प्रेरणाका तीन रूप

अमृता अनमोल

काठमाडौँ — कमलरीदेखि प्रदेश उपसभामुख


कृष्णी थारू

शिक्षा र आर्थिक उपार्जनका उपाय नभएर पनि बर्दिया राजापुरकी पूर्वकमलरी कृष्णी थारू कमैया मुक्ति अभियानमा लागिन् । यसै अभियानबाट राजनीतिमा प्रवेश गर्दै उनी प्रदेशसभा सदस्य बनिन् । अहिले प्रदेश ५ को उपसभामुख बनेकी छन् । ७ वर्षको उमेरदेखि अरूको घरमा काम गर्न कमलरी बसेकी कृष्णी विद्यालय जान पाइनन् । कमलरी बसेबापत साहुले केही रकम दिन्थे । त्यो पैसा बाआमाले घर खर्चका लागि लैजान्थे । उनले एक रुपैयाँ पनि पाउँदिनथिन् । कमलरी बसेकै अवस्थामा १५ वर्षमा विवाह भयो । पति पनि अर्काको घरमा कमैया थिए । उनले बुक्रेनी (पतिसँगै घरेलु काम गर्ने) भएर काम गरिन् । उनले १८ वर्ष कमलरी र ब्रुकेनीमा बिताइन् ।


कृष्णीले साहुको घरमा बिहानदेखि रातिसम्म घोटिएर काम गर्नुपर्थ्यो । बिरामी हुँदासमेत काम गर्नॅपर्ने बाध्यता थियो । तर पनि ज्याला र जस पाइँदैनथ्यो । यसले कृष्णीलाई विद्रोही बनायो । उनी स्वतन्क्रताको चाहनामा कमैया मुत्ति आन्दोलनमा लागिन् । २०५८ देखि मुक्त कमैया अभियानमा काम थालेकी उनी मुक्त कमैया सञ्जालको गाविस अध्यक्ष, जिल्ला उपाध्यक्ष र केन्द्रीय सदस्य बनेर सिंहदरबार घेराउमा सहभागी भइन् । यसपछि बनेको कमैया महिला जागरण समाजको राष्ट्रिय अध्यक्ष भएर महिलालाई उद्धार र पुनःस्थापनामा कामसमेत गरिन् । ‘कमलरी महिला विकास मञ्च’ लगायतका संघसंस्थामा अगुवाइ गरिन् ।


सरकारले २०५७ साउन २ मा कमैया मुक्त घोषणा गर्‍यो । तर, उनको बस्ने थातथलो भएन । ‘यसले कमैया मुक्त भएपछि पनि ७ महिना पति र २ छोराछोरीसहित साहुकै घरमा बस्न बाध्य भएँ,’ उनले भनिन्, ‘पछि सरकारले जग्गा दियो । उक्त जग्गामा बासका लागि सानो झुप्रो बनाएर मात्रै सर्‍यौं ।’ उनले आन्दोलनका क्रममा तिरस्कार र मुद्दा–मामिला बेहोर्नुपर्‍यो । तर, आन्दोलनले उनमा नेतृत्व क्षमताको विकास हुँदै गयो । गत स्थानीय तहको चुनावमा राजापुरबाट उनी एमालेको उपप्रमुख उम्मेदवार बनिन् । तर, माओवादी केन्द्रकी मनकला चौधरीसँग पछाडि परिन् । त्यसपछि एमालेको प्रदेश समानुपातिक सदस्य छनोट भइन् । प्रदेशसभाले उनलाई आफ्नो उपसभामुख रोज्यो ।


गाउँको प्रौढ शिक्षामा २० दिन मात्रै सहभागी भएर उनले लेखपढ सिकिन् । पछि कक्षा ८ पास गरिन् । सामान्य अंग्रेजीसमेत लेखपढ गर्छिन् । विधि र फ्रक्रिया मिलाएर कार्यत्रम चलाउँछिन् । सभामुखको रूपमा एक दर्जनभन्दा बढी प्रदेशसभा बैठक चलाइन् । औपचारिक–अनौपचारिक छलफलमा महिला सांसदलाई आफ्ना कुरा राख्न र सभाबाट निर्णय तहमा लैजान सुझाव दिन्छिन् । सबै दलका सांसद मिलेर प्रदेशका साझा नीति बनाउने स्थान हो । उपसभामुखकै रूपमा निर्णायक भूमिका नभए पनि सभामुखलाई सहयोग गर्ने र अनुपस्थितिमा सभा सञ्चालन गर्नुपर्छ । बैठकपूर्व कसरी बैठकमा जाने र कसरी एजेन्डा प्रस्तुत गर्ने भन्नेबारेमा छलफल हुन्छ । बैठक सकिएपछि समीक्षा हुन्छ । यही निरन्तरको छलफलले अहिलेसम्मको भूमिका प्रभावकारी भएको छ । ‘ठूलो चुनौती र कठिनाइ पार गर्दै यो स्थानमा आएकी हुँ,’ उनले भनिन्, ‘कमलरी त हट्यो अब महिला र पछाडि परेका वर्गको शिक्षा, रोजगारी र सशक्तिकरणका लागि काम गर्ने योजना छ ।’


