जो बाटो देखाउँछन्

भीम घिमिरे

काठमाडौँ —  गाउँबाट पोखरा पढ्न आएका थुप्रै छात्रामध्ये तीन जनाको रहर अलि बेग्लै थियो  । घरको आर्थिक अवस्था सम्झेर उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्थे  ।

शृंगारका सामग्री पसलमा सहयोगी र बजार प्रतिनिधिको काम मिल्यो । तर, सुन्तुष्टि मिलेन । पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र सिध्याउन लागेका बेला यीमध्ये एक जनाले अखबारमा ‘थ्री सिस्टर्स’ को कहानी देखिन् । त्यसमा संस्थाका सञ्चालिका लक्की, डिक्की र निक्की कार्कीको कथा मात्रै थिएन, उनीहरूले महिलालाई गाइड बन्न जागिरको ग्यारेन्टीसहित तालिम दिन्छन् भन्ने उल्लेख थियो । तीन सहपाठी कुरा बुझ्न ‘थ्री सिस्टर्स’ को कार्यालयमा जाने भए ।


अमेरिकी टेलिभजन च्यानल सीएनएनले कार्की दिदी बहिनीले पदमार्गका लागि महिला गाइड तयार गरिरहेको विषयमा वृत्तचित्र प्रसारण गरेपछि महिला सशक्तिकरणका विषयमा लेख्न चाहने धेरैका नजरमा उनीहरू परेका थिए । वर्षौंदेखि कार्की दिदीबहिनी ‘अन द जब ट्रेनिङ’ दिएर महिला गाइड तयार पारिरहेका छन् ।

सात/आठ दशकअघि रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । लालबहादुरका एक मात्र सन्तान थिए कर्णबहादुर । कर्णबहादुर दार्जिलिङमै जन्मिए, बाल्यकाल त्यहाँको सुकियापोखरीमा बित्यो । विवाह गरेपछि लगालग आठ सन्तान भए । कर्णबहादुरको परिवार पुर्ख्यौली थलो खोज्दै ठोसेमै फर्कियो । केही वर्ष रामेछापमा बितेपछि खर्च धान्न कर्णबहादुरले पिताको पथ चियाए । उसैगरी सपरिवार दार्जिलिङ पुगे ।२०४९ मा कर्णबहादुर दिवंगत भएपछि कार्की परिवारले फेरि नेपाल फर्केर पोखरा पुग्यो। ‘थ्री सिस्टर्स’ तिनै कर्णबहादुरका छोरीहरू हुन् । ‘हामीले ब्याचलरसम्म दार्जिलिङमा पढेकाले पोखरामा अंग्रेजीको कदर हुने अवस्था थियो,’ लक्की भन्छिन्, ‘तैपनि सुरुआतका दिन धेरै संघर्षका रहे । आज हामी ट्रेकिङ एजेन्सी चलाएर मात्रै बसेका छैनौं, गाइड बन्न चाहने नेपाली चेलीहरूलाई बाटो देखाइरहेका छौं ।’


पुरुषको वर्चस्व रहेको ट्रेकिङ गाइड र पर्यटक सहयोगीको पेसामा कार्की दिदी बहिनीको संस्था झन्डै दुई दशकदेखि महिलालाई निरन्तर अघि बढाइरहेको छ । उक्त संस्थामा हाल चार दर्जनभन्दा बढी महिला गाइड छन् । केही वर्ष निरन्तर काम गरेर सक्षम भएकाहरू आफ्नै संस्था खोल्दै र अरूमा गए पनि गुरुआमा रहेका कार्की दिदीबहिनीलाई सम्मान गर्छन् । आउने र जाने क्रम वर्षौंदेखि चलिरहँदा कार्की दिदीबहिनीको महिलालाई पौरखी बनाउने अभियानमा अड्चन आएको छैन । तर, यतिबेलाको कथाचाहिँ ‘मल्ल सिस्टर्स’ को हो । कार्की दिदीबहिनीको खबर पढेपछि ‘थ्री सिस्टर्स’ कार्यालयमा प्रस्ट कुरा बुझ्न जाने कलेजका ती तीन छात्रामध्येकी एक थिइन् विष्णु मल्ल ।


