कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रचारमा बालबालिका, चोकैभरि पर्चा–पम्प्लेट

पूर्वाञ्चल ब्युरो

विराटनगर — तेस्रो चरणको स्थानीय निर्वाचनको मिति नजिकै आइसक्दा दल र तिनका उम्मेदवारबाट आचारसंहिता उल्लंघनका घटना झन् बढ्दै छन् । निर्वाचन आयोगले टोली बनाएर अनुगमन गरिरहेको जनाए पनि उल्लंघन रोकिएको छैन ।

प्रचारमा बालबालिका, चोकैभरि पर्चा–पम्प्लेट

केही जिल्लामा आयोगको निर्देशनमा प्रहरीले आचारसंहिता मिचेर राखिएका प्रचार सामग्री हटाएको छ ।
महोत्तरीमा सडक, चोक, हाटबजारजस्ता सार्वजनिक स्थलमा झन्डा, ब्यानर झुन्ड्याउने काम सामान्य भइसके । दलले प्रचार जुलुसमा बालबालिकासमेत प्रयोग गरिरहेका छन् । 

मुख्य निर्वाचन अधिकृत कार्यालयले शुक्रबार स्थानीय विकास अधिकारी युवराज पौडेल, शिक्षा अधिकारी ठूलोबाबु दहाल र जिल्ला वन अधिकृत राजेन्द्र जयसवालको नेतृत्वमा छुट्टाछुट्टै घुम्ती अनुगमन टोली गठन गरेको छ । टोलीले अनुगमनको पहिलो दिन सदरमुकाम जलेश्वर र बर्दिबासका सार्वजनिक स्थलमा टाँगिएका दलका झन्डा, चुनाव चिह्न, ब्यानर जफत गर्‍यो । त्यसयता भने टोली निष्प्रभावी देखिएको छ । जयसवाललाई अनुगमनका लागि तोकिएको भंगाहा सीतापुर, रामगोपालपुर, औरही, बर्दिवास र गौशालामध्ये अधिकांश पालिकाका सार्वजनिक स्थलमा सडकै ढाक्ने गरी निर्वाचन सामग्री टाँगिएको छ । मंगलबार भंगाहा सीतापुर पुगेको टोलीले माओवादी केन्द्रको प्रचार जुलुसमा बालबालिका प्रयोग भएको फेला पारेको थियो । 

पिपरा, मटिहानी, मनरा सिसवाका सडक, चोकमा समेत उस्तै दृश्य देखिन्छ । स्थानीय विकास अधिकारी पौडेल र शिक्षा अधिकारी दाहालले आचारसंहिता उल्लंघन भएको स्थानमा सुरक्षा निकाय र दलका प्रतिनिधिलाई ध्यानाकर्षण गराइएको जनाए । प्रमुख निर्वाचन अधिकृत किरणकुमार पोखरेलले सार्वजनिक स्थलमा टाँगिएका प्रचार सामग्री जफत गरिने बताए । 
धनुषामा उस्तै
दलले बालबालिकालाई झन्डा बोकाएर चुनाव प्रचारमा खटाइरहेका छन् । सार्वजनिक स्थानमा पर्चा टाँस्ने, झन्डा टाँग्ने क्रम निरन्तर छ । उम्मेदवारले कार्यकर्ता तथा मतदाता रिझाउन चुनाव चिह्न अंकित भेस्ट र टोपी बाँडिरहेका छन् । 

उम्मेदवारले अचारसंहिता पालन नगरेको गुनासोपछि मुख्य निर्वाचन अधिकृत कार्यालय जनकपुरले दलले बाँडेका भेस्ट र टोपी नियन्त्रणमा लिएको छ । बनाउने ठाउँमै छापा मारेर नियन्त्रणमा लिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले बताए । 

‘उम्मेदवारले चुनाव चिह्न अंकित लुगा बाँड्न पाउँदैनन् तर उम्मेदवारले ठूलो परिणाममा बाँडेको पाइएको छ,’ उनले भने, ‘एक/एक गरी नियन्त्रण गर्न सकिएको छैन । तयार गर्ने स्थानबाट विभिन्न दलका प्रचार सामग्री जफत गरिएको छ ।’ 

