कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिष्ठाको लडाइँमा प्रमुख दल

बर्दिबास (महोत्तरी) — कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेस केन्द्रित दलले प्रदेश २ को स्थानीय तह चुनावलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् । यस प्रदेशबाट एक नम्बर स्थान कसले ल्याउने भन्नेमा मुख्य दलका नेताबीच रस्साकसी सुरु भएको छ । मतदाता आकर्षित गर्न नेताहरू आरोप–प्रत्यारोपसम्मै उत्रिएका छन् ।

प्रतिष्ठाको लडाइँमा प्रमुख दल

शीर्ष नेताहरू नै चुनावी मैदानमा उत्रिएपछि मधेसको चुनावी माहोल पनि हवात्तै बढेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तीन दिनको कार्यक्रम बनाएर मधेस झरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला पनि देउवासँगै छन् । दोस्रो तहका नेता त यसअघि नै मधेस दौडाहामा छन् ।
एमाले अध्यक्ष केपी ओली पनि मधेस झर्न चाहेका थिए । तर, एमालेकै मधेस केन्द्रित नेताहरूले नआउन सुझाव दिएपछि रोकिएका छन् । कांग्रेस, माओवादी र मधेस केन्द्रित दलका कार्यकर्ताले ओलीलाई मधेसविरोधी नेताका रूपमा चित्रण गरिरहेका बेला ‘जे पनि हुन सक्ने’ भन्दै उनलाई नआउन सुझाइएको हो । एमाले प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलले पार्टी अध्यक्षलाई मधेस नझर्न सुझाएको स्विकारे । ‘अहिले ठूलो मास आयोजना गर्न सकिँदैन । हाम्रो सम्पूर्ण ध्यान वडामा मतदाता सुरक्षित गर्नेमै केन्द्रित छ । घरदैलोमा उम्मेदवारहरू लाग्नुभएको छ,’ उनले भने ।

राष्ट्रिय जनता पार्टी (राजपा) ले विरोध गर्ने देखेर ओलीलाई नआउन भनिएको होइन भन्ने प्रश्नमा मण्डलले घुमाउरो शैलीमा भने, ‘एमालेभित्रै सम्भावित घुसपैठ, कांग्रेस र राजपाका कार्यकर्ताहरूको निसानाले कुनै घटना भइहाल्यो भने वातावरण बिग्रन्छ भन्ने पनि हो । भरतपुर काण्ड दोहोरिन सक्छ भन्नेमा हामी सचेत भएर ओली कमरेडलाई नआउन भनेका हौं ।’

एमाले नेता माधव नेपाल भने तीन दिनदेखि मधेसमै छन् । महासचिव ईश्वर पोखरेलसहित दोस्रो तहका नेता पनि चुनावी रणनीति बनाउन मधेस केन्द्रित छन् । मण्डलका अनुसार पार्टीको स्थायी समितिले प्रत्येक जिल्लामा केन्द्रीयस्तरका नेता खटाएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल यसै क्षेत्रमा थिए । मंगलबार काठमाडौंमा काम परेकाले सोमबार राति सिन्धुली–बर्दिबास हँुदै उनी काठमाडौं पुगे । बुधबारै उनी राजविराज हुँदै सिरहा आउँदै छन् । राजपाको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरबाहेक सबै नेता मधेस केन्द्रित छन् । आ–आफ्नो प्रभाव रहेको ठाउँमा राजपाका नेताहरू रातदिन नभनी प्रचारमा जुटेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादव, अशोक राईसहितका नेता पनि सप्तरीदेखि नै खटिएका छन् ।

संविधान संशोधन विधेयक असफल भएपछि कांग्रेस, माओवादी, राजपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका दलहरू एमालेमाथि आक्रामक प्रचारमा लागेका छन् । मधेसमा एमाले एक्लो बनेको छ । सत्ता साझेदार कांग्रेस, माओवादी र राजपा एमालेप्रति अझ बढी आक्रामक देखिन्छन् । एमालेलाई कमजोर बनाउन सत्ता साझेदार दलबीच मनोनयनको दिनदेखि नै गठबन्धन प्रयास भएको थियो । तर, पार्टीभित्रकै अन्तरविरोधका कारण सफल हुन सकेन । कांग्रेस र माओवादी केन्द्रबीच दुई नगरपालिकामा मात्रै गठबन्धन भएको छ ।

संविधान सशोधन विधेयक एमालेकै कारण असफल भएको भन्दै कांग्रेस, माओवादी र राजपाले एमालेको मत तान्ने प्रयास गरेका छन् । राजपा, संघीय समाजवादी फोरमको चुनावी मुद्दा नै संविधान संशोधनसँग जोडिएको छ । एमाले सबै दलको प्रहार चिर्दै अघि बढेको छ । एमाले नेता नेपालले दुई दिनअघि बर्दिबासमै पत्रकारसँग एमालेलाई गाली गरेरै कांग्रेस, माओवादी र मधेस केन्द्रित दलहरूले मत मागेको बताएका थिए । ‘अरू दलसँग कुनै एजेन्डा छैन, एमालेलाई गाली गरेर मत माग्ने काम भएको छ,’ उनले भने, ‘त्यसलाई प्रतिवाद गरेर हामी एक नम्बर भएर देखाउँछौं ।’

मधेसका धेरै जिल्लामा कांग्रेसको प्रभाव बढी छ । ०७० को आम निर्वाचनमा पनि कांग्रेस मधेसमा पहिलो शक्ति बनेको थियो । दोस्रोमा एमाले नै थियो । सम्पन्न दुई चरणको निर्वाचनमा कांग्रेस एमालेभन्दा धेरै अन्तरमा दोस्रोमा आएपछि उसले यस निर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएको छ । कांग्रेस नेता विमलेन्द्र निधिले प्रदेश २ का १ सय ३६ निर्वाचन क्षेत्रमध्ये सय स्थान कांग्रेसले जित्ने दाबी गर्दै आएका छन् । एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम सबैले आफूहरू एक नम्बर बन्ने दाबी गरिरहेका छन् । आठै जिल्लामा यिनै ५ राजनीतिक शक्तिबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । कुनै ठाउँमा लोकतान्त्रिक फोरमको प्रभाव पनि राम्रो छ । थारू बाहुल्य क्षेत्रमा लोकतान्त्रिक फोरमको प्रभाव छ ।

प्रकाशित : भाद्र २८, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?