१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चुनावमा अन्तर्घात गरेको आरोपमा कांग्रेस सांसदसहित २१ जना कारबाहीमा

हरि गौतम

रुकुम — स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेसले पूर्वराज्य मन्त्री तथा सांसद मीठु मल्लसहित २१ जना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

चुनावमा अन्तर्घात गरेको आरोपमा कांग्रेस सांसदसहित २१ जना कारबाहीमा

स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारीसहितको भेलाले सांसद मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ भने १४ जनालाई थप स्पस्टीकरण मागेको छ । जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीबाट निस्कासन गरिएको हो ।
 
पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो । तीमध्ये चार जनाले मात्रै लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरुलाई सफाई दिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए ।

पार्टीको जिम्मेवार पदमा रही पार्टी हितविपरीतको काम गरी स्पस्टीकरण समेत नदिनेहरुको सदस्यता खारेजको लागि जिल्ला कार्य समितिमा सिफारिस गरेको र त्यसै अनुसार कारबाही भएको संयोजक डाँगीले बताए । उनका अनुसार सांसद मल्लको सदस्यता खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ भने अन्य ६ जनाको जिल्ला कार्य समितिले नै सदस्यता खारेज गरिदिएको छ । 

सांसद मल्लको हकमा जिल्ला पार्टीले साधारण सदस्यता खारेज गर्न नमिल्ने भएकाले सदस्यता खारेजका लागि केन्द्रमा सिफारिस गरिएको र जिल्लामा रहेको पार्टीको सबै भूमिकाबाट निलम्बित गरिएको छ । 

थप स्पस्टीकरण सोधिएका १४ जनाले ३ दिन भित्र जिल्ला कार्य समितिलाई लिखित स्पष्टीकरण दिनुपर्ने छ । उनीहरुको स्पस्टीकरणको आधारमा आवश्यक कारबाही गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको छ । 

सांसद मीठु मल्ल १ नम्वर क्षेत्रीय सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसीकोट नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराउनमा भूमिका खेलेको आरोप लगाइएको छ । 

यसैगरी जिल्ला सचिव जनक चन्दलाई बाँफिकोट गाउँपालिका-१० नम्वर वडाध्यक्ष सहितका उम्मेदवारलाई हराएको आरोप छ । क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्यलाई पार्टीको अनुशासन उल्लंघन तथा चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार बलवीर गोसाईलाई हराउन सहयोगी भएको आरोप छ । 

प्रकाशित : श्रावण २४, २०७४ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?