उप्रेती नेतृत्वको टोलीले जनकपुर उपमहानगरको कलवार कुटीबाट एमाले, कांग्रेस र राजपाको चुनाव चिह्न अंकित प्रचार सामग्री ठूलो परिमाणमा बरामद गरेको हो । ती सामग्री चुनावपछि फिर्ता गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय धनुषाकी प्रमुख पुष्पा झाले भने आचारसंहिता उल्लंघनबारे कार्यालयमा कुनै उजुरी नआएको बताइन् । जबकि कांग्रेस, राजपा, फोरम नेपालसहितका मुख्य दलका उम्मेदवार नै आचारसंहिता उल्लंघन गरेको घुमाउरो शैलीमा स्विकार्छन् । जनकपुर उपमहानगरका कांग्रेस उम्मेदवार मनोज साहले अरू पार्टीका कार्यकर्ताले पार्टी चिह्न अंकित भेस्ट, टोपी तथा ब्याच लगाएको देखेर आफ्नालाई पनि दिएको बताए । 

हटाइयो झन्डा
सिरहाका विभिन्न सार्वजनिक स्थलमा टाँगिएका दलका झन्डा र फ्लेक्स बोर्ड प्रहरीले हटाएको छ । जिल्ला प्रहरी प्रमुख शेखर कोइरालाले राजमार्ग र सहायक मार्ग क्षेत्रका चोक–चौराहामा आचारसंहिता मिचेर टाँगिएका प्रचार सामग्री हटाइएको बताए । ग्रामीण क्षेत्रका चोक–चौराहामा टाँगिएका झन्डा हटाउने काम भइरहेको उनले जानकारी दिए । दलले मठमन्दिरमा समेत प्रचार सामग्री राख्न बाँकी राखेका छैनन् । आचारसंहिताअनुसार नगरपालिकाका मेयरका उम्मेदवारले प्रचारमा ४ लाख ५० हजार र उपमेयर, वडा अध्यक्षका उम्मेदवारले २ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउँछन् । त्यसैगरी गाउँपालिका प्रमुखका उम्मेदवारले ३ लाख ५० हजार र उपप्रमुख, वडाध्यक्ष उम्मेदवारले १ लाख ५० हजार रुपैयाँसम्म खर्चन पाउने उल्लेख छ ।

अनुगमन कमजोर
सप्तरीमा आचारसंहिताविपरीत जानेमा स्वतन्त्र उम्मेदवार पनि कम छैनन् । सार्वजनिक स्थलमा झन्डा, ब्यानर र तुल झुन्ड्याउने कार्य व्यापक छ । चुनाव चिह्न अंकित भेस्ट वितरण, आयोगले तोकेभन्दा ठूलो ब्यानर र पोस्टर टाँस्ने क्रम बढेको छ । उम्मेदवारले तोकिएभन्दा कयौं गुणा बढी सवारीसाधन प्रचारमा प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहिताको खिल्ली उडाउँदै दलले ‘स्पिकर’ बाट चर्काे आवाजमा उम्मेदवारको प्रचार गराइरहेका छन् । जिल्लाका १८ वटै तहमा यस्तै अवस्था छ । आचारसंहिता अनुगमन अधिकृत धु्रवविनोद पोखरेलले उल्लंघनका घटनाबारे स्थानीय प्रशासनलाई जानकारी गराए पनि ध्यान नदिएको आरोप लगाए । 

आयोगबाट आचारसंहिता अनुगमनका लागि खटाइएका सहसचिव छवीन्द्र पराजुलीले बुधबारदेखि चुनावचिह्न अंकित टिसर्ट फुकाल्न लगाइने बताए । राजमार्गमा झुन्ड्याइएका ब्यानर पनि हटाइने उनको भनाइ छ । गत शुक्रबार आयोग र स्थानीय सुरक्षा निकायको अनुगमन टोलीले सदरमुकाम राजविराजमा राजपाका ३६ कार्यकर्तालाई चुनावचिह्न अंकित टिसर्ट फुकाल्न लगाएको थियो । कञ्चनरूप नगरपालिकामा नेपाली कांग्रेसका ५ र एमालेका १ जना कार्यकर्तालाई टिसर्ट फुकाल्न लगाइएको निर्वाचन कार्यालयले जनाएको छ । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?