कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजपाका पक्षमा बढ्दै परिणाम

धनुषा — जनकपुर उपमहानगरपालिकाका दुवै मुख्य पद राजपाको पोल्टामा गएको छ । प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले हराउँदै लालकिशोर साह मेयर चुनिए । उपप्रमुखमा पनि सोही पार्टीकी रीता झा निर्वाचित भएकी छन् ।

राजपाका पक्षमा बढ्दै परिणाम

साहले २१ हजार ९ सय ३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज साहले ११ हजार १ सय ६४ मत मात्र पाए । झाले १७ हजार १ सय ४७ मत ल्याइन् ।

जनकपुरका २५ वडामध्ये १२ वटामा राजपा, ७ वटामा कांग्रेस, ३ वटामा संघीय समाजवादी फोरम, २ वटामा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार अध्यक्ष चुनिएका छन् ।

मेयरमा विजयी साहले नगरको सडक, शिक्षा, स्वास्थ्य, सरसफाइ र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘यो राजपाको होइन, आमजनताको जित हो,’ उनले भने, ‘जनकपुरमा मधेस मुद्दाको जित भएको हो ।’ २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट बागी उठेका उनी उपप्रमुखमा निर्वाचित भएका थिए ।

महोत्तरीमा पनि
महोत्तरी जिल्लाका पिपरा गाउँपालिका र मनरा सिसवा नगरपालिकाको नेतृत्व राजपाले गर्ने भएको छ । आइतबार घोषित परिणामअनुसार पिपरामा विनोदकुमार चौधरी अध्यक्ष चुनिएका छन् । उनले ४२३९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विक्रम चौधरीले १८१७ मत मात्र पाए । उपप्रमुखमा राजपाकै ननुकुमारी दास २५७३ मतसहित विजयी भइन् ।

त्यस्तै मनरा सिसवा नगरपालिकामा राजपाका सञ्जयकुमार सिंह २७७५ मत ल्याएर मेयर चुनिए । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका महेन्द्र रायले ३२६१ मत पाए । उपप्रमुखमा पनि रजपाकै रमिता प्रधान ४०५३ मतसहित विजयी भइन् । जिल्लाका १५ स्थानीय तहमध्ये राजपाले सबैभन्दा बढी ७, माओवादी केन्द्रले ४, कांग्रेसले ३ र संघीय समाजवादी फोरमले १ स्थान जितेका छन् ।

सर्लाहीका ६ तहमा राजपा
सर्लाहीका सबै २० तहको मतगणना सम्पन्न भएको छ । आइतबार टुंगिएको मतगणनाअनुसार राजपाले ६ तह, कांग्रेसले ५ तह, एमालेले ४ तह, माओवादीले ३ तह, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले १/१ स्थानमा प्रमुख जितेका छन् । उपप्रमुखमा भने राजपाले ७ र संघीय फोरमले २ स्थानमा जित हात पारे ।

पछिल्ला ५ स्थानको परिणाममा एमाले २, माओवादी केन्द्र, कांग्रेस र राजपा १/१ स्थानमा विजयी भएका छन् । अन्तिममा गणना सकिएको कविलासी नगरपालिकामा राजपाका उम्मेदवार कौशलकिशोर यादव मेयरमा विजयी भएका हुन् । संघीय समाजवादी फोरमका ब्रह्मदेव राय उनका निकटतम प्रतिस्पर्धी भए । उपमेयरमा भने राजपाकी रामकुमारी देवीलाई पराजित गर्दै फोरमकी राधादेवी विजयी भइन् । सदरमुकाम रहेको मलंगवा नगरपालिकामा कांग्रेसका निरसल साह विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार नागेन्द्रप्रसाद यादव रहे । राजपाका उम्मेदवार नागेश्वर राय यादव तेस्रोमा सीमित भए ।

उमपेयरमा कांग्रेसकै सवनम मिकरानी विजयी बनिन् । त्यसैगरी ईश्वरपुर नगरपालिकाको मेयरमा एमालेका मनोज देवकोटा विजयी भए । माओवादी केन्द्रका जयप्रकाश चौधरी उनका निकटतम प्रतिद्वन्द्वी थिए । उपमेयरमा एमालेकै एकादशीदेवी चौधरी विजयी बनिन् । हरिपुर नगरपालिकामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा जमरुद्धिन मन्सुर विजयी बने । कांग्रेसका उदयनारायण चौधरी दोस्रो स्थानमा रहे । उपमेयरमा एमालेकै रेणुदेवी काफ्लेले जित हासिल गरिन् ।

बरहथवा नगरपालिकामा माओवादी केन्द्रका देवानन्द महतो मेयरमा विजयी भएका छन् । उनलाई कांग्रेसका निरञ्जनप्रसाद दासले पछ्याएका थिए । उपमेयरमा केन्द्रकै सीतादेवी माझीले जित हासिल गरिन् । उनलाई कांग्रेसकी यशोदादेवी निरौलाले पछ्याएकी थिइन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?