‘उहाँहरूले गाइड बन्ने तालिम दिनुहुने रहेछ । कुरा बुझ्दा ठीकै लाग्यो । मलाई घुम्ने रहर । काम पनि मान्छे घुमाउने, ठाउँका बारेमा बताउने,’ विष्णु मल्ल भन्छिन्, ‘एकमहिने तालिम लिएँ, त्यसमा फिल्ड वर्क पनि थियो । पछि थ्री सिस्टर्सकै लागि काम गर्न थालें ।’ त्यसबेला गाइडको काममा महिला नगण्य थिए । विष्णु भन्छिन्, ‘टुरिस्ट थरीथरीका आउँछन् । महिलाले महिला गाइड नै खोज्दा हामीले काम पाउन थाल्यौं ।’ पाहुना टोलीको मनोविज्ञान बुझ्दै जाँदा पेसालाई निरन्तरता दिन सजिलो भएको उनले बताइन् । ‘हेर्दा–सुन्दा गाइडको काम सजिलै हो तर अंग्रेजी जान्नुपर्छ । पुगेका ठाउँबारे बताउन सक्नुपर्छ,’ उनी भन्छिन्, ‘इमर्जेन्सीका अवस्थामा के गर्ने भनेर छिटो निर्णय लिन सक्नुपर्छ । समय ख्याल गरेर पङ्चुअल हुनैपर्छ ।’ गाइडले अनुशासित, सभ्य र नम्र भए मात्रै काम पाइरहने उनले बताइन् ।


‘एकपटक बिरामी परेपछि मैले बिस्तारै हिँड्ने काम कम गरेँ । अहिले दिदीलाई सघाउँछु । म आर्ट अफ लिभिङकी ट्रेनर भएकी छु ।’ आफू हिँडेको बाटोमा दिदीलाई बोलाएर ल्याएपछि पथप्रदर्शकको काम अझ दिगो रूपमा अघि बढेको उनले बताइन् । उनकी दिदी अर्थात् हीरा मल्ल । पोखरामा अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु र अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाने पर्यटक धेरै आइपुग्छन् । काठमाडौं टेकेपछि मुग्लिनबाट डुम्रे भएर लमजुङको बेंसीसहर हुँदै मनाङ पुग्ने पदयात्री पर्यटक थोराङ्ला पास गरेर मुक्तिनाथ झर्छन् । त्यसपछि जोमसोम, बेनी र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । अन्नपूर्ण आधार शिविरको यात्रामा जानेहरू पोखरा भएर नयाँपुल, वीरेठाँटी हुँदै घान्द्रुक हेर्दै उकालो लाग्छन् । फर्किंदा पोखराकै बास हुन्छ ।


स्याङ्जाको पुतलीबजार–८ बाहाकोटका मल्लका ५ सन्तानमध्येकी जेठी छोरी हुन् हीरा । एसएलसी दिएर घर बसेलगत्तै उनको विवाह भयो । माइतीबाट डेढ घण्टा दूरीको गाउँ पुगिन् । दुई सन्तान जन्मिए । कामको खोजीमा भौंतारिएर श्रीमान् पोखरा झरेका थिए । छोरी जन्मिएपछि घर आउन छाडे । यदाकदा आए पनि झगडा हुन थाल्यो । ट्याक्सी चलाउने काम गरिरहेका उनले डेरामा कान्छी भित्र्याएपछि घर आउने बाटो बन्द भयो । तर, घर चलाउनै गाह्रो पर्‍यो । दूधमुखे छोरी निकै बिरामी परिन् । उपचार गराउन हीरा पोखरा आइपुगिन् । उनको घरबार बिग्रिएको देखेर बैनी विष्णुले सम्हालिन् । दिदीलाई आफू जसरी नै ‘थ्री सिस्टर्स’ मा तालिम दिलाउन पुर्‍याइन् । ‘दिदीको बानी मजस्तो हक्की पाराले प्रस्ट बोल्ने थिएन । मलाई यसले कसरी काम गर्लीजस्तो लागेको थियो,’ विष्णु भन्छिन्, ‘तर, आज दिदीले महिला ट्रेकिङ गाइडमा आफ्नो नाम बनाएकी छे । म दिदीको सहयोगी भएकी छु ।’


