२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

तोडिँदै ‘भोट बैंक’

सिरहा — मधेसमा मुसहर समुदाय भन्नासाथ ‘भूमिपुत्र’ उपमाले चिनिन्छ । कारण, उनीहरू दिनभर अरूको खेतमा श्रम गरी गुजारा चलाउँछन् । तर, तिनै ‘भूमिपुत्र’ को भने आफ्नै घर बनाउने घडेरीसम्म हुँदैन । अधिकांश मुसहर समुदाय ऐलानी जग्गामा बसोबास गर्छन् ।

‘भरदिन अरूको खेतमा काम गरी गिरहतको घरमा अन्न भण्डारण गरिदिन्छौं,’ सिरहा अमहीका रविलाल सदाय मुसहरले भने ‘तर, आफ्नो घरमा दुई छाक गर्जो टार्ने अन्न मात्र भित्रिन्छ, यही नै हाम्रो दिनचर्या हो ।’

आर्थिक अवस्था सुदृढ नभएसम्म शैक्षिक अवस्थामा सुधार हुन कठिन हुन्छ । आर्थिक र शैक्षिक अवस्था सबल नभएसम्म राजनीतिक पहुँच कमजोर हुन जान्छ । यी तीनै कमजोरीले मुसहर समुदायलाई गाँजेको दलित अधिकारकर्मी उमेश विसुन्केको तर्क छ । ‘पहिला सिरहाका दलित बस्ती भन्नासाथ भोट बैंक मानिन्थ्यो’ ऋषिकुल सदाय कल्याण समाजका अगुवा देवीलाल सदा मुसहरले भने ‘लोकतन्त्रपछिको व्यवस्थाले अनिवार्य उम्मेदवार बनाउनुपर्ने प्रावधानले मुसहर बस्तीमा पनि राजनीतिक पहुँच पुग्ने अपेक्षा गरेका छौं, भोट बैंक तोडिने अवस्था सुरु भएको छ ।’

पैसा र दारु (मदिरा) सँग मत साटिनुलाई तराईमा ‘भोट बैंक’ भन्ने बुझिन्छ । ‘हरेक दलित बस्तीमा दलित उम्मेदवार भएकाले अब सिंगो गाउँ नै खरिद गरेको छु भन्ने भोट बैंक प्रथा तोडिएको छ,’ उनले भने, ‘हाम्रो जागरण अभियानले मुसहर समुदायका केही युवायुवतीहरू पनि एसएलसीदेखि स्नातकसम्म अध्ययनसँगै जागिर खान थालेकाले पनि राजनीतिक पहुँचको सुरुवात भएको छ ।’

प्रकाशित : भाद्र २८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?