कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘हाम्रा हैन, राम्रालाई भोट’

प्रदेश २ को स्थानीय तह निर्वाचन

सप्तरी/महोत्तरी/धनुषा — प्रदेश २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनबाट प्रतिनिधि चुन्न मतदाता उत्साहित देखिएका छन् । लामो समयपछि हुन लागेको निर्वाचनले गाउँबस्तीमा झेल्नुपरेको समस्या अन्त्य हुने आशा उनीहरूको छ । आफूहरूको समस्या समाधान गरिदिनेलाई भोट दिने उनीहरूले बताएका छन् ।

‘हाम्रा हैन, राम्रालाई भोट’

खासगरी बाढी प्रभावित क्षेत्रका बासिन्दाले बर्सेनि हुने समस्या समाधानको आशा राखेका छन् ।

सप्तरीको तिलाठी कोइलाडीका बासिन्दा वर्षौंदेखि बाढीबाट प्रभावित हुँदै आएका छन् । बाढी नियन्त्रणको प्रभावकारी व्यवस्था नभएकाले सधैं संकटमा पर्छन् । त्यसैले यसपालिको स्थानीय तह निर्वाचनमा उनीहरूको इच्छा छ– बाढी समस्याबाट दीर्घकालीन मुक्ति दिन सक्ने उम्मेदवारलाई भोट दिने । 

राजविराज–हनुमाननगर सडक खण्डमा पर्ने बभनगामाकटी गाविसदेखि भारतको सीमासित जोडिएको तिलाठीसम्मका ५ गाविस मिलाएर तिलाठी कोइलाडी गाउँपालिका बनाइएको छ । ‘खाडो खोलाको बाढीका कारण बर्सेनि उठिबास हुँदै आएको छ,’ तिलाठी कोइलाडी गाउँपालिकाका बेल्हीका मोहम्मद रसिदले भने, ‘सधैं आश्वासनमै रुमलियौं तर अब यो दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्र हामी भोट दिन्छौं ।’

खाडो खोलाको बाढीले तिलाठी, बेल्ही, सकरपुरा, तोपा, कोइलाडी, बरसाइनलगायत गाउँटोल बर्सेनि डुबानमा पर्छन् । खाडोकै बाढी भारतीय पक्षले थुन्न लाग्दा गत वर्ष तिलाठीमा नेपाली र भारतीय पक्षबीच ठूलो झडपसमेत भएको थियो । ‘बाढीले पिरोलिएको वर्षौं भयो,’ सकरपुराका शंकर मुखियाले भने, ‘तर भोट लिने बेलामा सबै नेताले बाढी समस्याको स्थायी निकास खोज्ने भन्छन् तर भोटपछि कोही हेर्नसम्म आउँदैनन् ।’ ‘वर्षातमा बाढीले बिगारेको बाटोमै वर्षभरि आउजाउ गर्नुपर्ने हाम्रो बाध्यता छ,’ तोपाका पुरुषोत्तम झाले भने, ‘बाढी आएका बेला कैयौं घरमा खाना पाक्दैनन्, कैयौं परिवार विद्यालयलगायत स्थानमा आश्रय लिएर बस्नुपर्ने विवशता छ, यसको स्थायी समाधान गर्नेलाई जनप्रतिनिधि बनाउने हाम्रो योजना हो ।’ 

तिलाठीका वृद्ध हरिश्चन्द्र मिश्रले भने, ‘हरेक वर्ष आउने बाढी घरघरमा पस्छ, कैयौंका घर स्वाहा हुन्छन्, तर भोट लिएर गएका नेता फर्केर आउँदैनन्, त्यसकारण यस पटक हाम्रो मत साझा समस्याका रूपमा रहेको बाढी नियन्त्रण गर्नेलाई नै जान्छ ।’ तोपाका तजमुल मन्सुरी पनि भोट माग्न आएका उम्मेदवारसामु बाढीको समस्या समाधानको प्रश्न राख्ने बताउँछन् । वर्षामा यस गाउँपालिकाअन्तर्गत दुई साविकका गाविस तिलाठी र सकरपुराको सदरमुकामसँग सम्पर्क नै विच्छेद हुन्छ । यी दुई गाउँलाई चारैतिरबाट बाढीले घेर्छ । ‘अब खोक्रो आश्वासनमा भुलिन्न,’ तिलाठीका युवा पंकज झाले भने, ‘दीर्घकालीन समाधान खोज्नेलाई नै भोट दिइनेछ ।’

