१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छोएन दसैंको रौनकले

बुटवल/हेटौंडा/भरतपुर — गत वर्षसम्म नौरथा सुरु हुनासाथ यहाँको देवीनगरस्थित अपांग आश्रममा दिनहुँ दानवीर पुग्थे। कसैले मीठो खुवाउँथे। कसैले नानाचाचा दिन्थे। आफ्ना बाआमा र घरविहीन यी अपांग बालबालिका सधैं रमाउँथे। यसपालि दसैं सुरु भइसक्दा आश्रममा कुनै रौनक छैन। न दाता आए न उनीहरूले नयाँ लुगा पाए।

छोएन दसैंको रौनकले

बुटवल

‘यसपालि दसैं आएजस्तै लागेको छैन,’ यहाँ आश्रित सुमित्रा कार्कीले भनिन्, ‘सहयोग गर्ने कोही आएको छैन।’ लामो मधेस बन्द र भारतीय नाकामा भएको अवरोधले स्थानीय बासिन्दामा दसैंको उमंग छैन। उद्योगधन्दा बन्द हुँदा व्यापारिक सहर बुटवलमा अभाव छाएको छ। यसले गर्दा उनीहरूले अनाथलाई सम्झेका छैनन्। दाताहरू सहयोगका लागि नआएपछि अपांगता भएका बालबालिका निराश छन्। ‘दसैं आउँदा बाआमाले पकाएको खान नपाए पनि दिनहुँ दाताले मीठो खुवाउँथे, रमाइलो हुन्थ्यो,’ अर्का बालक मानबहादुर चिदीमगरले भने, ‘यसपालि खल्लो भयो।’

यहाँ शारीरिक र बौद्धिक दुवै फरक क्षमता भएका बालबालिका आश्रित छन्। उनीहरूलाई शिक्षा र सीप सिकाउने गरिएको छ। यस्तै फरक क्षमता भएका व्यक्तिको पहलमा खुलेको आश्रममा अभिभावकविहीन बालबालिकाले मायालु वातावरण पाएका छन्। दुई छाक खान पाएका छन्। ठूला दाता र संस्था सहयोगी नभएकाले आश्रम सञ्चालकलाई उनीहरूको पेट भर्न मुस्किल छ। आश्रमका अध्यक्ष डोलबहादुर रामदाम मुलुकमा संकट परेकाले आश्रम त्यसको प्रत्यक्ष मारमा परेको बताए। ‘बजारमा चहलपहल भए यहाँ सहयोगी आउँछन्,’ उनले भने, ‘सबैतिर निराशा भएपछि आश्रममा कोही आएनन्।’ चार व्यक्तिको अगुवाइमा ५ वर्षअघिदेखि यस्ता बालबालिकाको संरक्षण थालिएको हो। 

चेपाङकालाई पत्तो छैन 
हेटौंडा– छिमेकी गाउँका साथीहरूको दसैंमा लगाउन नयाँ लुगा आइसकेको छ। दसैंमा मासुभात खान अभिभावकले चौपायाको व्यवस्था गरिसकेका छन्। छिमेकी गाउँमा दसैंमा राँगो काट्ने बन्दोबस्त भइसकेको छ। मकवानपुरको दुर्गम क्षेत्रमा पर्ने नामटार ९ स्थित गोपीराङका बालबालिकालाई भने दसैंको अत्तोपत्तो छैन। ‘चाडमा समेत उनीहरू च्यातिएको लुगा लगाएर हिँड्न बाध्य छन्,’ छिमेकी गाउँकी महिला विमला सिन्तानले भनिन्, ‘दसैंमा खान उनीहरूको अभिभावकहरू कन्दमूल खोज्न जंगल गएका छन्।’ अधिकांश बालबालिकाको खुट्टाले अहिलेसम्म जुत्ताचप्पल देख्न पाएको छैन। ‘दसैंमा मासुभात खान र नयाँ लुगा लगाउने रहरै मात्र भयो,’ ११ वर्षीय देवलाल चेपाङले भने, ‘हाम्रा वा–आमा गरिब छन। किनिदिन सक्दैनन। 

त्रिभुवन राजपथको चुनिया बजारबाट चार घण्टा पैदल हिँडेपछि पुगिने उक्त चेपाङ बस्तीका अधिकांश बालबालिकालाई दसैं आएको थाहा छैन। ‘हामी चेपाङलाई केको दसैं? सधैं कन्दमूल खोजेर खानुपर्छ,’ ५१ वर्षीया लालबहादुर चेपाङले भने, ‘दसैं तिहार आउँछ जान्छ।’ नामटार गाविसको गोपीराङका अधिकांश बालबालिकाहरू गरिबीका कारणले स्कुल पनि जाँदैनन्। गोपीराङमा पढ्ने उमेरका ५३ जना बालबालिका छन्। 

महँगीले मार 
भरतपुर– मधेसी मोर्चाले गरेको अनिश्चितकालीन नाकाबन्दीका कारण इन्धन, मेसिनरी सामान, खाद्यवस्तुको अभाव भएपछि बजारमा महँगी बढेको छ। नाकाबन्दीका कारण सबै मालसामानको आपूर्ति असहज भएपछि यहाँको बजारमा महँगीले सीमा नाघेको हो। बजारमा खाद्यवस्तुको स्टक कम भएपछि बिक्रेताले चर्को मूल्य लिन थालेका छन्। बजारमा कपडाको मूल्यसमेत महँगिएको उपभोक्ताले बताएका छन्। अहिले नारायणगढ बजारमा दसैंका लागि किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ। बजार क्षेत्रमा रहेका प्राय: सबै पसल उपभोक्ताले भरिभराउ छन्। मागअनुसार खाद्यवस्तु तथा जिन्सी सामानको आपूर्ति हुन सकेको छैन। 

गैंडाकोटबाट नारायणगढमा किनमेल गर्न आएकी शर्मिला गुरुङले पहिलाको तुलनामा महँगी बढेको बताइन्। ‘महँगो भए पनि नयाँ कपडा किन्नै पर्‍यो,’ उनले भनिन्, ‘नयाँ लुगा चाडमा लाउने चलन छ।’ चाडबाडको मुखमा नाकामा बन्द भएका कारण महँगी बढेको हुन सक्ने उनले बताइन्। यस वर्षको बजारमा कुनै सामान सस्तो नभएको उनले बताइन्। ‘महँगीले रित्तो बनाउने भयो,’ उनले भनिन्। पहिलाको तुलनामा बजारमा किनमेल गर्ने उपभोक्ताको संख्यामा कमी आएको पसलेले बताएका छन्। ‘अर्डरअनुसारको सामान भित्रिन सकेको छैन,’ नाम नछाप्ने सर्तमा एक पसलेले भने, ‘भएको स्टकबाटै बजार धान्दै छौं।’ अपेक्षा गरिएअनुसार उपभोक्ता पनि आउन सकेका छैनन्। उनका अनुसार घरभाडा तिर्न, स्टाफ खर्च धान्नसमेत समस्या परेको छ। पुरानो रेटमा खरिद गरिएको सामानमा थोरै रेट 
थपेर भए पनि थपेर खर्च निकाल्न प्रयास गरिरहेका छौं।

दसैं आएको अनुभव नगरेका मकवानपुरको नामटार ९ गोपीराङका चेपाङ बालबालिका। तस्बिर : प्रताप/कान्तिपुर 

प्रकाशित : कार्तिक १, २०७२ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?