१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कहाँ भए विस्फोट र झडप ?

काठमाडौं — प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन क्रममा केही स्थानमा विस्फोट तथा झडप भएका छन् । अर्घाखाँचीका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको छ भने मतदान सकेर मतपेटिका ओसार्ने क्रममा सिन्धुली र मकवानपुरमा विस्फोट भएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कस्थित मथुरा निमावि ‘ख’ केन्द्रमा मतदान स्थगित भएको छ । प्रमुख निर्वाचन अधिकृत केदारनाथ शर्माका अनुसार उक्त केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले मतपत्रमा हस्ताक्षर नगरीकन मतदान गर्न दिएको भन्दै विवाद भएपछि स्थगित भएको हो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ बाट सदरमुकाम ल्याइँदै गरेको मतपेटिकालाई लक्षित गरी कुण्ड भन्ने स्थानमा बम विस्फोट गरिएको थियो । मतपेटिका भने सुरक्षित रूपमा नजिकै रहेको प्रहरी चौकीमा लगेर राखिएको थियो । मकवानपुरमा पनि मतपेटिका जिल्ला सदरमुकाम हेटौंडा ल्याउने क्रममा २ स्थानमा अज्ञात समूहले बम विस्फोट गराए । विस्फोटबाट स्कर्टिङमा रहेको प्रहरीको गाडीमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक दिलीपराज झाले बताए तर मानवीय र मतपेटिकामा क्षति भने
भएको छैन ।

मतदान चलिरहँदा नवलपरासीका २ छुट्टाछुट्टै मतदान केन्द्रमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बर्दघाट नगरपालिकाको राजा महात्मा माध्यमिक विद्यालयको हातामा बम विस्फोट हँुदा ५ जना घाइते भएका हुन् ।
मतदान केन्द्र नजिक रहेको बालुवाको थुप्रोमा रेडबुलको डब्बाभित्र राखिएको बम पडकिँदा स्थानीय मनमाया सुवेदी, ममता सुवेदी, भगवती अधिकारी, अनिश छन्त्याल र विवेक छन्त्याल सामान्य घाइते भएका हुन् । यस्तै, देवचुली नगरपालिका १२ गैंडीमा रहेको दिव्यज्योति आधारभूत विद्यालयमा बम विस्फोट हुँदा एक मतदाता घाइते भएका छन् ।

सुनसरी १ को धरानस्थित चन्द्रसंस्कृत उमावि मतदान केन्द्रमा पनि बम विस्फोट भएको छ । यस्तै, अछामको चौरीपाटी गाउँपालिकाको पिपलोता मतदान केन्द्रमा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भयो । त्यहाँ स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको छ । स्याङजाको चापाकोट नगरपालिका ४ स्थित राममन्दिर मतदानस्थलमा पनि झडप भएको थियो । वाम गठबन्धनकी क्षेत्र २ की उम्मेदवार पदमा अर्यालले आफूमाथि हातपात भएको बताएकी छन् । सुरक्षाबल सँगै हुँदा पनि उनको सवारी साधनमाथि ढुंगामुढा प्रहार भएको थियो । बुथभित्र एकलौटी फर्जी मत खसालेको सूचना पाएपछि आफू पुगेको भन्दै अर्यालले
आफ्नो मोबाइल खोसिएको र ढुंगामुढा गरिएको बताइन् । स्याङ्जाकै तुलसीभन्ज्याङमा लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । मतदाताको विषयलाई लिएर दुई पक्षका कार्यकर्ताबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो । विवाद मिलाउन नसकेपछि हवाई फाइरिङ गर्नुपरेको गल्याङ प्रहरी चौकीले जनाएको छ ।

भक्तपुरको बालकोटमा पनि कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसको बलियो क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता पुगेपछि झडप भएको थियो । यसैगरी, वीरगन्ज महानगरपालिका ३१ को बेल्वा प्रसौनी मतदान केन्द्रमा पनि सामान्य झडप भएको छ । सर्लाहीको कौडेना गाउँपालिकाको फूलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भयो । झडपमा एक महिलासहित तीनजना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो ।

प्रकाशित : मंसिर २२, २०७४ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?