१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मत गन्नै सुस्त

छैटौं दिनमा बल्ल ११३ स्थानको मात्र परिणाम
राजेश मिश्र

काठमाडौं — १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार साँझसम्म बल्ल १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो ।

 मत गन्नै सुस्त

तर मत गन्ने काम सुस्त भएकाले अझै केही दिन लम्बिने देखिएको छ । 

‘सबै स्थानको परिणाम आइसक्न अझै २/३ दिन लाग्न सक्छ,’ आयोग प्रवक्ता सहसचिव नवराज ढकालले भने, ‘आयोगले लक्ष्यअनुसार नै काम गरिरहेको छ, यतिन्जेलसम्म झन्डै ८५ प्रतिशत परिणाम आइसकेको छ ।’ 
गणनामा ढिलाइ हुनुका कारण थोरै मतान्तर पनि हो । प्रवक्ता ढकालका अनुसार प्रतिस्पर्धा कडा भएपछि मतपत्र पटक–पटक प्रतिनिधिहरूलाई देखाएर गन्नुपर्दा ढिलाइ भएको हो । उनले गणनालाई व्यवस्थित र छिटो सक्न आयोगले निर्देशन दिनुका साथै आवश्यक सहयोग पनि पठाएको बताए । प्रदेश २ को ८ वटै जिल्लाका मतपत्र ठूलो आकारमा रहेकाले पनि गणनामा ढिला भइरहेको छ । दलहरूबीच आउने विवादले पनि मत गन्ने काम सुस्त हुन पुगेको छ । 

सबैको चासो रहेको प्रदेश २ को एक मात्र महानगर वीरगन्ज र तीनवटा उपमहानगरको परिणाम भने अझै आइसकेको छैन । परिणाम आएकामध्ये ५५ नगरपालिका र ५७ गाउँपालिका छन् । जसमा नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानमा जित हासिल गरेको छ । कांग्रेसले ३४ स्थानीय तह जितेको छ भने ६ स्थानमा अग्रता कायम राखेको छ । २२ स्थान जितेर दोस्रो स्थानका लागि संघीय समाजवादी फोरम प्रतिस्पर्धामा देखिएको छ । अन्य तीन स्थानमा अगाडि देखिएको छ । 

तेस्रो स्थानमा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी देखिएका छन् । दुवै दलले १९/१९ स्थान जितेका छन् । माओवादी ६ स्थानमा र राजपा ३ स्थानमा अगाडि छ । यसअघिका दुई चरणकै निर्वाचनमा धेरै स्थानीय तहमा जितेर पहिलो पार्टी बनेको एमाले भने प्रदेश २ मा ५ औं स्थानमा देखिएको छ । उसले १३ स्थान जितेको छ भने ५ स्थानमा अग्रता कायम राखेको छ । यस्तै लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ र नयाँ शक्ति पार्टीले १ स्थानीय तहमा जित हासिल गरिसकेको आयोगले जनाएको छ । 

प्रकाशित : आश्विन ८, २०७४ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?