२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मत खसाल्न स्थानीय आतुर

शंकर आचार्य

बगही (पर्सा) — ६८ वर्षीय बन्ती राउत कुर्मी गाउँकै पाकामध्येका एक हुन्। किसानबाटै उनको दैनिकी चलेको छ। मुलुकका थुप्रै राजनीतिक व्यवस्था र परिवर्तनका साक्षी उनी नजिकिएको स्थानीय तह चुनावको प्रतीक्षामा छन्।

‘२० वर्ष पछिको अवसर हो, म त असोज २ को व्यग्र प्रतीक्षामा छु,’ उनले भने, ‘२० वर्षसम्म गाविस सचिवले मनपरी गरे, गाउँको विकास ठप्पझैँ भयो, धेरै दु:ख पाइयो।’ उनी शिक्षित र जनताको अधिकारका लागि पैरवी गर्न सक्ने उम्मेदवारलाई मत दिने बताउँछन्। जनप्रतिनिधि जस्तोसुकै भए पनि सचिवभन्दा जिम्मेवार हुने उनको तर्क छ।

‘जनप्रतिनिधि जनताप्रति जिम्मेवार हुन्छन्,’ उनले भने, ‘खोज्या बेला भेट्टाउने, गाउँ ठाउँकै हुने भएकाले सचिवले भन्दा बढी बुझ्छन्।’ गोरखामा फर्निचरको ठेक्कापट्टा गर्ने ५१ वर्षीय इन्द्रासन ठाकुर कामविशेषले घर आएका छन्। अब उनी भोट हालेर मात्र फर्कने योजनामा छन्। ‘चुनाव आउनै लागिसक्यो, भोट नहाली जान मनले मानेन,’ उनले भने, ‘२० वर्षपछि अवसर जुरेको छ, फेरि कहिले आउने हो?’ गाविस सचिवले चलाउँदा मनपरी र भ्रष्टाचार बढेको उनी बताउँछन्। उनी दलीय समर्थक मात्र नभएर विकासप्रेमी, जनताको भलो चाहनेलाई मत दिने बताउँछन्। गाउँकै २४ वर्षीय हरिओम साह आफ्नै ट्रयाक्टर चलाउँछन्। पहिलोपटक स्थानीय चुनावमा मतदान गर्ने भएकाले उनी पनि उत्साही छन्। ‘यो मेरो पहिलो अवसर हो,’ उनले भने, ‘शिक्षित र व्यावहारिक उम्मेदवारलाई मत दिन्छु, अनपढ नेताले हाम्रा कुरा बुझ्दैनन्।’

हरपतगन्जका बासिन्दा पनि चुनावलाई लिएर उत्साही छन्। जिल्ला मालपोत कार्यालयमा लेखनदासी गर्ने ४६ वर्षीय हरिशंकरप्रसाद यादव स्थानीय निर्वाचन अत्यावश्यक रहेको बताउँछन्। ‘जनप्रतिनिधि नहुँदा सचिवले मनपरी गरे, जनताका नाममा आएको विकास रकममा सधंै उनीहरूले हालीमुहाली गरे,’ उनले भने, ‘अब शिक्षित, राजनीति बुझेका अनुभवी, जनप्रतिनिधि चुन्नपर्छ।’

स्थानीय धु्रवप्रसाद यादव पनि चुनावको प्रतीक्षामा रहेको बताउँछन्। ‘स्थानीय चुनाव एकदमै आवश्यक भइसकेको थियो,’ उनले भने, ‘सचिवहरूले मनपरी गरे, विकासको छनकसमेत पाइएन, अब जनप्रतिनिधि आएपछि उनीहरूसँग नियमित भेटघाट हुन्छ, विकासको काममा हाम्रो पनि सहभागिता हुन्छ।’ उनी पनि जनप्रेमी र विकासप्रेमी उम्मेदवारलाई मत दिने बताउँछन्। चुनाव नजिकिएसँग गाउँगाउँमा चहलपहल बढेको छ। चोक, चियापसलमा पनि अहिले चुनावकै चर्चा छ। गाउँघर विभिन्न दलका रंगीचंगी झन्डाले सिँगारिएका छन्।

प्रकाशित : भाद्र २७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?