झुपडीबाट उठेर नगर नेतृत्व

भरत जर्घामगर

सिरहा — माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।

यो खुसी मधेसको दलित ‘पासवान’ बस्ती बेतहाका ३५ वर्षीय गंगा पासवान माओवादी केन्द्रबाट कर्जन्हा नगरपालिकाको मेयरमा निर्वाचित भए पछिको थियो । दलित पासवान समुदायबाट अहिलेसम्मकै कार्यकारी राजनीतिक पदमा पुग्ने भाग्यमानी गंगालाई सबैले घेरेर बधाइ
दिइरहेका थिए ।

Yamaha

अभावै अभावमा दैनिक मजदुरी गरी स्कुल पढेका गंगा २०५८ तिर ‘जनयुद्ध’ मा होमिए । चार दाजुभाइमध्ये गंगा माहिला हुन् । जेठा राजाराम मजदुरी गर्छन् । कान्छा श्रीप्रसाद १२ कक्षा पढदै विद्यालयमा न्यून तलबमा काम गर्छन् । साहिँला बलि पासवान मजदुरी गर्छन् । अहिलेसम्म सगोलमै रहेको उनको परिवारका गंगा ‘जनयुद्ध’ मा होमिएपछि परिवारैले दु:ख भोग्नुपर्‍यो ।

१ वर्षीय काखे छोरा राजलाई च्यापेकी गंगाकी पत्नी पवित्रीले भनिन् ‘गरिब जनताको मुक्तिका लागि लडाइँको मोर्चामा लागे भनेर हिँड्ेपछि घरमा रुवावासी नै चल्यो ।’ त्यसपछि पासवान परिवारमा कहिल्यै चैन भएन । ‘तत्कालीन सुरक्षा निकायले साह्रै दु:ख दियो,’ उनले विगत सम्झिन्, ‘कति रात भोकै, नसुतिकनै बितायौं, दिन–रात रुन्थ्यौं, चैनले घरमा बसेनौं ।’

जनमुक्ति सेनाको प्लाटुन कमान्डरसम्म भएका गंगा उदयपुरको खुर्सानीटार, महोत्तरीको जलेश्वरमा तत्कालीन शाही सेनासँगको जम्काभेटमा भिडेर जोगिए । २०५९ मा सेनाको बन्दीपुर ब्यारेक आक्रमणमा खुट्टामा चोट लागेर लामो समय थलिए । पछि भूमिगतरूपमा उपचार गराएर उनी फेरि पार्टीमै होमिए ।

शान्ति प्रक्रियापछि सेना समायोजनको क्रममा स्वेच्छिक बहिर्गमन रोजेर पूर्णकालीन राजनीतिमा लागेका थिए, गंगा । माओवादी केन्द्रका जिल्ला सदस्य, विघटित महाधिवेशन आयोजक समिति सदस्य र वाईसीएलको केन्द्रीय सदस्य भइसकेका पासवानले गरिब जनताको पक्षमा सदैव काम गरिरहेकाले अहिले मतदाताले पत्याएर भोट दिएको बताए ।

उनको टोलमा गाउँ ब्लक जग्गामा सय घरभन्दा बढी भूमिहीन सुकुम्बासी दलित पासवान समुदायको बसोबास छ । बस्तीका अधिकांश ज्याला मजदुरी गरी गुजारा चलाउँछन् । गंगासँगै आमा ५८ वर्षीया बिल्टी पासवान दिनहँु विजय जुलुसमा सहभागी हुन्छिन् । गंगाका बुबाको तीन वर्षअघि निधन भयो । ‘बुबा बाँचेको भए मेयर भएको देख्दा कति खुसी हुन्थे होला,’ गंगाका साहिँला भाइ बलिले भने, ‘जनयुद्धको दु:ख मात्र भोगे, खुसी हुने बेला हेर्न पाएनन् ।’

संघर्षको मैदानमा धेरै दु:ख, पीडा भए पनि पार्टीले मूल्यांकन गरेर पतिलाई ठूलो पदमा पुर्‍याएकोमा सावित्रीले विगतको पीडा भुलेको सुनाइन् । उनले भनिन्, ‘पहिले दु:ख थियो, अहिले खुसी छु ।’ सावित्रीमात्र होइन गरिबको छोराले मेयर पाउँदा बस्ती नै खुसी छ । ‘नसोचेको कुरा भयो,’ गंगाका दांैतरी आशाराम पासवानले भने, ‘गरिबका दिन पनि फिर्दा रहेछन् ।’