महोत्तरीका मतदाताले दल र जातपातभन्दा उम्मेदवारको खुबी र क्षमताका आधारमा भोट हाल्ने बताएका छन् । गाउँको विकास गर्न सक्ने इमानदार र स्वच्छ छवि भएका नेताको पर्खाइमा आफू रहेको उनीहरू बताउँछन् । 

जलेश्वर २ की ४० वर्षीया रेखादेवी मुखियालाई बाढीले घरबारविहीन बनायो । पति र दुई नाबालक छोराछोरीसहित अर्काको घरमा विस्थापित उनलाई कसैले एक ‘फाँको’ पनि राहत नदिएको आक्रोश छ । दैनिक मजदुरी गरेर छाक टार्दै आएकी उनलाई यो चुनावले केही परिवर्तन ल्याइहाल्छ कि भन्ने आशा भने छ । यद्यपि कसलाई भोट हाल्ने भन्ने निधो उनले गरिसकेकी छैनन् । तर दलभन्दा पनि जलेश्वरलाई बाढी र डुबानमुक्त बनाउने क्षमता भएका र आफूजस्ता गरिब समुदायको जीवनस्तर उकास्न सक्ने उम्मेदवारलाई भोट दिने बताउँछिन् । ‘फटाहा र इमान बेचुवालाई कुनै हालतमा भोट हाल्दैनौं,’ उनले भनिन्, ‘गाउँघरमा फेरि बाढी नपसोस्, हाम्रो गाँसबासको व्यवस्था होस्, त्यस्तो प्रधान (मेयर) हामीलाई चाहियो ।’

पुन:संरचनापछि बर्दिबास नगरपालिका ११ मा परेको खयरमाराकी ४५ वर्षीया गृहिणी सम्झना गौतम पनि दलभन्दा उम्मेदवार हेरेर मत दिनुपर्ने धारणा राख्छिन् । खयरमारा २ वटा वडा भएको जिल्लाकै सुदूर उत्तरवर्ती इलाका हो । जहाँ थुप्रै समस्या छन् । महिलाका समस्या उत्तिकै विकराल रहेको उनी बताउँछिन् । कतिपय चेलीको बिहे दर्ता र सन्तानको जन्म दर्ता नहुँदा कानुनी अधिकारबाट वञ्चित छन् । विकासमा पछि परेको खयरमाराका सबै ठाउँमा मोबाइल नेटवर्क पनि पुगेको छैन । 

यस्ता समस्याको निराकरण गरी महिला अधिकार, सडक, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधार पुर्‍याइदिने उम्मेदवारलाई भोट हाल्ने मनसाय रहेको उनको भनाइ छ । ‘पार्टीले असल उम्मेदवार दिन सकेन भने गतिलो खोजेर भोट हाल्ने हामी महिलाले मनसाय बनाएका छौं,’ सम्झनाले निर्णय सुनाइन्, ‘यो पटक हाम्रोभन्दा पनि राम्रोलाई भोट हाल्ने सोच बनाएका छौं ।’ बलवा ६ का रामबाबु साह होटल व्यवसायी हुन् । आफ्नो गाउँ पछिल्लो पटक नगरपालिकामा स्तरोन्नति भएको सुन्दा हाँसो उठेको उनी बताउँछन् । कारण, गाउँमा एउटै गतिलो बाटो छैन । भएका सबै हिलाम्मे छन् ।’ नेताले गर्दा गाउँको अवस्था बिग्रेको उनको आरोप छ । उनको परिवारमा ५ मत छ । तर यो पटक दलगत होइन, उम्मेदवार चिनेर भोट हाल्नुपर्ने उनी बताउँछन् । ‘हामीलाई राम्रो उम्मेदवार चाहियो,’ उनले भने, ‘जनताको नाममा आएको बजेट भ्रष्टाचार नगर्ने विकासप्रेमी, इमानदार उसैलाई भोट हाल्छौं ।’ गौशाला ९ का चौपाया व्यापारी गौरीशंकर साह र महोत्तरी गाउँपालिका ४ रतवाराका कृषक वीरेन्द्र तमोली पनि यो पटक जातपात र भोजभातभन्दा राम्रो उम्मेदवार हेरेर मत हाल्ने बताउँछन् । ‘जसले जनताको हित र सुविधालाई ध्यानमा राखी भेदभाव नगरी काम गर्न सक्छ, उसैलाई भोट दिनुपर्छ,’ उनी भन्छन् । 

