काठमाडौंमै करिब ६० हजारले नयाँ मतदाता नामदर्ता गराए

काठमाडौं — सिन्धुपाञ्चोक तातोपानीका जाङ्गु लामाले बबरमहलस्थित क्षेत्रीय निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली संकलन केन्द्रमा गई फोटोसहितको मतदान परिचय पत्रमा नाम दर्ता गराए ।

काठमाडौंमै करिब ६० हजारले नयाँ मतदाता नामदर्ता गराए

पहिलोपटक फोटोसहित नामावलीमा नाम दर्ता गराएपछि उहाँ अब हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । 

काठमाडौँ बस्दै आएकी गोरखा तान्द्राङकी मायादेवी खनालले गोरखामा रहेको आफ्नो मतदाता नामावली यहाँ सारिन् । जाङ्गु र मायादेवीजस्ता मतदाता नामावलीमा नाम छुटेका, नामावली सार्ने र नामावलीमा त्रुटि भएकाले नाम दर्ता गराउने, नामावली सार्ने र त्रुटि सच्याउने कार्य गरिरहेका छन् । 

अहिले काठमाडौँमा रहेका तीन संकलन केन्द्रबाट आगामी सङ्घ र प्रदेश निर्वाचनका लागि देशभरिका मतदान गर्न योग्य नागरिकको नाम दर्ता, ठाउँ सार्ने र त्रुटि सच्याउने कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख चन्द्र गौतमले बताए । उनले ती ठाउँमा अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि भीड नै लाग्ने गरेको बताए । 

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय, बबरमहलस्थित जिल्ला समन्वय समिति र राष्ट्रिय सभागृहमा मतदान नामावलीमा छुट भएका नागरिकले गई फोटोसहितको मतदाता परिचय पत्र बनाइरहेका छन् । तीबाहेक साउन १६ गतेदेखि काठमाडौँ जिल्लाका १० नगरपालिकाबाट मतदाता परिचय पत्र बनाइरहेका छन् । 

जिल्ला समन्वय समितिमा ११ वटा स्थान र सभागृहमा १० वटा स्थानमा फोटोसहितको नामावली संकलन गर्ने कार्य भइरहेको छ । 

बबरमहलस्थित संकलन केन्द्रमा खट्नुभएका कार्यालयका अधिकृत शान्ति बोगटीले फोटोसहितको नामावली दर्ताका लागि सर्वसाधारणको भीड रहेको बताउनुभयो । उहाँले दैनिक करिब एक हजार पाँचसय मतदाताको नाम दर्ता गर्ने कार्य भइरहेको बताए । 

केन्द्रमा १७ जना कर्मचारीले बिहान ७ देखि साँझ ६ बजेसम्म फोटोसहितको नामावली दर्ता गराउने गराउँछन् । उनका अनुसार सबभन्दा बढी रामेछाप, सिन्धुली, सिन्धुपाञ्चोक, बारा, पर्सा, सर्लाही जिल्लाका अधिकांश मानिस मतदाता नामावलीमा नाम दर्ता गराउन आएका छन् । उनले दुईदेखि पाँच मिनेटभित्रमा फोटोसहितको नामावली दर्ता गराउने गरेको बताइन् । 

अहिलेसम्म काठमाडौँस्थित सो केन्द्रमा करिब ६० हजारले नाम दर्ता गराएका छन् । तीमध्ये ४२ हजार काठमाडौँ बाहिरका जिल्लाका रहेको गौतमले बताए । उहाँका अनुसार दुई हजार पाँचजनाको ठाउँसारी र पाँचसयजनाको त्रुटि सच्याउने काम सम्पन्न भएको छ । 

साउन १ गतेदेखि मसान्तसम्म केन्द्रबाट नामावली संकलन भइरहेको छ भने साउन १६ गतेदेखि भने देशभरिका स्थानीय तहबाट पनि नामावली संकलन गर्ने कार्य थालिएको छ । रासस 

प्रकाशित : श्रावण २९, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?