गृहिणीका लागि महिला विद्यालय

सावित्रा अर्याल

रूपन्देहीकी सावित्रा अर्याल महिला विद्यालय चलाउँछिन् । उनको अगुवाइमा १२ वर्षअघि साधना महिला विद्यालय स्थापना भएको हो । ५० जना महिलाले सार्वजनिक गुठीद्वारा सञ्चालन गरेको विद्यालय अहिले सामुदायिक बनेको छ । ‘अधुरो शिक्षा पूरा गरौं, पढ्नलाई उमेरले छेक्दैन’ भन्ने नारा यो स्कुलको छ । र, यो नारालाई प्रमाणित गरिदिएका छन्, यहाँका महिलाहरूले । ‘निरक्षरता र अधुरो–अपुरो शिक्षाले महिलामाथि धेरै विभेद भएको देखें,’ सावित्रा भन्छिन्, ‘आत्मनिर्भर हुने र अवसरका धेरै बाटा बन्द भएको भेटें, त्यसैले महिला विद्यालय खोल्ने सोच आयो ।’ स्वास्थ्य स्वयम्सेविका र राजनीतिक कार्यकर्ताका रूपमा सावित्राको समाजमा पहिचान थियो । उनले विद्यालय खोल्न समूह बनाइन् । पार्वती ज्ञवाली, तारा पाण्डेलगायतका महिलाले साथ दिए । यसपछि महिलाले मात्रै पढ्ने विद्यालय खोल्ने र पढ्न नपाएका र पढाइ पूरा गर्न नपाएका महिलालाई पढ्ने अवसर जुटाइदिने उनीहरूले लक्ष्य बनाए ।


‘सुरुसुरुमा त निकै दुःख भयो । जान्ने–बुझ्नेले नै मजाक उडाए,’ सावित्राले विगत सम्झिन्, ‘महिला विद्यालयको योजना सुनाउँदा
मागी खाने भाँडो बनाए भन्दै धेरैले गिज्याए पनि ।’ सावित्रा टोलटोलमा एक्लै पनि धाइन् । केही अगुवाहरूलाई महिलाका लागि विद्यालय खोल्नुपर्छ भन्नेमा सहमत गराइन् । विद्यालय खोलेमा घरपरिवार र छरछिमेकमा नपढेका र पढाइ पूरा नगरेका महिला पढाउने वाचा गराइन् । त्यसपछि साथी समूह मिलेर विद्यालय सञ्चालनको स्वीकृति जुटाउन शिक्षा विभाग र मन्त्रालयमा पुगिन् । त्यहाँ पनि निकै हम्मे भयो । ‘कसैले मजाकमा उडाउँथे । कसैले निकै दुःख हुन्छ भनेर हतोत्साही पार्थे,’ सावित्राले भनिन्, ‘तर मैले हार मानिनँ । साथमा पार्वती ज्ञवालीले पनि हार मान्न दिइनन् ।’ सानो उमेरमा अक्षर चिन्नै नपाएका, बिहेबारीलगायतका कारण पढाइ बीचमै छोडेका बुटवल र आसपासका महिलाहरूका लागि विद्यालय वरदान बनेको छ । घरनजिकै महिला विद्यालय खुलेपछि आमा मात्रै होइन, हजुरआमा बनेका निरक्षर पनि पढ्न गएका छन् । बीचमै पढाइ छोडेका किशोरीले पुनः पढ्न थालेका छन् । पूर्णतः असाक्षरले पनि अक्षर चिन्न र हरहिसाब गर्न जानेका छन् । अहिलेसम्म १ हजार ५ सय जनाले पढेको यो स्कुलमा अहिले १ सय ५० महिला पढ्दै छन् । ६ वर्षदेखि एसएलसी परीक्षा सञ्चालन गरेको विद्यालयमा अहिलेसम्म ४५ जना आमाहरूले एसएलसी उत्तिर्ण गरेका छन् । त्यसमध्ये २४ जनाले उच्च शिक्षा पढ्न थालेका छन् । १५ जनाले जागिरसमेत पाएका छन् । विद्यालयमा महिलाहरूको आकर्षण बढेपछि विद्यालयले दुईतले नयाँ भवन बनाएको छ । भवन बनाउन बुटवल उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको हो भने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले सहयोग गरे ।

