३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आचारसंहिता उल्लंघन बढ्यो

भरतपुर ब्युरो

काठमाडौं — तेस्रो चरणको स्थानीय तह चुनावले प्रदेश २ तात्तिएको छ । दलहरूका बीचमा चुनाव प्रचारको होडबाजी छ । भडकिलो प्रचारसँगै उम्मेदवार भोट माग्न व्यस्त छन् । महँगो प्रचार अभियानले आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन् ।

आचारसंहिता उल्लंघन बढ्यो

सर्लाहीमा डीजे बाजासहितको प्रचार जारी छ । उम्मेदवार गाडीका लावालस्कर लिएर प्रचारमा निस्कने गरेका छन् । निर्वाचन आयोगलाई चुनाव स्वच्छ र मर्यादित बनाउने चुनौती थपिएको छ ।

निर्वाचन आयोगले दलहरूकै सहमतिमा बनाएको संहिता उल्लंघन भइरहेको हो । युवा पार्टी झन्डा र चुनाव चिह्न अंकित टिसर्ट लगाएर प्रचारमा हिँडेका छन् । निर्वाचन आचारसंहिताले टिसर्ट र टोपी बाँड्न रोक लगाएको छ । जिल्लामा खुलेआम संहिता उल्लंघन भए पनि लिखित उजुरी भने नपरेको प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले बताए । ‘मौखिक उजुरी भने आएको छ,’ उनले भने, ‘सूचना पाएको ठाउँमा हामीले तत्काल रोक लगाएका छौं । डीजे बन्द गरायौं, ठूलाखाले पोस्टर, तुल र झन्डा हटाएका छौं ।’

आचारसंहिता उल्लंघनको क्रम बढेपछि केन्द्रबाट आएको अनुमगन टोलीले मलंगवा, हरिवन र लालबन्दीमा पालना गर्न लगाएको छ । झन्डा अंकित टिसर्ट र डीजे बाजा बन्द गराइएको केन्द्रीय अनुगमन टोलीका उद्धवप्रसाद पुडासैनीले बताए । ‘मलंगवाको मुख्य चोकमा संहिताविपरीत टाँगिएका तुल, ब्यानर, झन्डा र पोस्टर हटाइसकेका छौं,’ उनले भने, ‘लालबन्दी र हरिवनमा डिजे र अन्य बाजा पूर्ण बन्द भइसक्यो ।’ संहिता उल्लंघनमा प्रमुख दल नै अग्रपंक्तिमा देखिएका छन् । ठूला झन्डा, माइक, डिजे र धेरै सवारी साधन राखेर प्रचारलाई भव्य बनाउने नाममा आचारसंहिता उल्लंघन भइरहेको हो । यसपटकको चुनावमा ‘पैसावाल’ उम्मेदवार धेरै हुनु पनि उल्लंघनको प्रमुख कारण हो । खर्च गर्न सक्ने उम्मेदवारले धेरै सवारीसाधन राखेका छन् । खानपान र भोजभतेरमा पनि ती उम्मेदवारले मन फुकाएर खर्च गरेका छन् । नागरिक अगुवा उग्रकान्त झाले नगरपालिकामा मेयर जित्न एक जना उम्मेदवारले एक करोडभन्दा माथि खर्च गर्ने तयारी गरेपछि आचारसंहिताको धज्जी उड्नु स्वाभाविक भएको बताए । वडाध्यक्षले समेत दुईवटा जिप राखेर प्रचार गरिरहेका छन् । एउटै पार्टीको झन्डा राखेर हलुका सवारीका ताँती भोट माग्दै गाउँ पस्छन् । 

सर्लाहीको हरिपुरमा मंगलबार उम्मेदवारका सवारीको लस्कर ।  अमन कोइराला/कान्तिपुर


उल्लंघन रोकिएन 
 निर्वाचन अनुगमन टोलीले पर्साको वीरगन्ज–५ स्थित ‘मेरो स्क्रिन पिन्टर्स’ मा मंगलबार छापा मारेर ४० वटा टिसर्ट बरामद गर्‍यो । त्यहाँबाट संघीय समाजवादी फोरमको चुनाव चिह्न अंकित टिसर्ट बरामद भएका हुन् । छापाखाना सञ्चालकलाई आगामी दिनमा टिसर्ट, टोपी र गम्छामा कुनै पनि दलका चुनाव चिह्न नछाप्ने सर्तमा कागज गरेर छाडिएको छ । सोही टोलीले वीरगन्ज महानगर १ का वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार अशोक तिवारीले स्पिकरसहित प्रयोग गरेको भ्यान जफत गरेको छ । जिल्ला प्रहरी कार्यालयमा राखिएको भ्यान निर्वाचनपछि मात्र फिर्ता गरिने ज्ञवालीले बताए ।

