२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

द्वन्द्वले एक्लिएकी महिला बनिन् जनप्रतिनिधि

रोल्पा — द्वन्द्वको समयमा पति गुमाएकी धबाङकी धनमाया पुन रोल्पा नगरपालिका–१० बाट वडा सदस्यमा निर्वाचित भएकी छन् । माओवादी पृष्ठभूमिकी धनमाया कांग्रेसबाट निर्वाचित भएकी हुन् । १५ वर्षसम्म माओवादी राजनीतिमा लागेकी उनी कांग्रेसबाट जनप्रतिनिधि बनिन् ।

द्वन्द्वले एक्लिएकी महिला बनिन् जनप्रतिनिधि

माओवादी राजनीतिमा लागेका उनका पति गंगालाल पुन: सुरक्षा फौजको आक्रमणमा २०५८ मा मारिएका थिए । पति मारिएको अर्को वर्ष उनी माओवादी बनेर भूमिगत भइन् । गंगालाल एरिया कमिटी इन्चार्ज थिए । पतिको सपना पूरा गर्न उतिबेला माओवादीमा लागेको उनी बताउँछिन् । धनमाया ०७३ मा माओवादी छाडेर कांग्रेस प्रवेश गरिन् ।

पार्टीभित्र सोझा कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेपछि पार्टी छाड्नुपरेको उनको भनाइ छ । गाउँघरमा समाजसेवीका रूपमा परिचय बनाइसकेकी धनमायाले गाउँको विकासका लागि आफू सधैं प्रतिबद्ध रहने बताइन् । धनमायालाई कांग्रेस प्रवेश गराएका वडा नं. १० का वडा अध्यक्ष मानबहादुर खत्रीले उनको स्वयंसेवी सोचाइका कारण वडा सदस्य निर्वाचित भएको बताए । उनका चार सन्तानमध्ये तीन छोरा साउदी, मलेसिया र दुबईमा छन् ।

छोरीको बिहे भइसकेको छ । श्रीमानको मृत्युपछि सन्तानलाई हुर्काउन निकै दु:ख गर्नुपरेको बताउँदै धनमायाले सबैलाई शिक्षा दिने चाहना हुँदाहुँदै परिस्थितिले साथ नदिएको दुखेसो पोखिन् ।

गाउँघरमा महिलाका समस्या ज्यादै रहेको र लैङ्गिक विभेदले समाजलाई अघि बढ्न नदिएको निष्कर्ष निकाल्दै धनमायाले सडक, सञ्चार, शिक्षा र स्वास्थ्यको विकासले समाजलाई अघि बढाउन सकिने सुनाइन् । उनी भन्छिन्, ‘अब म यही समाजलाई बदल्न लागिपर्छु ।’ विकासले समाजलाई बदल्न सकिने उनको ठहर छ ।

प्रकाशित : असार ३१, २०७४ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?