व्यवस्थापनको सीपले बाख्रापालन

ज्ञानकुमारी पुन

उच्च शिक्षा पढेका धेरैको चाहना हुन्छ जागिर खाने । विदेशमा व्यवस्थापन पढेका धेरै त स्वदेश नै फर्किन्नन् । फर्के पनि सहरमै जागिर वा व्यवसाय थाल्छन् । यी सबैको विपरीत बाग्लुङकी ज्ञानकुमारीले व्यावसायिक बाख्रापालन थालिन् । त्यो पनि रूपन्देहीमा जग्गा भाडामा लिएर । २०३३ मा बुर्तिबाङमा जन्मेकी ज्ञानकुमारी सानैदेखि फरक स्वभावकी थिइन् । पढाइमा तेज उनले पद्मकन्या कलेजबाट स्नातकोत्तर गरिन् । बेस्ट लन्डन युनिभर्सिटी यूकेबाट पोस्टग्रायजुयट गरिन् । पढाइ पूरा गरेपछि लन्डनमै जागिरका प्रस्ताव आए । तर, उनी स्वदेश फर्किन् । यहाँ बैंक तथा वित्तीय संस्था र प्रतिष्ठानको नजरमा परिन् । मासिक डेढ लाखसम्मको जागिरको प्रस्ताव आयो । त्यसमा उनको मन मानेन । व्यावसायिक कृषिको योजना बनाइन् । नेपालको घाँस उपलब्धता र सम्भावना अध्ययन गरिन् । त्यसले पशुपालन र व्यावसायिक घाँस खेतीमा आकर्षित गर्‍यो । त्यसलाई व्यावसायिक रूपले लैजाने निधो गरिन् । ‘धेरै महिला कृषि काममा छन् । तर, व्यावसायिक रूपमा कृषिमा लागेका छैनन्,’ उनले भनिन्, ‘केही पढे जानेकी मैले सुरु गरे अरू महिलाहरू पनि कृषिमा व्यावसायिक बन्न र आम्दानी बढाउन सक्छन् भन्ने लागेर यता लागें ।’


योजनाअनुसार ७ वर्षअघि रूपन्देहीको सैनामैनामा आइपुगिन् । यसपछि सुरु भयो व्यावसायिक बाख्रापालन र घाँंस खेती । सैनामैना कृषि उद्योग खोलिन् । उनको काममा पति प्रेमसागर पौडेलको पूर्ण साथ समर्थन छ । यो कृषि उद्योगमा बाख्राको नश्ल सुधार गरिन्छ । फार्ममा करिब ५ सय बाख्रा छन् । बाख्रालाई घांँसका लागि करिब १० हेक्टर भाडाको जग्गामा घाँस खेती गरिएको छ । डाले घाँसको नर्सरी छ । उनले उत्पादन गरेका घाँसका बीउ अहिले ७३ जिल्लामा पुग्छन् । वार्षिक करिब ४ सय पाठापाठी बेच्ने गरिएको छ । पछिल्लो समय गाईपालनसमेत सुरु गरेका छन् । यसबाट निकै राम्रो आम्दानी भएको छ । आम्दानी बढेपछि कृषि उद्योग अझ बढाउने सोच उनको छ । पशुविज्ञ केन्द्रले उनको फार्मलाई नमुना कन्ट्याक फार्मिङका रूपमा लिएको छ । कृषि ज्ञान केन्द्रले नमुना किसानका रूपमा छनोट गरेको छ । ‘कृषिमा शारीरिक परिश्रम बढी छ,’ ज्ञानकुमारी भन्छिन्, ‘तर, परिश्रम गर्न सके मुनाफा पनि छ ।’


नेपालको सन्दर्भमा व्यावसायिक कृषिमा धेरै महिलाको भविष्य बन्ने ज्ञानकुमारी दाबी गर्छिन् । महिला सशक्तिकरणका लागि व्यावसायिक कृषिमा भविष्य खोज्ने महिला तयार गर्नुपर्ने उनको राय छ । नेपालमा प्रशस्त खेतीयोग्य तथा पशुका लागि पशुजन्य क्षेत्र भएकाले थोरै प्राविधिक सीपले पनि काम गर्न सक्ने उनको भनाइ छ । उनलाई कृषि अन्य पेसाभन्दा भरपर्दो पनि लाग्छ । ‘पढेकाले कृषि गरे माक्रै कृषिमा त्रान्ति गर्न सकिन्छ । महिला अग्रसर भए उनीहरूको आर्थिक सशक्तिकरण हुन्छ,’ उनले भनिन्, ‘यही प्रमाणित गर्न म व्यावसायिक कृषिमा लागेकी हुँ ।’ एक दर्जर्न महिलाले उनको सिकोमा कृषि व्यवसायसमेत थालेका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
हजार साङ्लाहरू

हजार साङ्लाहरू

फाल्गुन २४, २०७५
चिकित्सामा नेतृत्व

चिकित्सामा नेतृत्व

फाल्गुन २४, २०७५
प्रेरणाका तीन रूप

प्रेरणाका तीन रूप

फाल्गुन २४, २०७५
डरको अघि बन्जी !

डरको अघि बन्जी !

फाल्गुन २४, २०७५
नीति निर्माणमा

नीति निर्माणमा

फाल्गुन २४, २०७५
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?