हीराका छोरा यतिबेला ११ कक्षा र छोरी ५ कक्षामा पढ्छन् । टुरिस्ट गाइड बनेकी आमाले घर धानेकी छन् । महिनामा मुस्किलले एक साता घर बस्न पाउने रुटिन हुने गरेको छ । ‘म चरा पनि चिनाउन सक्ने भएकीले मैले घुमाउने टुरिस्टहरू बर्ड वाचर पनि धेरै हुन्छन्,’ हीरा भन्छिन्, ‘मलाई आइपरेका केही पर्यटकको रुचिका कारण चरा चिन्न सजिलो भयो । पोखरामा टुर गाइडलाई चरा चिनाउने तालिमले पनि सघायो ।’ मल्ल दिदीबहिनीले यतिबेला आफ्नै ट्रेकिङ एजेन्सी चलाएका छन् । ‘एक दिन एउटा टिमलाई मैले बताइरहेको एउटा क्यानडेली जोडीलाई मन परेछ,’ उनी भन्छिन्, ‘पोखरा फर्किएपछि उनीहरूले मलाई सम्पर्क गरे । पछि उनीहरूले नै छुट्टै एजेन्सी चलाउन मद्दत गरे ।’ बाटामा भेटिएका ब्रुस र थेरेसले दोस्रो पटक नेपाल आउँदा हीरालाई नै आफ्नो पथप्रदर्शक बनाएपछि उनीहरूको चिनजान बढेको थियो । क्यानडेली दम्पतीले क्यानडा घुमाउन लगे । थेरेसले ‘मल्ल सिस्टर्स’ का लागि वेबसाइट पनि बनाइदिएपछि छुट्टै आफ्नै काम गर्न बाटो खुल्यो ।


‘अहिले हामीलाई वेबसाइटमै सम्पर्क गरेर टुरिस्टहरू जान चाहेको ठाउँ र मिति बताउँछन्,’ हीरा भन्छिन्, ‘हामी आफ्नो समय त्यसैअनुसार म्यानेज गर्छौं । कामले खाली बस्नुपरेको छैन ।’ पोखरा आइपुग्ने पर्यटकलाई घुमाउन गण्डकी र धौलागिरीका सबैजसो पर्यटकीय पदमार्ग छिचोलेकी हीराले ५ हजार ४ सय १६ मिटर उचाइको थोराङ्ला पास मात्रै १६ पटक गइसकेको बताइन् । उनी लाङटाङ, अन्नपूर्ण र सगरमाथा आधा शिविरसम्म पनि पाहुना लिएर पुगेकी छन् । ‘परिवार, केटाकेटीसहित र वृद्धवृद्धाले सकभर महिला गाइड नै खोज्ने भएकाले हामीलाई सजिलो छ,’ उनी भन्छिन्, ‘एक पटक घुमाउन लगेको टोलीका टुरिस्ट गाइडको व्यवहारले प्रभावित भएभने उनीहरूले चिनेजानेका जो पठाए पनि फलानोलाई गाइड लानु भनेका हुन्छन्, सम्पर्क त्यसरी बढ्ने रहेछ ।’

ि‘१० वर्ष भयो हीरा बहिनीलाई मैले यो ट्रेकिङको फिल्डमा देखेको, अहिलेसम्म कुनै कम्प्लेन छैन,’ ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) पश्चिमाञ्चलका सचिव जीवन सापकोटा भन्छन्, ‘घर छाडेर हप्तौंसम्म हाई अल्टिट्युडमा पुग्नु र अप्ठ्यारा अवस्थामा पनि पर्यटकलाई असुविधा हुन नदिन ध्यान पुर्‍याउनु जो कसैका लागि सजिलो काम हुँदै होइन ।’ आफ्नो अनुभवमा महिला गाइडबारे पर्यटकका नगन्य गुनासा आउने उनले बताए । ‘अहिले पोखरामा सक्रिय महिला गाइड करिब ७० जना हाराहारी छन्, महिलाले मात्रै चलाएका करिब तीनवटा ट्रेकिङ एजेन्सी छन्,’ उनी भन्छन्, ‘जहाँसँगै गएका जेन्स गाइडले अनावश्यक खर्च बढायो, रक्सी खायो, हल्ला गर्‍यो आदि भन्ने टुरिस्टका गुनासा हुन्छन्, त्यही गाइड लेडिज भए त्यस्ता गुनासा सुनिँदैनन् ।’ महिलाहरू काममा बढी ध्यान दिने, अध्ययनशील र व्यवहारमा फरासिला भएको पर्यटकले बताउने गरेको उनले सुनाए ।


