कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'आजको दिन पहिले भोट अनि भान्सा’

रवीन्द्र उप्रेती

महोत्तरी — स्थानीय तह निर्वाचनका लागि जिल्लाभरका मतदान केन्द्रमा उत्साह देखिएको छ  । यस्तो उत्साह ग्रामिण भेगमा अझ बढी देखिएको छ । जिल्लाका १५ वटै नगर तथा गाउँपालिकामा रहेको ४ सय १५ मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाम लागेको छ ।

'आजको दिन पहिले भोट अनि भान्सा’

२ दशक लामो प्रतिक्षापछि भइरहेको स्थानीय तह निर्वाचनमा आफनो लोकतान्त्रिक अधिकारलाई लिएर महिलाहरुमा पनि व्यापक उत्साह देखिएको छ । कामकाज छाडेर बिहानैदेखि मतदान केन्द्र पुगेका महिलाहरुको लाम सवैभन्दा ठूलो छ । लाम लागेर मतदानको पालो पर्खिरहेका महिलाले भने, ‘आजको दिन पहिले भोट अनि ‘भान्सा’ ।'

बिहानैदेखि यस्ता दृष्य जिल्लाभरका मतदान केन्द्रमा देखा परेका छन् । मतदाताको उत्साहजनक उपस्थितिले उम्मेदवार पनि आ-आफनो जीतप्रति आस्वास्थ देखिएका छन् ।

आफन्तको सहयोगमा ८० नागेका बृद्धबृद्धा पनि मत खसाल्न पुगेका थिए । आफन्त नभएका जेष्ठ नागरिकलाई छिमेकीले मतदान केन्द्रसम्म पुर्‍याई दिएका थिए । घुम्टोले ढाकेका नयाँ बेहुलीदेखि अशक्तसमेत मतदानमा सहभागि देखिएका छन् ।

मूख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलकाअनुसार अपरान्ह १२ बजेसम्म १५ वटै स्थानीय तहमा ५० प्रतिशतबढी मतदान भएको छ । बर्दिवसको बरडाँडा मतदान केन्द्रमा सबैभन्दा बढी ६६ प्रतिसत मत खसेको त्यहाँका निर्वाचन अधिकृत मणिराम न्यौपानेले जनाएका छन् ।

प्रशासन र सुरक्षा निकायले शान्तिपूर्ण निर्वाचनका लागि भरपर्दो ब्यवस्था मिलाएकोले पनि वुथहरुमा मतदाताको ओइरो लागेको हो । नेपाल प्रहरी , सशस्त्र र सेनाले सवारी तथा पैदल गस्ती तीब्र पारेका छन् । नेपाली सेनाका हेलिकप्टरले बिहानैदेखि हवाई गस्ती जारि राखको छ । यसले मतदातामा थप सुरक्षा अनुभूति गराएको छ ।

नेपाल भारत सीमा सील गरिएको छ । विना पासका सयौं सवारीलाई सुरक्षाकर्मीले नियन्त्रण लिएको छ । प्रहरी उपरीक्षक कुबेर कडायतकाअनुसार सिंहासनी मतदान केन्द्रमा स्वतन्त्र उम्मेदवार राजदेव यादवमाथि कुटपिट गरेको आरोपमा २ जनालाई नियन्त्रणमा लिएको छ ।

सुरक्षा संयन्त्रकाअनुसार अधिकांश मतदानस्थल अति संवेदनशील भएकाले त्यहाँ सोही अनुरुपको सुरक्ष प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जनाएका छन् ।

आज मौसमले पनि साथ दिएकोले मतदानम सहज बनेको हो । हिजोसम्म झण्डै ४० डिग्री हाराहारी रहेको यहाँको तापक्रम राति छिटफुट वर्षा हुनुकासाथै बिहानैदेखि आकाशमा बदली भएकाले मौसम अनुकुल भएको हो ।

सदरमुकामबाट सबैभन्दा दूरीमा रहेको बर्दिवास गाउँपालिकाको खयरमारामा पनि मतदातको व्यापक उत्साह देखिएको छ । जिल्लामा कांग्रेस, एमाले, एमाओवादी, राजपा , संघीय समाजवादी फोरमबीच पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । विगत निर्वाचनका अनुभवले घोषित गरिएका १ सय २९ अतिसंवेदनशील मतदान केन्द्रमा सोही अनुरुपको सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७४ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?