कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावले परिवारभित्रै वैरभाव

बाजुरा — जिल्लाका स्थानीय तहमा विजयी उम्मेदवारभन्दा हार्नेको संख्या कैयौं बढी छ। जित्नेहरू आ–आफ्नो जिम्मेवारी सम्हाल्दै नगर, गाउँ र वडाहरूमा विकासका खाका कोर्न जुटिसके। तर, निर्वाचित केही पदाधिकारी भने चुनाव जितेर पनि बेचैन छन्।

  चुनावी प्रतिस्पर्धाका क्रममा आफन्त र नातागोताबीच बढेको मनोमालिन्य अझै सकिएको छैन। बरु सम्बन्ध झन्–झन् टाढिँदै छ। 

बडिमालिका नगरपालिका–७ मा फरक–फरक पार्टीबाट वडाध्यक्ष उम्मेदवार बनेका साला–भिनाजु, सोही नगरको २ नम्बर वडाध्यक्षका उम्मेदवार ज्वाइँ–जेठान र पाण्डव गुफा गाउँपालिका–१ मा वडाध्यक्ष लडेका काका–भतिजाको मुद्दा उच्च अदालत दीपायलमा अझै चलिरहेको छ।
बडिमालिका–७ को अध्यक्षमा एमालेबाट धर्मराज पाध्यायले टिकट लिए। कांग्रेसबाट उनका भिनाजु विजयराज पण्डित प्रतिस्पर्धामा उत्रिए। नतिजामा पाध्यायले भिनाजुलाई ४ मतले उछिने। तर, भिनाजुले हार स्वीकारेनन्। सालाको जितविरुद्ध उच्च अदालत पुगे। मुद्दा मामिला सुरु भएपछि पारिवारिक दरार झन् बढ्यो। दिदी पनि बोल्न छाडिन्।

भान्जाभान्जी पनि टाढिए। ‘म जन्मेको ९ महिनामै आमाको निधन भयो, उनै दिदी–भिनाजुको सहारामा हुर्कें–बढें,’ पाध्यायले भने, ‘चुनावअघिसम्म गाह्रोसारो पर्दा सहारा दिने दिदी–भिनाजुको नजरमा अहिले बैरीसरह ठहरिएँ। चुनावसँगै पारिवारिक खुसी पनि हरायो।’ अघिल्लो तिहारमा दिदीसँग टीका लगाएको फोटो देखाउँदै उनले चाडबाड नजिकिँदै गर्दा मन झन् भारी हुन थालेको बताए। 
उता पाण्डव गुफा गाउँपालिका–१ को वडाध्यक्षमा प्रतिस्पर्धा गरेका रामलाल बोगटीका काका–भतिजाको सम्बन्ध पनि चुनावसँगै धमिलिएको छ। रामलालसँग भतिजा डबल बोगटी २ मतले हारे। उनी पनि न्यायालयको ढोका ढकढक्याउन पुगे। 

‘पारिवारिक सम्बन्ध पूरै बिग्रियो। बोलचाल बन्द भएको मात्र होइन, पारिवारिक वैरभावको अवस्था आयो,’ रामलालले भने, ‘सहोदर दाइको छोरा हो, दाइ ऊ जन्मेको दुई वर्षमै बित्नुभयो। मैले खेलाएर हुर्काएको हुँ, ऊ मसँग हुँदा दाइको सम्झना मेटाउँथें, आजभोलि बाटो काटेर हिँड्छ, मन सारै पोल्छ।’ बडिमालिका–२ मा अध्यक्ष लडेका ज्वाइँ–जेठानको सम्बन्ध पनि चुनावी परिणामसँगै टाढिएको छ। ज्वाइँ डम्मर महतले जेठान गोपाल कार्कीलाई ६ मतले पराजित गरे। उक्त चुनावी नतिजासँगै उनीहरूबीचको पारिवारिक सम्बन्ध पनि चुँडियो। 

प्रकाशित : भाद्र २७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?