टानले पदमार्गमा जाने पर्यटकसँगै गाइडको पनि विवरण राख्ने गरेको छ । गाइड हुने योग्यतामा शारीरिक र मानसिक रूपमा स्वस्थ र एसएलसीसम्म पढेको भन्ने प्रहरीको भर्त्तीका लागि निर्धारित गरिएभन्दा धेरै फरक छैन, जसलाई महिला वा पुरुष जो भए पनि समान रूपले लागू हुन्छ । पुरुषका तुलनामा आधाभन्दा पनि कम संख्यामा रहेका महिला गाइडले निरन्तर काम पाइरहेको विवरणमा छन् । पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाका अनुसार पोखरालाई नै मुख्य थलो बनाएर गण्डकी–धौलागिरीका पदमार्ग घुम्न आउने पर्यटक वार्षिक सरदर १ लाख ७० हजार हाराहारी हुन्छन् । ‘त्यसमा महिला संख्या करिब ४० प्रतिशत रहन्छन्,’ उनी भन्छन्, ‘सहजीकरण र व्यवहारका हिसाबले महिला गाइडबारे प्रभावित भएका पर्यटक भेटिन्छन् ।’


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २०१८ मा पदमार्गै पदमार्ग रहेको अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार ९३ जना पर्यटक आए । सन् २०१८ को अक्टुबरबाट नेपाली पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । अन्तिम तीन महिनामा १ हजार १ सय ३७ नेपाली आएको तथ्यांक छ । ‘तुलनात्मक रूपमा महिला गाइडप्रति ढुक्क हुने भएकाले पनि टुरिस्टमा राम्रो प्रभाव परेको हुनुपर्छ,’ एक्यापका सञ्चार अधिकृत ऋषि बराल भन्छन्, ‘हाम्रो टुरिज्म सेक्टरमा महिला–पुरुष भनेर काममा विभेद छैन । तर, पछिल्लो समय जति पनि महिलाहरू काममा अगाडि आउनुभएको छ, सबैले उहाँहरूलाई हौसला नै दिएको अवस्था छ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्

चुलीतिर पाइला

कुम्भराज राई

काठमाडौँ — पदयात्रा (ट्रेकिङ) हाइकिङ वा मर्निङवाक गरेजस्तो पक्कै हैन  । ‘हाई अल्टिच्युड’ (उच्च हिमाली) क्षेत्रमा हप्तौंसम्म हिँड्नु चुनौतीपूर्ण छ  ।

पदयात्रा र आरोहणका लागि आउने विदेशी पर्यटक घुमाउने पथप्रदर्शक (गाइड) लाई चुनौती नहुने कुरै भएन ।
चुनौतीको सामना गर्ने हजारौँ पुरुष गाइडहरू छन् । थोरै भए पनि गाइड पेसा अपनाउने महिलाहरू नेपालमा छन्, जसले महिलाहरू पुरुषभन्दा कमजोर हुन्छन् भन्ने मानसिकतालाई अन्त्य गरिदिन्छन् । उनीहरूले रुकस्याक पिठ्युँमा भिरेर विदेशीलाई उनीहरूकै भाषामा वर्णन गर्दै नेपालका हिमाल, पहाड घुमाइरहेका छन् ।

ट्रेकिङ गाइड गर्दै आरोहण
आरोहणको बेला अप्ठ्यारोमा पर्दा उनलाई लाग्छ, ‘बेकारमा म किन यो पेसा रोजिरहेको छु । यत्तिका मान्छे हिमाल नचढी बाँचिराखेकै छन् ।’ तर, जब शिखर चुमेर फर्किन्छन् अनि आरोहणको इच्छा जागिहाल्छ । अधिकांश हिमाल आरोहीको आरोहण इच्छा असीमित हुन्छन् । माया शेर्पा (४० वर्ष) को इच्छा पनि अन्य आरोहीको भन्दा फरक हुने कुरै भएन । उनी सगरमाथा चुचुरोमा तीन पटक पुगिन् । पाकिस्तानको माउन्ट केटु, तिब्बती मोहडाबाट चोयू, नेपालका अन्य हिमालहरू मनास्लु, आमादब्लम, पुमोरी, बरुनत्से, हिम्लुङ चढिसकिन् । गत वर्ष कञ्चनजंघा चुचुरोको ६० मिटरमुनिबाट प्राविधिक कारणवश फर्किनुपर्‍यो । उनको खास परिचय आरोही मात्र होइन । उनी ट्रेकिङ गाइड हुन् । आरोहणका लागि ग्रुप लिडर हुन् । विगत १९ वर्षदेखि माया यही पेसामा छिन् ।


