सेलायो चुनावी चर्चा

अमन कोइराला

सर्लाही — स्थानीय चुनाव हुन बाँकी प्रदेश २ मा केही दिनयता गर्मी बढे पनि राजनीतिक माहोल भने सेलाएको छ । उम्मेदवारी टिकट पाइसकेका र आकांक्षीहरू मौन बसेका छन् । यहाँ तेस्रो चरणका लागि असोज २ गतेलाई चुनाव तोकिए पनि हुने/नहुनेमा मतदाता अन्योलमा छन् ।

सेलायो चुनावी चर्चा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनावमा जाने घोषणा नगरुन्जेल अन्योल कायम रहने अवस्था छ । सबैको आ–आफ्नै विश्लेषण र अनुमान देखिन्छ । अधिकार प्राप्तिपछि मात्र निर्वाचन भन्दै आन्दोलित राजपाका नेता पनि चुनावको वातावरण बन्नेमा ढुक्क छैनन् । सत्तारूढ गठबन्धन, एमाले र राजपाबीच सहमतिले मात्र चुनाव निश्चित हुने धेरैको बुझाइ छ । राजपालाई मिलाउनकै लागि २ नम्बरमा तेस्रो चरणमा चुनाव गर्ने निर्णय भएको थियो । जनचाहना नबुझी राजनीतिक निर्णयका आधारमा चुनाव सारिँदा अन्योल अझ बढेको छ ।

‘चुनाव हुनुपर्छ भन्नेमा दुईमत नै छैन,’ धनगढाका किसान लक्ष्मण रायले भने, ‘नेताको आफ्नै स्वार्थ हुन सक्छ । छिटोभन्दा छिटो विवाद मिलाएर सबैलाई निर्वाचनमा सहभागी गराउनुपर्छ । स्थानीय चुनाव त गाउँका जनताका लागि हो ।’ दोस्रो चरणकै बेला कतिपय दलले यहाँ टिकटसमेत दिइसकेका थिए । आकांक्षीहरू पनि प्रतिस्पर्धामा थिए । कांग्रेसले भने अहिलेसम्म जिल्लाका कुनै स्थानमा उम्मेदवार तय गरेको छैन ।

दोस्रो चरणमा टिकटका लागि नेताकहाँ निकै पटक धाएकाहरू चुनाव सरेपछि असोजमा पनि हुनेमा ढुक्क छैनन् । टिकट पाउँदा पनि प्रचार अवधि लम्बिँदा खर्च बढ्ने देखेर उनीहरू सुस्ताएका हुन् । ‘टिकट लिनै खर्चिलो भयो,’ कांग्रेसका एक उमेदवार आकांक्षीले भने, ‘टिकट दिलाइदिन्छु भन्दै दैनिक खर्च गराइरहेका छन् । टिकट पाएपछि जित्नका लागि फेरि खर्च गर्नैपर्‍यो । त्यसैले सुस्ताएर बस्नुपर्ने बाध्यता भो ।’

राजपाका नेता एवं पूर्वसभासद शिवपूजन यादवले चुनावी चर्चा एकाएक सेलाएको बताए । बारम्बार चुनाव सर्दा नेता/कार्यकर्तामा शिथिलता आएको उनको भनाइ छ । ‘राजपा चुनावमा आउने घोषणा नहुन्जेल चुनावी चर्चा शिथिल नै रहन्छ,’ उनले भने, ‘पहिले जसरी चर्चा चुलिएको थियो, अहिले एक्कासि आकाशबाट झरेजस्तै भयो ।’ उनले नेता र जनता दुवै स्थानीय चुनावको पक्षमा रहेको तर त्यसअघि संविधान संशोधन गरेर वातवरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : श्रावण १, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?