सीमावर्ती नगरपालिका मटिहानी २ का मोहनप्रसाद गुप्ता सचेत मतदाता हुन् । मटिहानी बजारका चर्चित स्वर्ण व्यापारी गुप्ता महोत्तरी उद्योग वाणिज्य संघको अध्यक्षसमेत हुन् । उनको गाउँबाटै मेयर पदमा ३ जना उम्मेदवारको नाम सार्वजनिक भइसकेको छ । तर कसलाई भोट हाल्ने ? भन्ने जटिल प्रश्न उब्जेको उनी बताउँछन् । स्थानीय निर्वाचन भएकाले दलगत र जातीयताभन्दा पनि स्थानीय जनताको भावना बुझेर समान ढंगमा विकास निर्माण र न्याय प्रदान गरी पिछडिएको समाजलाई अग्रगति दिन सक्ने खुबी भएको उम्मेदवारलाई भोट हाल्नुपर्ने उनको भनाइ छ । ‘विकासको मोडेल बोकेको, स्वप्नदर्शी अनि जनतालाई परिवर्तन अनुभूति गराउन सक्ने इमानदार, स्वच्छ छवि भएको उम्मेदवार पहिचान गरेर भोट दिनुपर्छ,’ उनले भने । 

‘स्वच्छ छविका युवा चाहन्छौं’ 
धनुषाका मतदाताको रोजाइ छ, स्वच्छ छविका युवा उम्मेदवार । ऊर्जावान उम्मेदवारहरू विकास निर्माण र सुशासन कायम गर्न सक्षम हुने भएकाले युवा उम्मेदवार आफूहरूको रोजाइ हुने मतदाताको भनाइ छ ।

‘थरीथरीका उम्मेदवार देखिसक्यौं,’ हंसपुर नगरपालिका २ बघचौडाका प्रदीप राउत भन्छन्, ‘कोही पार्टीभन्दा माथि उठ्न सकेनन्, कोही जातीपाती तथा सगा–सम्बन्धीभन्दा माथि उठ्न सकेनन् । यसपालि स्वच्छ छविका ऊर्जावान उम्मेदवारलाई मौका दिनुपर्छ ।’

जनकपुर उपमहानगर ५ का युवा अभियन्ता मोहम्मद रियाज साफी वैज्ञानिक सोच र विकासका नयाँ मोडल लिएर आउने उम्मेदवारलाई मौका दिनुपर्ने बताउँछन् । उनले बन्द जनकपुर चुरोट कारखाना सञ्चालन गर्न सक्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सक्ने तथा यहाँको शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा आमूल परिवर्तन गर्न सक्ने उम्मेदवारलाई मौका दिनुपर्ने बताए ।

युवा पुस्ताका मतदाताहरू भने मधेसका माग सम्बोधन गर्न सक्ने जुझारु युवालाई मतदान गर्नुपर्ने बताउँछन् । केमिस्ट्री विषयमा विद्यावारिधि गर्दै गरेकी जनकपुर ४ की मोनी झा भन्छिन्, ‘मधेस आन्दोलनका क्रममा धेरैले सहादत दिएका छन् । उनीहरूले उठाएका एजेन्डालाई सम्बोधन गराउन सक्ने उम्मेदवारलाई प्राथमिकतामा राख्नुपर्छ,’ झाले भनिन् ।

मिथिला विहारी नगरपालिका ६ तारापटीका चिया पसले युगल साह उम्मेदवार बनाउँदा राजनीतिक दल जातीपाती तथा मनी–मसललाई प्राथमिकता दिने गरिएकोमा दु:ख लाग्ने बताउँछन् । उनले भने, ‘२० वर्षपछि आएको निर्वाचनमा स्वच्छ छविका जनप्रिय नेतालाई छान्नुपर्छ । एकछिनको लाभका कारण आफ्नो बालबालिकाको भविष्यसँग खेलबाड गर्नु हुन्न ।’ धनुषामा १ उपमहानगरपालिका, ११ नगरपालिका तथा ६ गाउँपालिका गरी कुल १८ स्थानीय तह छन् ।

प्रकाशित : भाद्र २१, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?