गंगालाई जिताउन बस्तीका सबैजना घरमै बिहानको खाना खाएर भोट माग्न निस्कने र साँझ फेरि घरमै खाना खाएर खटेको आशारामले सुनाए । ‘कार्यकर्तालाई खाना खुवाउने रकमसमेत थिएन,’ उनले भने । विजय जुलुसका क्रममा बस्तीपुर बगाहामा भेटिएका मेयर गंगाले चुनाव प्रचारप्रसारका लागि न्यूनतम खर्चको व्यवस्थापन पार्टीले नै गरिदिएको सुनाए ।

पार्टी शान्ति प्रक्रियामा आएपछि एसएलसी उत्तीर्ण गरेका उनले चुनावका बेला मतदातासामु गरेका गास, बास, कपाससहित स्थानीयस्तरमै रोजगारी सिर्जना गरी नगरलाई नमुना बनाउने प्रतिबद्धता पूरा गर्ने बताए ।

‘गोलबजारलाई जिल्लामै नमुना बनाउँछौं’
गोलबजार लाई पूर्व–पश्चिम राजमार्गले दुई भागमा छुट्टयाएको छ । यो जिल्लामै व्यवस्थित र बढदो सहरीकरण उन्मुख नगर हो । स्थानीय देवनाथ साहले यहाका सबै व्यापारीलाई संगठित गरी २०४७ मा गोलबजार उद्योग व्यापार संघ गठन गरेका थिए । संस्थागत अध्यक्ष रहेका उनले बजारसँगै व्यापार विस्तारको कामलाई २०६४ सम्मै निरन्तरता दिए । उनै देवनाथ साह माओवादी केन्द्रका तर्फबाट अहिले गोलबजार नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

२०२९ मा अग्रिम ज्याला अभियान चलाएर वामपन्थी राजनीतिमा प्रवेश गरेका साहले असोज २ गते भएको स्थानीय तह निर्वाचनमा जित हासिल गरेर नगरमा वामपन्थी प्रभाव कायमै रहेको प्रमाणित गरेका छन् । उनले व्यापार संघको पहलमा २०५२ मा पहिलो पटक भीएचएफ टेलिफोन जडान गरी गोलबजारवासीलाई सञ्चार सुविधाको पहुँचमा पुर्‍याएका थिए । टेलिफोनबाट त्यतिखेर ८० हजार रुपैयाँ आम्दानी गरेपछि त्यो रकम गोलबजारमा क्याम्पस स्थापनाका लागि विद्यालयलाई हस्तान्तरण गरिदिए । उनी विद्यालयको व्यवस्थापन समिति सदस्य भए । २० वर्षसम्म समितिमा रहेर काम गरे । उनी पछि क्याम्पस सञ्चालक समिति सदस्य बने ।

यो नगरको जनसंख्या ५२ हजार १ सय ३७ छ । पहिलोपटक नगरको नेतृत्व लिएपछि साहले यो ठाउँलाई खेलकुद विकासको थलो बनाउन स्टेडियम निर्माण, हरित पार्क र एक घर एक बिरुवा अभियान चलाउने बताएका छन् ।

प्रकाशित : आश्विन १०, २०७४ ०९:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गोक्यो रीको सौन्दर्य खोज्दै

सुनीता साखकर्मी

काठमाडौं — झन्डै २४ वर्ष अगाडि । उनी अन्दाजी १४ वर्षका थिए । सिन्धुलीका विद्यालयमा तिनताक दसंंैदेखि तिहार नसकुन्जेलसम्म बिदा हुन्थ्यो । बुवा टुरिस्टको भारी बोक्ने काम गर्थे ।

त्यसपटक भने बुवाले उनलाई पनि यात्रामा जानको लागि भने । र, उनी बुवासँगै यात्रामा निस्किए । बुवाले ठूलो भारी बोके, उनलाई पनि सानो भारी बोकाए । भरियाबाट सुरु भएको उनको यात्रा अहिले टुरिस्ट गाइडमा आइपुगेको छ । उनी अर्थात् दावा लामा तामाङ । उनले भरिया वा ट्ेरकिङ गाइडका रूपमा विभिन्न हिमाल, ताल, हिम नदीहरूको यात्राका क्रममा खिचेका तस्बिरहरूलाई नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखेका छन् । 

