मतदाता रिझाउन नेताको ताँती

सर्लाही — प्रदेश २ मा केन्द्रीय नेताको आगमन बाक्लिएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपालगायत मधेस केन्द्रित दलले चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । राजपाले प्रदेश २ को चुनावमा मात्र भाग लिएकाले अत्यधिक सिट जित्नैपर्ने दबाबमा छ ।

मतदाता रिझाउन नेताको ताँती

ठूला तीन दलले पनि मधेसमा पकड देखाउन जितलाई प्रतिष्ठा बनाएका छन् । सबै दलका प्रमुख नेताको ध्यान अहिले यतै केन्द्रित छ । अन्य ६ वटा प्रदेशमा पनि मधेसको परिणाम कस्तो हुने भनेर चर्चा र चासो छाएको छ । राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादव चार दिनदेखि जिल्लामा पार्टीका उम्मेदवारको पक्षमा जनमत बनाउन खटिएका छन् । मंगलबार अर्का नेता राजेन्द्र महतो आएर प्रचारमा जुटेका छन् ।

यादवले राजपाले जित्दा मात्र मधेसी जनताले जितेको ठहर्ने भएकाले मतदाता राजपाप्रति सकारात्मक पाएको बताए । ‘मधेसको मुद्दामा लगातार आन्दोलन गरेको राजपालाई भोट दिएर शक्तिशाली बनाउँदा मधेसको हितमा हुन्छ,’ उनले भने, ‘मधेसी जनताले त्यो कुरा बुझेका छन् ।’ उनले टिकट वितरणमा देखिएको विवादले राजपाको शक्तिमा केही क्षति भएको स्विकारे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई साताभित्र तीनपटक सर्लाही आइसके । उनी अन्य पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउनका लागि तीनपटक यहाँ आए । गृहमन्त्री जनार्दन शर्मा पनि पार्टी प्रवेश कार्यक्रममा दाहालसँगै सरिक भएका थिए । पछिल्लो पटक आइतबार दाहाल र शर्मा गढैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए । बुधबार एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आएर टिकट वितरणपछि असन्तुष्ट भएका नेतालाई सम्झाइबुझाइ गरे । लगभग सबै दलमा टिकट वितरणपछि देखिएको असन्तुष्टि मिलाउनुपर्ने मुख्य दायित्व छ । एमालेले राजपाबाट प्रवेश गरेका विनयकुमार कर्णलाई कविलासीमा मेयरको टिकट दिएपछि पुराना कार्यकर्ता असन्तुष्ट छन् ।

नेपाल कविलासी पुगेर असन्तुष्टलाई सम्झाउने र आफ्ना उम्मेदवारलाई जिताउने वातावरण मिलाउन जुटेका छन् । त्यसअघि नेता लालबाबु पण्डित र योगेश भट्टराईलगायतका नेता प्रचारका लागि आइसकेका छन् । राजपामा पनि टिकट वितरणमा देखिएको असन्तुष्टिपछि नेताहरू विवाद मिलाउनमै केन्द्रित छन् । पार्टीभित्रको विवाद मिलाउने दायित्वसँगै चुनाव प्रचार गरी बढी सिटमा जिताउनुपर्ने दायित्व राजपाका नेतामा छ । टिकट वितरणमा असन्तुष्ट भई राजपाका केन्द्रीय तहकै नेताले पार्टी छाडेका छन् । महासचिव जंगीलाल रायले पदबाट राजीनामा दिई एमाले उम्मेदवारको पक्षमा प्रचारमा जुटेका छन् । केन्द्रीय सदस्य शिवपुजन राय माओवादी केन्द्रमा प्रवेश गरेर चुनाव प्रचारमा छन् । कविलासीबाट एमालेको टिकट लिएका कर्ण राजपाका पूर्वजिल्ला संयोजक हुन् ।

यस्तो अवस्थामा पार्टी विवाद मिलाउने प्रमुख चुनौती राजपामा बढी छ । यादवले संगठन ठूलो भएपछि उम्मेदवारको आकांक्षी पनि बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै टिकट नपाएर असन्तुष्टि बढेको स्विकारे ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?