टोलीले पछिल्ला दिनमा आचारसंहिता उल्लंघनको अनुगमन र कारबाही बढाए पनि दल तथा स्वतन्त्र उम्मेदवारबाट आचारसंहिता उल्लंघनको क्रम घटेको छैन । टोलीसमक्ष लिखित उजुरी नआए पनि मौखिक भने प्रशस्तै आउने गरेको ज्ञवालीले बताए । ‘हामीले सक्दो अनुमगन र कारबाही गरेकै छौं, तर उल्लंघन पनि भइरहेकै छ,’ उनले भने ।

गत शुक्रबार स्पिकर लगाइएका ४ वटा गाडी, शनिबार ट्याक्टरसहित १५ गाडी र सोमबार ८ वटा गाडी समातेर कारबाही गरिएको आयोगले जनायो । अनुगमन टोलीले यहाँस्थित सबै दलका कार्यालयमा गएर प्रचारप्रसारमा साउन्ड सिस्टम र बालबालिका प्रयोग नगर्न आग्रह गरिरहेको छ । 

छपकैयास्थित जिल्ला मालपोत कार्यालयको पर्खाल प्रयोग गरी विभिन्न दलले झुन्ड्याएको झन्डा, तुल, ब्यानर लगायतका सामग्री पनि हटाइएको छ । जिल्ला प्रहरी कार्यालय जाने मोडमा पनि विभिन्न दलले राखेका यस्ता वस्तु हटाइएको छ । 

शनिबार लोकतान्त्रिक फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सभामा २ दर्जन बढी भ्यान र एक सय बढी मोटरसाइकल प्रयोग गरी र्‍याली निकालिएको थियो । आयोगले फोरमलाई स्पष्टीकरण पत्र पठाएको छ । फोरमका तर्फबाट मेयरका उम्मेदवार विमल श्रीवास्तवले भविष्यमा यसरी आचारसंहिता उल्लंघन नहुने जवाफ दिएको आयोगले जनायो ।

रौतहटमा पनि उस्तै 
रौतहटको सहरी तथा ग्रामीण क्षेत्रमा पनि आचारसंहिता उल्लंघन बढ्दो छ । दलहरूले निर्वाचन अधिकारीकै सामुन्ने ठूलठूला ब्यानर झुन्ड्याएर चुनावी प्रचारप्रसार गरिरहेका छन् । गाउँगाउँमा पनि आचारसंहिताविपरीत उम्मेदवारको फोटोसहितका ब्यानरहरू झुन्ड्याएको पाइएको छ । प्रमुख दलबाटै निर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । उनीहरूले तस्बिरसहितका पोस्टर र ब्यानर सडकमै मूल गेट बनाएर नगरभरि राखेका छन् । पार्टीको छाप अंकित टिसर्टहरू मतदाता तथा कार्यकर्तालाई वितरण गरेका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनले आचारसंहिता उल्लंघनका घटना रोक्न खासै पहल नगरेको मतदाताको भनाइ छ । 

५ हजार तुल–ब्यानर हटाइयो
बारामा आचारसंहिताविपरीत चुनाव प्रचारका लागि सार्वजनिक स्थलमा झुन्ड्याइएका ५ हजार बढी तुल ब्यानर र झन्डा हटाइएको छ । कान्तिपुरमा ‘चोक–चोकमा उत्सव’ शीर्षक समाचार प्रकाशित भएपछि गृह मन्त्रालय र निर्वाचन आयोगको निर्देशनपछि हटाइएको हो । निर्वाचन अनुगमन समिति सदस्यसमेत रहेका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले निर्देशनअनुरूप प्रहरीले धेरै ठाउँबाट ब्यानर हटाइसकेको जानकारी दिए । कलैयाबाट मात्रै ३ हजार थान तुल हटाइएको हो । अनुगमनमा खटिएका निर्वाचन आयोगका सहसचिव गजेन्द्र ठाकुर प्रहरी लिएर आफैं तुल, ब्यानर हटाउन सडकमा निस्केका थिए ।
कलैयाको भरत चोकलगायत जिल्लाका अधिकांश ठाउँमा मापदण्डविपरीत तुल–ब्यानर टाँगिएका थिए । ‘सार्वजनिक ठाउँमा राखिएका सबैतिरका झन्डा र तुल–ब्यानर हटाउन कडा निर्देशन गरेका छौं,’ प्रहरी उपरीक्षक राजकुमार वैदवारले भने, ‘कलैया, जितपुर सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, महाढीमाईलगायत ठाउँमा प्रहरी खटाइएको छ ।’ 
(सर्लाहीबाट अमन कोइराला, पर्साबाट शंकर आचार्य र रौतहटबाट पवन यादव ) 

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?