ओखलढुंगाको दुर्गम गाउँ खिजिदेम्बा गाउँपालिका ९ पात्लेमा जन्मिएकी मायाका बुवा ट्रेकिङ पेसामा थिए । दुई भाइ, तीन बहिनी छोरीमध्येकी माइली हुन् माया । सानो हुँदा ट्रेकिङबाट फर्केपछि बुवाले सुनाउने यात्राका कथाहरू सुन्दा उनलाई ‘आफू कहिले ती ठाउँमा पुगौं’ जस्तो लाग्थ्यो । १२ कक्षा पास गरेपछि उनलाई पैसा कमाउने इच्छा जाग्यो । दस–पाँचको समय सीमामा बाँधिएर जागिर खाने मनै थिएन । नयाँनयाँ ठाउँ घुम्ने पैसा कमाउने भूत सवार भयो । उनले बुवालाई सँगै ट्रेकिङ लान अनुरोध गरिन् । तर, बुवाले ठाडै अस्वीकार गरे ।त्यसपछि उनले दाइ पर्ने आफन्तहरूलाई अनुरोध गरिन् । उनीहरूले ‘हुन्छ नि त’ भन्ने जवाफ दिए । सुरुमा केही पटक दाइहरूसँगै ट्रेकिङ गरिन् । पछि आफैं गाइड बनेर पर्यटक घुमाउन थालिन् । सुरुका दिनमा काठमाडौंबाट पर्यटक घुमाउन लाने महिला गाइड खासै थिएनन् । पोखरामा ‘थ्री सिस्टर्स’ कम्पनीले महिला गाइडको रूपमा काम गर्न थालिसकेको थियो । पर्यटक लिएर हिमालका कुना कन्दरा पुग्दा केही पुरुषहरूले जिस्काउँथे । सरकारी स्कुल पढेर आएकाले अंग्रेजी भाषा पनि राम्रो थिएन ।

‘सुरुसुरुमा निकै अप्ठ्यारो थियो ।’ मायाले विगत सम्झिइन्, ‘अहिले त धेरै सजिलो भयो । महिला गाइड भनेपछि सम्मान गर्ने समय सुरु भइसकेको छ ।’ ट्रेकिङ गाइड गर्ने क्रममै उनको चिनजान सन् २००३ मा नेदरल्यान्डबाट ट्रेकिङ काम गर्न आएका आर्नोल्डसँग भयो । पछि उनीहरूले विवाह गरे । उनीहरूको नौ वर्षीया छोरी छन् । छोरी जन्मिएपछि पनि मायाले आफ्नो पेसालाई निरन्तरता दिइरहिन् । हाल संयुक्त रूपमा ‘आर्नोल्ड कोस्टर एक्सपिडिसन प्रालि’ नामको कम्पनी चलाइरहेका छन् । त्यसको नेतृत्व मायाले गर्छिन् । माया ‘सगरमाथा आरोही संघ’ की अध्यक्षसमेत हुन् । उनी गत वर्ष नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष निर्वाचित भइन् । एडभेन्चर (साहसी) पेसामा लागेकी महिला नेपालको पर्वतारोहण क्षेत्रमा नेतृत्व तहमा पुगेकी सम्भवतः पहिलो हुन् उनी । यो पेसामा लाग्ने महिला वा पुरुष जो भए पनि सुरुमा कम्तीमा अंग्रेजी भाषाको ज्ञान, आधारभूत तालिम लिएर आउन जरुरी भएको उनले बताइन् । आरोहण र ट्रेकिङ मौसमी पेसा भएकाले आफ्नो दक्षताको आधारमा कमाइ हुने मायाको भनाइ छ ।
बेमौसमका बेला उनी विदेशीहरूलाई आरोहण र ट्रेकिङका विषयमा लेक्चर दिन, प्रेजेन्टसन गर्न युरोपतिर पुगिरहेकी हुन्छन् । लगभग १६ देशको भ्रमण उनले गरिसकेकी छन् । कमाइ चित्तबुझ्दो छ । ‘पेट पाल्न र काठमाडौंमा डेरा भाडा तिर्न पुगेकै छ,’ उनले हाँस्दै सऽनाइन् । उनको अनुभवमा ट्रेकिङ र पर्वतारोहण पेसा अहिले प्रतिस्पर्धामक भइसकेको छ । चीन, पाकिस्तान र भारत नेपालको पहिलो प्रतिस्पर्धी देश हुन् । नेपालले अझै यस क्षेत्रमा फड्को मार्नका लागि मिहिनेत गर्नुपर्ने उनको सुझाव छ । भाग्यवश भन्नुपर्छ अहिलेसम्म उनले गरेको आरोहण र ट्रेकिङमा कहीं पनि ज्यानै खतरामा पर्ने अवस्था भोग्नुपरेको छैन । त्यसो त हिमाल चढ्नु आफैंमा ज्यानको बाजी राख्नुसरह हो । ‘भगवान्ले साथ दिइरहेकै छ । पेसा छोड्ने सोचेकै छैन ।’ मायाले भनिन्, ‘साहस घटेको छैन ।’

