स्थानीयमा सुरु भयो कर्मचारी समायोजन

भवानी भट्ट

कञ्चनपुर — स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै स्थानीय तहमा कर्मचारी समायोजन पनि सुरु भएको छ । विभिन्न कार्यालयका कर्मचारीहरू नगरपालिका र गाउँपालिका मातहतमा आउन थालेका छन् ।

स्थानीयमा सुरु भयो कर्मचारी समायोजन

पहिलो चरणमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका कर्मचारीहरू जिल्लाका सबै स्थानीय तहमा पुगिसकेका छन् । उनीहरू विषयगत क्षेत्रका लागि स्थानीय तहमा परिषदका लागि योजना बनाउने तथा बजेट बाँडफाँडका लागि आवश्यक सुझाव दिने र सहयोग गर्ने काममा खटिएका छन् । ‘जनप्रतिनिधिले पदभार ग्रहण गरेसँगै हामीहरू प्नि नगरपालिकामै आएका छौं,’ जिल्ला जनस्वास्थ्य कार्यालयबाट भीमदत्त नगरपालिकामा खटाइएका स्वास्थ्यकर्मी पंकज रावलले भने, ‘अहिले नगरपालिकामै काम गरिरहेका छौं, आवश्यकता परे स्वास्थ्य चौकी वा जनस्वास्थ्यमा पनि जान्छौं ।’ उनका अनुसार भीमदत्त नगरपालिकामा जनस्वास्थ्यबाट २ र अञ्चल आयुर्वेदिक औषधालयबाट १ जना कर्मचारी आएका छन् । यसैगरी महाकाली नगरपालिकामा पनि २ जना स्वास्थ्यकर्मीहरू काम गर्न थालेका छन् । उनीहरू पनि जनप्रतिनिधिले काम सुरु गरेसँगै नगरपालिकामा हाजिर हुन थालेका हुन् । ‘स्वास्थ्यका २ जना कर्मचारी आएका छन्,’ महाकाली नगरपालिकाका सव इन्जिनियर रघुनाथ भट्टले भने, ‘शिक्षाबाट पनि २ जना कर्मचारी आउने कुरा थियो, तर अहिलेसम्म आएका छैनन् ।’

स्वास्थ्यका कर्मचारी विभिन्न तहमा हाजिर भए पनि सबै कर्मचारी समायोजनमा समस्या देखिने विभिन्न कार्यालयका कर्मचारीहरू बताउँछन् । खासगरि वरिष्ठता, क्षेत्र रोजाइ र भौतिक संरचनाका कारण समायोजनमा समस्या देखिने कर्मचारीहरू बताउँछन् । भौतिक संरचना अभावले विभिन्न विषयगत शाखाका कर्मचारीलाई बस्नसमेत समस्या हुने देखिन्छ । कतिपयले अवकाश पाउने अवस्थामा रहेका कर्मचारीलाई सरकारले स्वैच्छिक अवकाशको व्यवस्था गरेर बाँकीलाई समायोजन गरिनुपर्ने बताएका छन् ।

‘प्राय:जसो कर्मचारीको रोजाइ सदरमुकाममै हुन्छ, यसको व्यवस्थापन कसरी गर्ने’ भीमदत्त नगरपालिकाका कार्यकारी अधिकृत रमेश गौतमले भने, ‘त्यसपछि विषयगत शाखाका लागि स्थानीय तहमा भौतिक संरचनाको अभाव छ ।’ उनले कर्मचारी समायोजनसंगै भौतिक व्यवस्थापन र सञ्चालन जटिल रहेको बताए । उनका अनुसार अहिले १ सय १० जना कर्मचारी रहेको भीमदत्त नगरपालिकामा समयोजनपछि २ सय बढी नाघ्ने देखिन्छ ।

प्रकाशित : श्रावण १, २०७४ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?