‘यात्राका क्रममा मैले ३३ देखि ३४ हजारको हाराहारीमा फोटो खिचिसकेका छु,’ उनले भने, ‘प्रदर्शनीमा ३३ वटा फोटा राखेको छु ।’ भारी बोकेर कमाएको पैसाले उनले सुरुमा कम्प्याक्ट क्यामेरा किने । सानो लेन्सको कारण फोटो राम्रो आउँदैनथ्यो र उनी अटो सिस्टममै फोटो खिचिदिन्थे । उनी सबैभन्दा बढी सगरमाथाको बेसक्याम्पमा पुगेका छन् । ‘सगरमाथा बेसक्याम्पमा झन्डै ५० चोटिभन्दा बढी पुगेँ हुँला, गनेको छैन,’ उनले भने । २००९ मा यूकेबाट आएका ५० जना विद्यार्थीको टोलीलाई गाइड गर्दै उनले सगरमाथाको बेसक्याम्प पुर्‍याए । त्यसबाट फर्किएपछि उनले ठमेलमा ‘ट्राभल टाइम्स’ एजेन्सी सुरु गरे । त्यो राम्रैसँग चल्यो र उनले राम्रो क्यानोनको क्यामेरा किने । त्यसपछि उनले यात्राका क्रममा झनै राम्रो फोटो खिच्न पाए । २०१२ मा उनले फोटोग्राफीको ट्ेरनिङको लिएपछि त झनै उनले राम्रो फोटो खिच्न सके । 

उनी आफूलाई ‘लक्की’ मान्छन् । विभिन्न मौसमका बेला एउटै ठाउँमा पुग्दा त्यस ठाउँको हावापानी र अवस्थाबारे जान्न पाएका छन् । उनी सगरमाथा बेसक्याम्पका साथै अन्नपूर्ण, कञ्चनजंघा, मकालु हिमालको बेसक्याम्पमा पुगेका छन् । उनले गोक्यो रिको फोटोहरू राखेका छन् । उनी यो ठाउँलाई ‘फोटोग्राफीमा सोखिनका लागि उत्कृष्ट ल्यान्डस्केप’ को रूपमा व्याख्या गर्छन् । सगरमाथा, नुप्से, ल्होत्से, पुमोरी, लोबुचे, नोग्जुम्बा, रेन्जोला हिमाललगायत गोक्यो ताल एकै नजरमा देखिन्छ । र, उनले २०१३ मा खिचेका फोटो प्रदर्शनीमा मुख्य आकर्षणको केन्द्र हो ।

उनका फोटोमा सेता हिमाल टल्किएको देखिए पनि वास्तविक अवस्थामा भने निकै कमी आइसकेको उनले सुनाए । ‘यो फोटो २०१३ मा खिचेको हुँ । त्यतिबेला अफ सिजनमा पनि सेता हिउँ हुन्थे,’ उनले भने, ‘अहिले अफ सिजनमा यहाँको हिमनदी कालो पत्रले ढाकेको हुन्छ र निकै पातलो भइसकेको छ । यस्तै वास्ता नगरी छोड्ने हो भने १० वर्षपछि यो हिमनदी नै देखिँदैन ।’ उनले चीन र भारतमा सञ्चालनमा रहेका अत्याधिक कार्बनडाइअक्साइड उत्पादन गर्ने औद्योगिक कलकारखानाहरूका कारण यस्तो भएको अनुमान लगाए । भने, ‘उनीहरूले उत्पादन गरेको ग्यासको असर हामीलाई परिरहेको छ । त्यसैले उनीहरूले हाम्रो सम्पदा जोगाउनको लागि फन्डिङ गर्नुपर्छ र हामीले पनि जोगाउनुपर्छ । नत्र त्यो क्षेत्र अबको केही समयपछि मासिन सक्छ ।’ 

मानिसको पर्यटकीय गन्तव्यको रूपमा रारा, मुस्ताङ मात्रै परिरहेको अवस्थामा उनले गोक्यो रीमा पनि पर्यटनको सम्भावना प्रचुर रहेको देखाउने उद्देश्यले प्रदर्शनी गरेको बताए । यो मात्र नभएर उनले काभ्रेको तेमालमा आफ्नै लगानीमा आठ कक्षासम्म पढाइ हुने श्री सनमन प्राथमिक विद्यालय खोलेछन् । प्रदर्शनीमा बिक्री भएका फोटाहरूबाट उठेको पैसा उनले सोही विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर वृद्धिमा खर्च गरिने उनले सुनाए । 

प्रदर्शनी शुक्रबारसम्म चल्नेछ । 

प्रकाशित : आश्विन १०, २०७४ ०८:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT