तीन दशकदेखि गाउँको नेतृत्व

लक्ष्मी साह

बारागढी (बारा) — साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन ।

 तीन दशकदेखि गाउँको नेतृत्व

पञ्चायत कालको प्रधानपञ्चदेखि गणतन्त्रको गाउँपालिका प्रमुखसम्म बन्न उनलाई पारदर्शी कार्यशैलीले साथ दिएको स्थानीयको बुझाइ छ । कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका बछाड मंगलबार कोल्हवी बजारमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रममा आकर्षणको केन्द्र बने । कार्यक्रम अवधिभर उनलाई बधाईको ओइरो लाग्यो । उनले २०३९ देखि नै गाउँ प्रमुख जित्दै आएका छन् । ‘गाउँ पञ्चायतको वार्षिक बजेट पाँच सय हुँदादेखि नै पारदर्शी व्यवहार छाडिनँ, अहिले बजेट करोडमा पुग्दा पनि मूलमन्त्र त्यही राख्छु,’ उनले भने, ‘पहिला सजिलै जित्थे, यसपालि कडा मेहनत गर्नुपर्‍यो ।’ सडक बनाएर गाउँपालिकाका सबै वडा यातायात सम्पर्कले जोड्ने र शिक्षामा जोड दिने बछाडको योजना छ । उनले लगातार २० वर्ष बुधगाईं माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । २०५६ मा सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोहीले आर्थिक र मानसिक तनाव दिँदा पनि जनताको सेवा गर्न पछि नहटेको उनले सुनाए । प्रजातन्त्रपछि दुईपटकको स्थानीय चुनावमा उनी एमाले उम्मेदवारलाई उछिनेर गाविस अध्यक्ष भए । यसपालि उनको प्रतिस्पर्धा संघीय समाजवादी फोरमसित भयो ।

बारागढी–५ का ६९ वर्षीय सुरेन्द्र चौधरीले ‘बछाड बाबु’ लाई नचिने पनि नाम सुनेकै भरमा पूरै टोलवासीले भोट दिएको बताए । ‘सोझा र भद्र हुनुहुन्छ भन्ने सुन्यौं । त्यही थाहा पाएर भोट दियौं ।’ जुन समुदाय वा पार्टीको भए पनि सबैसित मिल्ने स्वभावका कारण बछाडले पटकपटक बाजी मार्दै आएको बारागढी १ पिप्राबसतपुरका अरुण चौधरीले बताए । ‘सबैलाई समान व्यवहार र सहयोग गर्नुहुन्छ, कसैमाथि टुटेर बोल्नुहुन्न,’ उनले भने ।

नेटुवाबाट पहिलो जनप्रतिनिधि
बारागढी गाउँपालिकाको उपाध्यक्ष चुनिएकी लक्ष्मीदेवी राय ‘नेटुवा’ समुदायबाट देशकै पहिलो जनप्रतिनिधि बनेकी छन् । जितपछि २७ वर्षीया लक्ष्मीको परिवार मात्र होइन, समुदायभरि नै खुसी छाएको छ । पाँचौंपटक अध्यक्ष जितेका बछाडजत्तिकै चर्चामा छिन् लक्ष्मी पनि । ‘दुवैको जित अनौठो छ,’ बारागढी ६ स्थित उद्योग वाणिज्य संघका पूर्वमहासचिव राजकुमार साहले भने, ‘दुवैले सहयात्री भएर समाजलाई सही दिशानिर्देश दिनुपर्छ ।’

जिल्लामा नेटुवाको संख्या साढे २ सयजति छ । सरकारले यो समुदायलाई अल्पसंख्यकमा राखेको छ । राष्ट्रिय जनगणनाअनुसार अल्पसंख्यक समुदायको सूचीमा यो जाति सबभन्दा तल छ । ‘पीडितको पक्षमा उभिएर सेवा दिन्छु,’ लक्ष्मीले भनिन्, ‘कुनै लोभलालचमा पर्दिनँ ।’ समान्य साक्षर रहेकी उनी अब पढ्ने सोचमा छिन् । ‘यस्तो पदमा बस्ने कहिल्यै चाहना र सपना थिएन तर कसरी भएँ, आफैंलाई थाहा छैन,’ उनले भनिन् ।

प्रकाशित : आश्विन १८, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?