केका कर्मचारी एवं प्रतिनिधि बिहान ९ बजेसम्म फर्केर नआउने गरेको देखियो । उनीहरु रातिपख लामखुट्टेले सतायो भन्दै बाहिर हावा खान निस्कन्थे ।

गत सोमबार साताभरिमा गणना सक्ने आयोगको कडा निर्देशनपछि कर्मचारी त सक्रिय भए तर उम्मेदवारका प्रतिनिधिहरुको उही मस्त ताल रहेको थियो । अन्तिम गणना चलिरहेको बेला चियाखाजाकालागि बाहिर निस्केका दलका प्रतिनिधिहरुलाई मतगणना अधिकृतले पटकपटक माइकिंग गरीगरी उपस्थित हुनलाई अनुरोध गरिरहेको सुनिन्थ्यो । उनीहरु भने बोलाहट आयो भन्दै चियाको चुस्की एवं पान चपाउँदै बसिरहेका हुन्थे ।

‘सुरुवाती गणनाले एक महिनामा पनि नसकिएला भन्ने चिन्ता बढाएको थियो, आयोगका कर्मचारीको आवागमनपछि गति लियो,’ उक्त विद्यालयका प्राचार्य दूर्गाप्रसाद चूँडालले भने,‘अन्यत्रजस्तो विवाद नहुनु र सबै समस्याको समाधान छलफलबाट खोजिनु यहाँको सुखद पक्ष रह्यो ।’

मतगणना सकिएसँगै उक्त विद्यालय पनि आर्थिक वर्षको समापनसम्बन्धी हिसाबकिताब एवं नियमित पठन पाठनको तयारीमा जुटिसकेको छ । मतपेटिका भने अझैं विद्यालयको वरन्डामा राखिएको हुनाले सुरक्षाकर्मीको पहरा कायमै छ । ती मतपेटिकाहरुलाई दोहोर्‍याएर मतदानकै लागि प्रयोग गर्न नमिल्ने रहेछ । ती बाकसहरुलाई बिरुवा रोप्न र फोहोर फाल्ने भाडो बनाउन सकिने हुनाले उक्त विद्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग यही छाडिदिन आग्रह पनि गरेको छ ।

प्रकाशित : असार २८, २०७४ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?