बुवाको असफलताले प्रेरित
नुम ४ संखुवासभामा जन्मिएकी २७ वर्षीया दिकी शेर्पाले जीवनमा ट्रेकिङ गाइड बन्छु भन्ने सोचेकी थिइनन् । उनी नजन्मिँदै उनका बुवा गाइड पेसा गर्थे । उनका बुवाले एउटा हिमाल आरोहण गर्दा असफल भएको उनले सानैमा सुनेकी थिइन् । बुवाले हिमाल चढ्न नसकेको घटना स्कुलमा सुनाउँदा उनका साथीहरूले उल्टै जिस्काए । त्यतिखेर उनलाई एकपटक हिमाल चढेर देखाउने झोंक चलेको थियो । स्कुले जीवनपछि भने उनलाई आर्मी वा प्रहरी फोर्समा जागिर खाने रहर पलायो । उनी त्यता पनि भर्ती हुन पाइनन् । सानैदेखि केटाहरूले मात्रै गर्ने भनिने काम गर्नमा उनको रुचि थियो । फुटबल खेल्ने, कराँते खेल्नमा उनको ध्यान जान्थ्यो । धेरै कपडा फटाउने भएकाले बुवा–आमाले उनलाई अरू दिदीबहिनीलाई भन्दा बढी लुगा किनिदिन्थे ।


उनको विवाह ओखलढुंगाका आङबाबु शेर्पासँग भयो । आङबाबु पर्यटन व्यवसायमा आबद्ध थिए । विवाहअघि हिमाल आरोहण गर्न नपाए पनि बिहेपछि उनले ट्रेकिङ गाइडको तालिम लिइन् । पतिले उनलाई काममा सहयोग गरे । गाइडको रूपमा काम गर्दागर्दै उनी एभरेस्ट बेसक्याम्प, लाङटाङ, मनाङ, मकालु क्षेत्रमा पुगिन् । त्यसपछि उनलाई बिस्तारै सानासाना हिमाल चढ्ने रहर जाग्यो । सुरुमा उनले मेरा पिक चढिन् । त्यसपछि मनास्लु हिमाल र राम्दुङ पिक चढिन् । हुँदाहुँदै सगरमाथा चढ्ने रहर पलायो । ‘लैंगिक समानताका लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ भन्ने मूल नारा लिएर उनले गत वर्ष सगरमाथाको सफल आरोहण गरिन् ।


‘यो काममा लागेपछि बिस्तारै छोड्नै नसक्ने अवस्थामा पुगेकी छु,’ दिकीले भनिन्, ‘पेसाले आफैंमा आत्मनिर्भर मात्र बनाएको छैन । समाज, संस्कृति र नयाँ ठाउँको अध्ययन गर्ने अवसर दिएको छ ।’ उनी अहिले लाङटाङमा ‘एडभान्स माउन्टेन लिडरसिप कोर्स’ लिइरहेकी छन् । पहिलेको जस्तो हचुवाको भरमा पेसा गरेर सफल नहुने उनको तर्क छ । भाषा, ज्ञान र तालिम आवश्यक भएकाले सबैले जानेर मात्र यो पेसामा लाग्न सके नेपालको पर्यटन पेसा बदनाम हुनबाट जोगिने उनले बताइन् । संसारको विकसित मुलुकमा हिमाल आरोहीलाई सम्मानका साथ हेर्ने प्रचलन छ । तर, नेपालमा वास्तासमेत गरिँदैन । सरकारले आरोहीको कामलाई मूल्यांकन गर्न नसक्दा धेरै जना यो पेसाप्रति विकसित हुने गरेको उनले बताइन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT