कडा सुरक्षाबीच मतगणना

भूषण यादव, सन्तोष सिंह

वीरगन्ज/धनुषा — यतिबेला तपाई ठाकुरराम बहुमुखी क्याम्पसका कोठामा आइपुग्नु भयो भने अनौठो लाग्न सक्छ । वीरगन्ज महानगरको मतगणना भइरहेका कोठा तारजाली र बिमले दुई भागमा बाँडिएका छन् । एउटा भागमा गणक र अर्कातिर उम्मेदवार र तिनका प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको छ ।

कडा सुरक्षाबीच मतगणना

 कांग्रेसको अग्रता

ढोकाछेउ मतपेटिका बोकेर एक जनासम्म पस्न मिल्ने ठाउँ खाली राखिएको छ । मतगणना जारी रहँदा त्यही खाली ठाउँमा पनि सुरक्षाकर्मी तैनाथ गरिन्छन् । गणकले प्रत्येक मतपत्र तारजालीभन्दा यतैबाट प्रतिनिधिलाई देखाएर सदर मत गणना गर्छन् । प्रतिनिधिले ती मतपत्र कसै गरी छुन सक्दैनन् । तारजाली सामान्य बलले तोडिने खालको छैन । 


‘यो कुखुरा पालनमा प्रयोग गरिने बलियो तारजाली हो,’ एक सुरक्षाकर्मीले भने । पहिलो चरणको निर्वाचनका बेला भरतपुर नगरपालिकाको मतपत्र च्यातिएपछि यहाँ विशेष सुरक्षा अपनाइएको हो । तारजालीका लागि निर्वाचन आयोगले थप बजेट नछुट्याए पनि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रहरी प्रशासनले आन्तरिक सहयोग जुटाएर व्यवस्थापन गरेको हो । सुरक्षा स्रोतका अनुसार तारजालीका लागि महानगरपालिका कार्यालय, सिँचाइ डिभिजनलगायत सरकारी कार्यालयले सघाएका छन् ।

भित्री मधेसका गाउँपालिकाका मतगणनास्थल पनि तारजालीले छेकिएका छन् । पर्साका प्रमुख निर्वाचन अधिकृत हुमनाथ 
पराजुलीका अनुसार विन्दवासिनी गाउँपालिकाको गणनास्थलमा समेत तारजाली लगाइएको छ । बाँकी ‘महानगरजत्तिकै बलियो नभए पनि छेकबार गर्ने खालको छ,’ उनले टेलिफोनमा भने, ‘स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन प्रयोग गरी मतपत्र जोगाउने प्रयास गरिएको छ ।’

केही मतगणनास्थल भलिबल ‘कोर्ट’मा प्रयोग गरिने ‘नेट’ ले विभाजन गरिएको छ । पराजुलीका अनुसार प्रतिनिधिलाई सिधै मतपत्र छुनबाट रोक्न बार लगाइएको हो । 

भरतपुर महानगर १९ वडाको मतगणना चलिरहँदा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि गणना रोकिएको थियो । सर्वोच्च अदालतको निर्णयपछि त्यहाँ दोहोर्‍याएर निर्वाचन गरियो । ‘त्यहाँ मतपत्र च्यात्नेकै पक्षमा निर्णय भएपछि यहाँ पनि कडा प्रतिस्पर्धामा रहेका उम्मेदवार र उनका प्रतिनिधिले अन्तिम अवस्थामा भरतपुर प्रकरण दोहोर्‍याउन सक्छन्,’ एक उच्च प्रहरी अधिकृतले भने, ‘त्यसैले तारजाली प्रयोग गरिएको हो ।’ प्रदेश २ कै एक मात्र महानगर वीरगन्ज मुलुकको आर्थिक र व्यापारिक केन्द्रसमेत रहेकाले यहाँ सबै दलको विशेष चासो छ । 

‘मेयर पदमा भिडेका सबैजसो उम्मेदवारले मनोनयन दर्तादेखि मतदानको अघिल्लो रातसम्मै ठूलो धनराशी खर्चेका छन्’ ती अधिकृत भन्छन्, ‘अन्तिम अवस्थामा हारबाट जोगिन अनेक हतकन्डा अपनाउन सक्छन् । त्यसमाथि मतपत्र च्याते पुन: निर्वाचन हुने नजिर बसिसकेको छ ।’ 

प्रहरी उपरीक्षक सुदीप गिरीले सुरक्षा दृष्टिले तारजाली प्रयोग गरिएको बताए । ‘सुरक्षामा किन सम्झौता गर्नु भनेर लगाइएको हो,’ उनले भने, ‘यो पारदर्शी पनि छ, पहिलाको मतगणनामा मतपत्र हेर्न प्रतिनिधिलाई झन्झट हुन्थ्यो, यसपालि हुँदैन ।’ तत्काललाई ठाकुररामका ७ कोठामा तारजाली लगाइएको छ । आवश्यक परे अन्य कोठामा पनि लगाइने उनले बताए । मंगलबार बिहान बसेको सर्वदलीय बैठकले मुख्य निर्वाचन अधिकृतसँग मतगणना हुने प्रत्येक कोठामा सीसीटीभी जडान गर्न प्रस्ताव गरेको थियो । ‘पहिले कुनै निर्णय भएको थिएन,’ एसपी गिरीले भने, ‘बिहान सर्वदलीय निर्णयपछि सीसीटीभी जडान गरिएको हो ।’ साढे ११ बजे थाल्ने भनिएको मतगणना सीसीटीभी पर्खिएकै कारण सवा २ बजे सुरु भएको थियो । 

जनकपुर उपमहानगरको मतगणनामा पनि यस्तै सतर्कता अपनाइएको छ । महेन्द्रनारायण निधि स्मृति भवनको हलमा भुइँको ढलान फोरेर बाँसको खम्बा गाडी नदी नियन्त्रणमा प्रयोग हुने तारजालीले घेरा लगाइएको छ । सीसीटीभीबाट पनि सुरक्षा निगरानी गरिएको छ । मतदाताले स्थानीय तहमा २० वर्षपछि हालेको मतपत्र सुरक्षित बनाउन तारजालीको घेरा लगाइएको स्थानीय सुरक्षा अधिकारीले जनाए । 

भरतपुर घटना दोहोरिन नदिनकै लागि धनुषामा उपमहानगरसहित १८ वटै तहका मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘जनकपुर उपमहानगरमा तारजाली र धनुषाधाममा फलामको ग्रिल लगाइएको छ,’ उनले भने, ‘गणनामा उम्मेदवार तथा प्रतिनिधिको हस्तक्षेप हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।’ अन्य गणनास्थल बाँसको बेरा र डोरीले घेरिएका छन् । 


गणनास्थलमा अप्रिय घटना हुन नदिन तारजाली प्रयोग गरिएको धनुषाका प्रजिअ दिलीप चापागाईंले बताए । धनुषामा विगतका चुनावमा गणनास्थलमै दलका प्रतिनिधिबीच झडपमा हुँदा प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । जनकपुर उपमहानगरको नेतृत्व लिन दलबीच कडा प्रतिस्पर्धा रहेकाले गणनास्थलमा त्यसको प्रभाव पर्न सक्ने सुरक्षा अधिकारीको निष्कर्ष छ । सोमबार निर्धारित समयमै मतदान सकिए पनि उपमहानगरको गणना लामो सुरक्षा कसरतपछि मंगलबार २ बजेपछि मात्र सुरु भएको हो ।

प्रकाशित : आश्विन ४, २०७४ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?