जनकपुर कब्जा गर्ने होड

जनकपुर — कांग्रेस र एमालेलगायतका प्रमुख तथा मधेस केन्द्रित दलका नेताहरू प्रदेश २ को सम्भावित राजधानी जनकपुरमा केन्द्रित भएका छन् ।

जनकपुर कब्जा गर्ने होड

राजनीतिक विश्लेषक प्राध्यापक सुरेन्द्र लाभले उम्मेदवारी दर्ता हुनुअघिसम्म दलले वीरगन्जलाई ‘टार्गेट’ मात्र गरेको तर अहिले यो सहर मुलुककै राजनीतिक केन्द्र बनेको बताए ।

उनको अनुसार प्रशासनिक रूपले जनकपुर प्रदेश २ को राजधानी बन्ने लगभग पक्का छ । राजधानीका लागि आवश्यक प्रशासनिक एकाइ सञ्चालनकै क्रममा छन् । उच्च अदालत खुलेको छ । प्रदेश २ को प्रहरी प्रदेश कार्यालय स्थापना भई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) विजयलाल कायस्थको पदस्थापना भइसकेको छ । यसैगरी धनुषाको धारापानीमा मध्य–पूर्व पृतना हेडक्वार्टर स्थापना भई पृतनापतिको रूपमा ईश्वर हमाल आएका छन् ।

स्थानीय चुनावमा उम्मेदवारी दिएका दल सम्बद्ध तथा स्वतन्त्र उम्मेदवारहरूमध्ये अधिकांशले जनकपुरलाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता जनाएका छन् । उपमहानगरपालिकाको मेयरका लागि कांग्रेसबाट मनोजकुमार साह, एमालेका लक्ष्मीनारायण भगत (साह), राजपाका लालकिशोर साह, संघीय समाजवादी फोरमका विष्णुदेव साह, नयाँ शक्ति नेपालका उमेश साह, माओवादी केन्द्रले चन्द्रशेखर साह तथा फोरम लोकतान्त्रिकले हंसराज साहलाई अघि सारेको छ । 

कमल थापा नेतृत्वको राप्रपाले राजकुमारी साह तथा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातन्त्रवादीले रूपाकुमारी ठाकुरलाई मेयरमा उठाएको छ । तेली, सुडी, कानू, कलवार (साह) हरूको बाहुल्य रहेको उपमहानगरको प्रमुखमा उम्मेदवारी दिएका १९ मध्ये ११ जना साह थरकै छन् ।

नयाँ शक्तिका प्रत्याशी उमेशले जनकपुरलाई प्रदेशको राजधानी बनाउने अभियानलाई प्रमुख एजेन्डा बनाएको बताए । कांग्रेसका मनोज तथा राजपाका लालकिशोर पनि यसै विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन् । ‘जनकपुरलाई प्रदेश राजधानी, राजर्षि जनक तथा कृषि विश्वविद्यालय स्थापनाको पहल गर्नेछु,’ कांग्रेस प्रत्याशी मनोजले भने ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?